संसदीय सुनुवाई समितिले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनुवाई प्रक्रिया सुरु गरेको छ।
बिहीबार बसेको समितिको बैठकले नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूको सम्बन्धमा सुनुवाई प्रक्रिया अगाडि बढाएको हो। संवैधानिक परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की, आयुक्तमा डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेको नाम सिफारिस गरेको छ।
प्रस्तावित तीनै जनाविरुद्ध समितिले १० दिन समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको छ। समिति सभापति वोधनारायण श्रेष्ठले साउन ४ गतेसम्म उजुरी दिनको लागि समय तोकिएको बताए।
त्यसपछि साउन ५ गते उजुरी खोलिने भएको छ। साउन ५ र ६ गते उजुरीको अध्ययन गरेर साउत ७ गते पहिलो सुनुवाई गर्ने तयारी छ। उजुरी धेरै परेको अवस्थामा अध्ययन गर्ने समय थप हुन सक्ने उनले बताए।
‘साउन ४ गते उजुरी आह्वानको १० दिन पुग्छ, ५ गते उजुरी खोलेर ५ र ६ गते दुई दिन हामी उजुरी अध्ययन गर्छौं। साउन ७ गते पहिलो सुनुवाई थाल्नेछौँ’ श्रेष्ठले भने, ‘अब उजुरीहरू धेरै आयो भने त्यही अनुसार अध्ययनको समय थप्छोँ, त्यो अर्को बैठकमा निर्णय गर्छौं।’
समितिले उजुरी आह्वानको लागि सरकारी सञ्चारमाध्यम र संघीय संसदको वेबसाइटमा सूचना प्रकाशन गर्न समिति सचिवलाई निर्देशन दिएको छ।
उनले संसदीय सुनुवाई प्रक्रियालाई व्यवस्थित बनाउन स्ट्यान्डर्स टुल्स बनाउने जानकारी दिए। उजुरीको छलफलको क्रममा उजुरीकर्ताले कानुन व्यवसायी लैजना नपाउने भएका छन्। उजुरीकर्ता आफैले उजुरीबारे ‘ब्रिफिङ’ गर्नुपर्ने भएको छ।
असक्त वा अपाङ्गता भएका व्यक्तिले भने एक जना सहयोगी लैजान पाउने समितिका सभापति श्रेष्ठले जानकारी दिए। प्राप्त उजुरीउपर छलफल गरेर सुनुवाइ समितिले प्रस्तावित नाम अनुमोदन गरेपछि नियुक्त हुने संवैधानिक व्यवस्था छ।
असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुको नाम सिफारिस गरेको थियो।
Shares

प्रतिक्रिया