जनता समाजवादी पार्टी (जसपा) ले नेपालको नयाँ नक्साको विपक्षमा उभिएकी आफ्नी नेतृ एवं सांसद सरिता गिरीलाई कारबाही गर्ने तयारी गरेको छ।
नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावविरुद्ध संसदमा दर्ता गराएकाे प्रस्ताव सांसद गिरीले पार्टीको निर्देशनसमेत अटेर गरी फिर्ता नलिएपछि पार्टीले उनलाई कारबाही गर्ने तयारी गरेको हो।
अहिले पार्टीका दुवै अध्यक्ष काठमाडौं बाहिर भएकाले आउनासाथ नेतृ सरिता गिरिलाइ कारबाही गरिने समाजवादी पार्टीकी उपाध्यक्ष रेणु यादवले जानकारी दिइन्।
‘उहाँले पार्टी ह्विप मान्नु भएन,’ सोमबार बिहान नेपालखबरसँग उपाध्यक्ष यादवले भनिन्, ‘पार्टीको निर्णय नमानेपपछि कारबाही त हुन्छ तर कस्तो कारबाही गर्ने भन्नेचाहिँ अध्यक्षहरू आएपछि संसदीय दलको बैठक बसेर टुंगो लगाउँछौं।’
नेतृ गिरीलाई जसपाले पार्टीबाटै हटाउने चर्चा पनि चलिरहेको छ।
संविधानको धारा ८९ (ङ) अनुसार जुन दलको उम्मेदवार भई प्रतिनिधिसभा सदस्य बनेको हो, त्यो दलले पार्टीबाट हटाउने निर्णय गरेमा सांसद पद स्वत: निलम्बन हुने प्रावधान छ। नेतृ गिरी खस-आर्यको कोटाबाट समानुपातिक सांसद हुन्।

प्रतिक्रिया