राजनीति


नेकपा सचिवालय बैठक सकियो, एमसीएको काम रोक्ने समझदारी

नेकपा सचिवालय बैठक सकियो, एमसीएको काम रोक्ने समझदारी

नेपालखबर
जेठ १७, २०७७ शनिबार ७:२७,

एमसीसीबारे छलफल गर्न बसेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा सचिवालय बैठक सकिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले एमसीसी सम्झौता र बजेटमा समावेश गरिएका एमसीसीका कार्यक्रमहरुको बारेमा छलफल भएको थियो।

बैठकमा एमसीसी सम्झौता र बजेटको अनुसूचीमा राखिएको एमसीसीको योजनाभित्रको कार्यक्रमको स्पष्टताका निम्ति छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

एमसीसी सम्झौता बारेको प्रस्ताव अहिले संसदमा विचराधीन अवस्थामा रहेको हुँदा प्रधानमन्त्रीले संसदमा जानकारी गराएअनुसार सम्झौता पास भए त्यसै अनुरुप हुने र पास नभए सरकारले आवश्यक वैकल्पिक व्यवस्थाबारे सोचेर अगाडि बढ्ने प्रवक्ता श्रेष्ठले बताए।

उनले एमसीसीका बारेमा पार्टीले गठन गरेको कार्यदलले दिएको प्रतिवेदनका आधारमा छिट्टै सचिवालयको बैठकमा आवश्यक निष्कर्षमा पुग्ने समझदारी बनेको बताए।

‘पार्टीले गठन गरेको कार्यदलले प्रतिवेदन यसअघि नै बुझाइसकेको छ, त्यो प्रतिवेदनलाई समेत अध्ययन गरेर छिट्टै सचिवालयको बैठकमा त्यसबारेमा गम्भीर छलफल गरी आवश्यक निष्कर्षमा पुग्ने समझदारी बनेको छ’, पत्रकारसँग प्रवक्ता श्रेष्ठले भने। अध्यक्षद्वयले आपसमा छलफल गरेर बैठकको मिति तय गर्ने उनले जानकारी दिए।

उनले एमसीसी अनुमोदन नभएको अवस्थामा एमसीए अन्तर्गतका कामहरु तत्कालका लागि रोक्ने सहमति भएको बताए।

‘एमसीसी अनुमोदन नभएको अवस्थामा एमसीएअन्तर्गतका कामहरु जति अनुमोदन भएपछि गर्न सकिने काम छन्, त्यो काम अनुमोदन भएपछि मात्र गर्ने र त्यसबाहेकका अरु काम अनुमोदन नहुँदासम्म नगर्नुपर्ने कामहरु रोकिने समझदारी भएको छ’, प्रवक्ता श्रेष्ठले भने। उनले यसबारेमा प्रधानमन्त्रीले बुझेर निर्देशन दिने जानकारी दिए।

संसदले एमसीसीको छिनोफानो नगर्दासम्म बजेड अनुमोदन हुन्छ कि हुँदैन भन्ने पत्रकारको प्रश्नमा प्रवक्ता श्रेष्ठले बजेटको आफ्नो प्रक्रिया अनुसार अनुमोदन हुने बताए।

उनले बजेटमा उल्लेखित रहेको एमसीसीसँग सम्बन्धित कुरा सो सम्झौता पास भएमा त्यसै अनुरुप हुने र नभए त्यही अनुरुप हुने अर्थमन्त्रीले संसदलाई जानकारी दिने बताए।

याे पनि: 
एमसीसीबारे निर्णय गर्न परराष्ट्र मन्त्री, अर्थ मन्त्री र भीम रावलसहित बस्यो नेकपाको सचिवालय बैठक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad