प्रधानमन्त्री वालेन्द्र शाह र अर्थमन्त्री स्वर्णिम वाग्लेबिच बजेट तथा आर्थिक कार्यशैलीलाई लिएर उत्पन्न गतिरोधका कारण राष्ट्रिय स्वतन्त्र पार्टीभित्र गम्भीर अवस्था उत्पन्न भएको नेताहरूले बताएका छन्। जसकारण पार्टी सभापति रवि लामिछानेले सक्रियता बढाएका छन्।
यस टकरावको मुख्य कारण अर्थमन्त्रीले ल्याएको बजेटमा लिइएका कतिपय नीतिहरू हुन्। वाग्लेले बजेटमा लिएका कतिपय कर नीतिले आफ्ना लागि समस्या उत्पन्न गराएको प्रधानमन्त्री बालेनले आफू निकटसँग बताएका छन्।
नेताहरूका अनुसार शिक्षा, स्वास्थ्य र बिजुली जस्ता आधारभूत एवं संवेदनशील क्षेत्रमा लगाइएको करप्रति प्रधानमन्त्रीले पटकपटक आपत्ति जनाएका थिए। प्रधानमन्त्रीलाई भेटेका सत्तापक्षका एक सांसदका अनुसार पार्टी सभापतिलाई समेत यसबारे जानकारी दिइएको छ।
‘शिक्षा, स्वास्थ्य र बिजुलीमा लगाइएको करले हामीलाई जनतामाझ जान निकै गाह्रो पारेको छ। बजेटकै कारण हामीले सोचेजस्तो काम गर्न सकेनौँ। जस्तो बजेट आउनुपर्ने थियो, अर्थमन्त्रीले त्यस्तो बजेट ल्याउनै सक्नुभएन भन्ने पीएमको भनाइ थियो,’ ती सांसदले नेपालखबरसँग भने, ‘यो कुरा उहाँले अर्थमन्त्रीलाई पनि भन्नुभयो होला, केही सच्चिने संकेत नपाएपछि पार्टी सभापतिलाई पनि भन्नुभएको रहेछ।’
कर नीतिप्रति रास्वपाकै सांसद पनि खुसी छैनन्।
शिक्षामन्त्री सस्मित पोखरेलले पनि सांसदहरूसँग शिक्षामा कर लगाउने विषयमा आफूसँग कुनै सल्लाह नलिइएको प्रतिक्रिया दिएका छन्। बजेटलाई लिएर बालेन र स्वर्णिमबीच अविश्वास गहिरिएको उनको भनाइले पुष्टि गर्छ।
अर्थमन्त्रीसँगको असन्तुष्टि बालेनले व्यवहारबाटै प्रकट गरिरहेका छन्। उनले अर्थ मन्त्रालयको काममा हस्तक्षेप मात्र होइन, मन्त्री वाग्लेलाई ‘बाइपास’ समेत गरिरहेका छन्।
देशको सुस्त अर्थतन्त्रलाई चलायमान बनाउन, आर्थिक सुधार गर्न र लगानीको वातावरण बनाउन भन्दै उनले उद्योग वाणिज्य महासंघ, उद्योग समिति, नेपाल उद्योग परिसंघ, चेम्बर अफ कमर्स, राष्ट्र बैंकका गभर्नर र प्रतिनिधि, नेपाल निर्माण व्यवसायी महासंघ र प्रतिनिधि, होटलसंघ लगायत विभिन्न निकायसँगको उच्चस्तरीय वार्ता गरे। तर, देशको अर्थतन्त्रको मार्गचित्र तय गर्ने यी कुनै पनि संस्थागत बैठकमा अर्थमन्त्री वाग्लेलाई सहभागी गराएनन्।
बरु यी हरेकजसो बैठकमा अर्थमन्त्रीको साटो रास्वपाकै सांसद विदुषी राणालाई साथमा राखिएको थियो। जसप्रति अर्थमन्त्री वाग्ले असन्तुष्ट रहेको सभापति लामिछाने निकट एक पदाधिकारी बताउँछन्।
