World Cup 2026


विश्वकपको अन्तिम ८ समीकरण पूरा, बाहिरिए ४० टोली

विश्वकपको अन्तिम ८ समीकरण पूरा, बाहिरिए ४० टोली

लक्ष्मी जि.सी
असार २४, २०८३ बुधबार १७:३, काठमाडौँ

टाइब्रेकरमा कोलम्बियालाई पराजित गर्दै स्विट्जरल्यान्डले ७२ वर्षपछि अन्तिम ८ मा स्थान बनाएपछि फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ। 

अन्तिम १६ को खेलबाट साबिक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्डले जित हात पारेसँगै विश्वकपको अन्तिम ८ समीकरण पूरा भएको हो। 

अन्तिम १६ मा अर्जेन्टिनाले इजिप्टमाथि ३–२ को पुनरागमन जित दर्ता गर्यो। अर्को खेलमा स्विट्जरल्यान्डले कोलम्बियालाई टाइब्रेकरमा ४–३ ले हरायो। 
क्वार्टरफाइनल समीकरण पूरा भएसँगै पहिलो पटक ४८ टोली सहभागी विश्वकपबाट ४० टोली बाहिरिए। 

विश्वकप तीन देशका १६ स्टेडियममा आयोजना भएको हो। तर अब क्वार्टरफाइनलका सबै खेल भने अमेरिकामा हुनेछ।

क्वार्टरफाइनलको पहिलो खेलमा अघिल्लो संस्करणको उपविजेता फ्रान्स र चौथो भएको मोरक्को खेल्नेछन्। यो खेल बोस्टनमा नेपाली समयअनुसार शुक्रबार बिहान पौने २ बजे हुनेछ।

त्यसैगरी लस एन्जलसमा हुने अर्को खेलमा स्पेन र बेल्जियम शनिबार पौने १ बजे भिड्दा मायामीमा आइतबार पौने ३ बजे नर्वेले इंग्ल्यान्डको सामना गर्नेछ।

कान्सास सिटीमा हुने क्वार्टरफाइनलको अन्तिम खेलमा आइतबार बिहान पौने ७ बजे साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड खेल्नेछन्। स्विट्जरल्यान्ड सन् १९५४ पछि अर्थात ७२ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा पुगेको हो।

विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा भएसँगै गोल्डेन बुटको दौड पनि थप रोमाञ्चक बन्दै गएको छ। 

विश्वकपको ५ खेलमा अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले ८ गोल गरेका छन्। मेस्सी सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छन्। 

मेस्सीलाई नर्वेका फरवार्ड एर्लिङ हालान्ड र फ्रान्सका कप्तान केलियन एमबाप्पेले पछ्याइरहेका छन्। हालान्ड र एमबाप्पेको नाममा समान सात गोल छ। 

तर असिस्टमा अघि रहँदै हालान्ड दोस्रो र एमबाप्पे तेस्रो स्थानमा छन््। गोल्डेन बुटको दौडमा इंग्ल्यान्डका कप्तान ह्यारी केन चौथो स्थानमा छन्। केनले ६ गोल गरेका छन्। 

सेनेगलका स्माइल सार, इंग्ल्यान्डका जुड बेलिङघम, मेक्सिकोका जुलियन क्विननिस, स्पेनका मिकेल ओयारजवाल, फ्रान्सका ओस्माने डेम्बेले र ब्राजिलका भिनिसियसले समान ४ गोल गरेका छन्। 

असिस्टमा फ्रान्सका माइकल ओलिस शीर्ष स्थानमा छन्। उनले ५ असिस्ट दिएका छन्। मोरक्कोका ब्राहिम डियाज र ब्राजिलका ब्रुनो गुइमारेसले समान ४ असिस्ट दिएका छन्। 

अहिलेसम्म १५ खेलाडीले दोहोरो पहेँलो कार्ड र १३ खेलाडीले रातो कार्ड पाएका छन्। रातो कार्ड पाएका अमेरिकाका फोलारिन बालोगनले पाएको रातो कार्ड फिफाले फिर्ता लिएपछि विवाद उत्पन्न भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad