नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आयोजना गर्ने कार्यक्रममा नेता डा. शेखर कोइराला पनि सहभागी हुने भएका छन्।
कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले बीपी स्मृति दिवसको अवसरमा साउन ६ गते स्मृति सभा आयोजना गर्दै छ। बुधबार दिउँसो १ बजे कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा ‘संवाद, सहमति र एकता ः आजको आवश्यकत’ विषयक स्मृति सभा हुन लागेको छ।
त्यस कार्यक्रममा डा. कोइराला पनि सहभागी हुने उनको सचिवालयले जनाएको छ। यसअघि डा. कोइराला इतर पक्षले आयोजना गरेका कार्यक्रममा सहभागी हुने गरेका थिएनन्।
काठमाडौँको चुनदेवीमा छुट्टै सम्पर्क कार्यालय स्थापना गरेको देउवा पक्ष राष्ट्रिय भेला बोलाउने तयारीमा छ। त्यसअघि बीपी स्मृति दिवसका अवसरमा छुट्टै कार्यक्रम आयोजना गरेको छ।
यस्तै, डा. कोइराला बुधबार बिहान काठमाडौँको बसुन्धरास्थित बीपी स्मृति सामुदायिक सहकारी अस्पतालमा स्मृति सभा र निःशुल्क स्वास्थ्य शिविरमा पनि सहभागी हुने भएका छन्। डा. कोइरालाले स्वास्थ्य शिविरको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
Shares

प्रतिक्रिया