‘प्रधानमन्त्रीले अर्थमन्त्रीमाथि कस्तो व्यवहार गरिरहनुभएको छ, त्यो त जगजाहेर नै छ। निजी क्षेत्रसँग छलफल हुँदा अर्थमन्त्रीलाई राखिँदैन। मन्त्री बस्नैपर्ने बैठक र भेटघाटहरू पनि प्रधानमन्त्री आफैँले आफ्नै तालमा गरिरहनुभएको छ। सिधा भन्दा, अर्थमन्त्रीलाई पूरै इग्नोर गरिएको छ,’ ती पदाधिकारीले भने।
यी घटनाले रन्थनिएका अर्थमन्त्री वाग्लेले पार्टी सभापति रवि लामिछानेसँग गम्भीर छलफल गरेका छन्।
शनिबार दिउँसो धुलिखेलमा रहेको आफ्नै लगानीको रिसोर्टमा उनले लामिछानेसँग कुरा गरेका हुन्।
‘प्रधानमन्त्रीले अर्थमन्त्रीलाई छोडेर अरूलाई राख्न थालेपछि अब कसरी अगाडि बढ्ने भनेर नै यो छलफल भएको देखिन्छ,’ दुवै नेताको सम्पर्कमा रहेका रास्वपाका अर्का पदाधिकारीले भने।
अर्का नेताले त सरकार र पार्टीबीच समन्वय नै नदेखिएको बताए।
‘पार्टी आफ्नै हिसाबले हिँडिरहेको छ, प्रधानमन्त्रीलाई त्यति धेरै अपडेट हुँदैन। अनि सरकारले के निर्णय गरेको होला भन्ने जस्तो शंका उत्पन्न हुन्छ,’ उनले भने, ‘यता, सरकारले गरेका दैनिक निर्णयहरू पनि पार्टी सभापतिलाई अपडेट हुँदैन। अनि सरकारले चाहिँ के गरिरहेको होला भन्ने जस्तो हुन्छ।’
बजेटका कारण निर्वाचन क्षेत्रमा कसरी जाने भन्दै रास्वपाका सांसद र तल्लो तहका कार्यकर्ताहरूले नेतृत्वमाथि निरन्तर दबाब बढाइरहेका छन्।
कतिपय मन्त्रीहरूको कार्यसम्पादनलाई लिएर सांसदहरूले असन्तोष जनाएको प्रधानमन्त्री बालेन निकट एक नेताले बताए।
‘हाम्रै माननीय र पार्टीका साथीहरूले मन्त्रीहरूको काममा चित्त बुझाएका छैनन्,’ उनले भने, ‘मन्त्रीहरूले प्रधानमन्त्रीको सचिवालयलाई दोष देखाउने गरेका छन् भने सचिवालयले अलिअलि मन्त्रीलाई देखाउने गरेका छन्। यो भद्रगोलका कारण केही मानिसहरूले त सिधै पार्टीतिरै पनि औँला उठाउन थालिसकेका छन्।’
यही आन्तरिक दबाब र प्रधानमन्त्रीसँगको बिग्रँदो सम्बन्धका कारण रास्वपाभित्र मन्त्रिमण्डल फेरबदलको चर्चा चल्ने थालेको छ।
‘मलाई अहिले नै अर्थमन्त्रीलाई पदबाट हटाइहाल्छन् भन्ने त लाग्दैन। तर, बजेटका बारेमा पार्टीभित्र जुन खालको असन्तुष्टि छ, त्यो भने निकै गम्भीर छ,’ सभापति निकट नेताले भने।
यसलाई मिलाउन सभापति लामिछानेले कुनै न कुनै उपाय लगाउने उनको भनाइ छ।
Shares

प्रतिक्रिया