नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको तयारी थालिएको छ। महाधिवेशनमा केन्द्रीय निर्वाचन समितिले प्रविधिको उच्चतम प्रयोग गर्ने जनाएको छ।
आज (आइतबार) पार्टी मुख्यालय सानेपामा बसेको बैठकले निर्वाचन प्रक्रियालाई डिजिटलाइजेसन वा ईभीएम प्रविधिलाई प्राथमिकताका साथ अगाडि बढाउने निर्णय गरेको हो।
त्यस्तै निर्वाचन कार्यमा काठमाडौँ उपत्यकाभित्र रहेका काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका निर्वाचन अधिकृत, उक्त जिल्लाहरूअन्तर्गत रहेका १५ वटै निर्वाचन क्षेत्र तथा महानगरपालिका एवं नगरपालिकाहरूमा महिला कानुन व्यवसायीहरूलाई निर्वाचन अधिकृतको रूपमा प्राथमिकताका साथ खटाइने निर्वाचन समितिले निर्णय गरेको छ।
यस्तै निर्वाचन कार्यमा स्वयंसेवकको रूपमा सहयोग गर्न कानुन व्यवसायी तथा अन्य पेसागत समूहलाई आह्वान गरी रोष्टर तयार गर्ने र रोस्टरमा रहेका व्यक्तिहरूलाई अभिमुखीकरण कार्यक्रममा संलग्न गराई निर्वाचन अधिकृतको रूपमा खटाउने निर्णय गरिएको छ।
साथै निर्वाचन प्रक्रिया सुरु भइसकेपछि निर्वाचनसम्बन्धी आचारसंहिता लागू हुने भएकाले निर्वाचन अवधीमा विधानमा अन्यथा उल्लेख भएकोमा बाहेक निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्न केन्द्रीय कार्यसमितिलगायत सबै तह र निकायहरूलाई समितिले आग्रह पनि गरेको छ।
Shares

प्रतिक्रिया