राजनीति


सभामुख अर्यालको ‘कान सुन्ने क्षमता’मा जब एमाले सांसद राईले प्रश्न गरे

आफूप्रति लक्षित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखले दिए निर्देशन
सभामुख अर्यालको ‘कान सुन्ने क्षमता’मा जब एमाले सांसद राईले प्रश्न गरे

नेपालखबर
असार २४, २०८३ बुधबार १३:२६, काठमाडौँ

बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्याल र एमाले सांसद राजेन्द्रकुमार राईबिच नोकझोक भएको छ। 

उनीहरूबिचको विवादका क्रममा सभामुख अर्यालले आफूप्रति लक्षित सांसद राईको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन निर्देशन दिएका छन्। 

प्रतिनिधि सभाको बुधबारको बैठकमा एमाले सांसद राईले आफ्ना धारणा राख्ने क्रममा ‘सभामुखले कान सुन्नुहुन्छ कि हुन्न’ भनेर प्रश्न गरेका थिए। त्यसपछि सभामुख अर्याल आवेशमा आए। उनले तुरुन्तै सांसद राईलाई बोल्नबाट रोके, माइक काट्न निर्देशन दिए। 

बोल्न रोकेपछि सभामुख अर्यालले सांसद राईलाई आफ्नो भनाई सच्याएर माफी माग्न भन्दै समय दिएका थिए। तर, राईले आफनो कुरा नै नसुनी सभामुखले गलत व्यवहार गरेको र यसबाट सभामुख अर्यालले पाँच वर्षसम्म संसद् चलाउने ढाँचा नल्याएको भन्दै थप आलोचना गरे। 

सांसद राईको अभिव्यक्तिबाट चित्त दुखाएका सभामुख अर्यालले त्यसपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित गरिदिए। 

१५ मिनेटपछि बसेको बैठकमा सभामुख अर्यालले सांसद राईलाई फेरि बोल्न समय दिए। सांसद राईले यसअघिको अभिव्यक्ति संसद्‍मा विपक्षी दलका सांसदले उठाएका गम्भीर विषयमा सभामुख र सरकारले वेवास्ता गरेको गुनासो गरे। 

पहिलो बैठकमा आफ्ना भनाई राख्ने क्रममा सांसद राईले भनेका थिए, ‘सभामुखलाई एउटा निवेदन गर्दछु, तपाईं कान सुन्नुहुन्छ कि सुन्नु हुन्न?’

राईले यति भन्नासाथ सभामखु अर्याल आवेशमा आए। उनले भने, ‘माननीय राजेन्द्र राईज्यू, आफ्नो भनाई मर्यादामा बसेर बोल्नु होला, अब यो भन्दा अघि बढ्न दिन्न। बस्नुस्। तपाईँ सभामुखको र सभाको अपमान गर्दै हुनुहुन्छ बस्नुस्।’

त्यसपछि १५ मिनेट स्थगित भएर सुरु भएको बैठकमा फेरि सभामुख अर्यालले उनै राईलाई बोल्नको लागि समय दिए। 

त्यसक्रममा राईले विपक्षी सांसद्ले उठाएका विषयमा सभामुख र सरकारले वेवास्ता गरेको भन्दै आक्रोस पोखे। 

‘मैले नियमावली पढेको छु। १ महिना १५ दिन भयो, सम्मानीय प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रियताको विरुद्धमा विचार व्यक्त गरेको। हामीले त्यसप्रति असहमति जनायौँ, प्रतिपक्षहरूले एउटै स्ववरणमा विरोध गर्दै आएका छौँ,’ उनले भने, ‘प्रधानमन्त्री बालेन्द्र शाहलाई रुलिढ गर्नुपर्‍यो। प्रधानमन्त्रीले जबाफ किन नदिने? जवाफ दिनुपर्छ। सधैँ हामीले उठिरहनुपर्ने? प्रधानमन्त्री बालेन्द्र शाहलाई रोस्टममा उभ्याएर यसअघि दिएको विचारप्रति स्पष्ट पार्न सभामुखबाट रुलिङ हुनुपर्‍यो।’

आफूहरूले संसद्‍मा उठाएका विषयप्रति सभामुख र सरकारले सुनुवाई नगरेकोमा पनि राईले आपत्ति जनाए। ‘बाँदर नियन्त्रण गर्नुपर्‍यो भनेर माग गर्यौँ। तर हाम्रो भनाई  सुनुवाई भएन,’ उनले भने। 

अघिल्लो पटक बोल्ने क्रममा आफूले भाषा मिलाउन खोज्दा खोज्दै सभामुख आवेशमा आएको तर्क उनले गरे।

‘विधि सरकारले मिचेको छ। तर मेरो कारणले संसद् बैठक स्थगित भयो, हामी सत्य र सामाजिक न्यायको पक्षमा कुरा उठाउँछौँ। तर, सभामुखले माइक काट्न निर्देशन दिनुभयो,’ राईले भने, सभामुखलाई म सम्मान र आदर गर्छु। तर प्रधानमन्त्री बालेन्द्र शाहले आफ्ना भनाईप्रति जबाफ नदिए आन्दोलन जारी रहन्छ।’

राईले यति भनेपछि सभा अघि बढाएका सभामुखले यसअघि राजेन्द्र राईले बोलेका सम्पूर्ण शब्द संसदीय अभिलेखबाट हटाउन निर्देशन दिएका हुन्। 

सभामुख अर्यालले भने, ‘यसअघिको बैठकमा माननीय राजेन्द्रकुमार राईले बोलेका सम्पूर्ण अभिलेखहरू संसदीय रिकर्डबाट हटाउन निर्देशन गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad