दुई देशका लेफ्टिनेन्ट जनरल स्तरका सैनिकबीच लद्दाखको सिमाना नजिक वार्ता सम्पन्न भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।
भारतीय सेनाको १४ औं बाहिनीका कमान्डर लेफ्टिनेन्ट जनरल हरिन्दर सिंहले भारतको नेतृत्व गरेका थिए भने चीनको तर्फबाट तिब्बत मिलिटेरी डिस्ट्रिक्टका कमाण्डरले वार्ताको नेतृत्व गरेका थिए।
एक महिनायता दुई देशबीच लद्दाखस्थित वास्तविक नियन्त्रण रेखा ‘ लाइन अफ एक्चुअल कन्ट्रोल’ मा विवाद भइरहेको छ। त्यसपछि दुवै देशले सीमा क्षेत्रमा सैनिक बल बढाएका छन्।
भारतले सेनाहरु बढाएको खबर छ भने चीनले अत्याधुनिक हतियार सीमा नजिक तैनाथ गरेको चिनियाँ संचारमाध्यमको दाबी छ।
वास्तविक नियन्त्रण रेखामा चिनियाँ सेनाले अतिक्रमण गरिरहेको भारतीय सेनाको आरोप छ। त्यस्तै चिनियाँ पक्षले पनि भारतीय सेनाले विवादित क्षेत्रमा गतिविधि बढाएको आरोप लगाएको छ।
शनिबारको वार्तामा के विषयमा कुराकानी भयो त्यसको बारेमा जानकारी दिइएको छैन।
भारतीय सेनाका प्रवक्ताले शनिबारको वार्तापछि भनेका छन्,‘भारतीय र चिनियाँ अधिकारीहरु स्थापित सैन्य र कुटनीतिक माध्यमहरुबाट सीमा क्षेत्रको वर्तमान अवस्थालाई सम्बोधन गर्न निरन्तर सम्पर्कमा रहनेछन्।’
सिक्किम, उत्तराखण्ड र लद्दाखमा भारत र चीनबीच विवाद छ। विवाद चर्किँदै जाँदा युद्धको खतरासमेत भएको थियो।
यसअघि भारत र चीनबीच सीमा विवाद समाधानका लागि १२ पटक सेनाका कमाण्डर स्तरको वार्ता भइसकेको छ। तर विवाद समाधान हुन सकेको छैन। हिन्दुस्तान टाइम्स

प्रतिक्रिया