मिलेनियम च्यालेन्ज कर्पोेसन (एमसीसी) विरुद्ध काठमाडौंमा नेकपा (मसाल) र नेकपा (क्रान्तिकारी माओवादी) सहितका १० राजनीतिक दल तथा संगठनले विरोध प्रदर्शन गरेका छन्।
मंगलबार माइतीघर मण्डलामा भएको विरोध सभालाई सम्बोधन गर्दै नेकपा (मसाल) का प्रवक्ता राममप्रकाश पुरीले ‘एमसीसीको नाममा अमेरिकी साम्राज्यवादको रणनीतिक स्वार्थ बढ्ने भएपछि त्यसको विरोध गरिएको’ बताए।
उनले हिन्दप्रसान्त रणनीति (आइपीएस) अमेरिकीको सामरिक योजना भएकाले त्यसअन्तर्गतको एमसीसी विशुद्ध आर्थिक परियोजना नभएको टिप्पणी गरे।
नेपालको इतिहासमा देशमा राष्ट्रघाती सन्धिसम्झौता हुँदा प्रतिपक्षी दलको खबरदारी हुने गरेको भएपनि अहिले प्रतिपक्षी दल नै एमसीसी पास गर्न लागिपरेको बताए।
‘हाम्रा लागि दुःखको कुरा हो, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस नै जसरी भए पनि एमसीसी पारित गर्ने प्रयासमा छ’ उनले भने।
कार्यक्रमको आयोजना नेकपा (मसाल), नेकपा (क्रान्तिकारी–माओवादी), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी–केन्द्र), जनसमाजवादी पार्टी, राष्ट्रिय जनगागरण परिषद् र नेकपा (संयुक्त) ले गरेका थिए।
प्रतिक्रिया