राजनीति


दक्षिण कोरियाद्वारा दुश्मनी नबढाउन र वार्तामा फर्कन उत्तर कोरियालाई आग्रह

दक्षिण कोरियाद्वारा दुश्मनी नबढाउन र वार्तामा फर्कन उत्तर कोरियालाई आग्रह

नेपालखबर
असार १, २०७७ सोमबार ९:१९,

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले उत्तरलाई दुश्मनी नबढाउन र वार्तामा फर्कन आग्रह गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ।

सन् २०१८ मा उत्तर कोरिया र दक्षिण कोरियाबीच शान्ति वार्ता भएको थियो। उक्त वार्तापछि दुवै देशबीचको तनाव अन्त्य हुने अपेक्षा गरिएको थियो।

सन् २०१८ र २०१९ मा राम्रो सम्बन्ध रहेको उत्तर र दक्षिणबीच यतिबेला फेरि सम्बन्धमा चिसोपन छाएको छ।

उत्तरले हालै दक्षिणसँगको सबै सम्पर्क बन्द गर्ने घोषणा गरेको छ। हालै उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी बहिनी किम यो जोङले दक्षिण कोरियाको सिमानामा उत्तर कोरियाली विरोधी गतिविधि भए उत्तरले सैन्य कारवाही गर्ने चेतावनी दिएकी थिइन्।

हालै सीमा क्षेत्रमा दक्षिण कोरियाको भूमिबाट थुप्रै बेलुन र पर्चाहरु उडाइएका छन् जहाँ उत्तर कोरियाली सरकरको आलोचना गरिएको छ। यस कार्यले उत्तर कोरिया रुष्ट बनेको छ।

उत्तरको चेतावनीबीच दक्षिणका राष्ट्रपति मुन जाय इनले उत्तर कोरियाले दक्षिणसँगको सम्पर्क टुटाउन नहुने र दुई देशबीचको शान्ति भंग हुन नुहने बताएका हुन्।

वार्ताले सबै समस्या हल हुने भएकाले मुनले उत्तरलाई वार्तामा फर्कन आग्रह गरेका हुन्।

सन् २०१८ यता किम र मुनबीच तीनपटक भेट भइसकेको छ। मुन जाय इन सन् २०१७ मा दक्षिण कोरियाको राष्ट्रपति बनेका थिए। त्यसयता उनले उत्तर कोरियासँग सुमधुर सम्बन्ध बनाउने प्रयत्न गरिरहेका छन्।

मुन जाय इनकै मध्यस्थतामा ६८ वर्षमा पहिलोपटक अमेरिका र उत्तरका शीर्ष नेताबीच सन् २०१८ मा शिखर वार्ता भएको थियो।

त्यसबेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किमबीच सिंगापुरमा भेटवार्ता भएको थियो। वार्तापछि उत्तर कोरिया क्षेप्यास्त्र निशस्त्रीकरण गर्न तयार भएको थियो।

तर अमेरिकाले उत्तरमाथि लगाएका अन्तर्राष्ट्रिय प्रतिबन्धहरु नहटाएपछि फेरि गतवर्ष भियतनाममा दोस्रो शिखर वार्ता भयो। अमेरिकाले प्रतिबन्ध फुकुवा गर्न नमानेपछि उत्तरले यतिबेला क्षेप्यास्त्र कार्यक्रमलाई निरन्तरता दिइरहेको छ।

दक्षिणले अमेरिकालाई सम्झौता कार्यान्वयन गराउन भूमिका खेल्न नसकेको उत्तरको आरोप छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad