नेपाल पुँजीबजार लगानीकर्ता संघले आगामी मौद्रिक नीतिको लागे पाँचबुँदे सुझाव नेपाल राष्ट्र बैंकलाई बुझाएको छ।
संघले सेयर धितो कर्जाको सीमा हेरफेर, बैंक वित्तलाई पुँजीबजारमा लगानी विस्तारमा प्रोत्साहन, लघुवित्तमाथिका अव्यावहारिक बन्देजको अन्त्य, पुँजीबजारलाई अर्थतन्त्रको प्राथमिक क्षेत्रको नीतिगत मान्यता दिन र गैरआवासीय नेपालीलाई पूर्ण लगानीमैत्री वातावरण र आवश्यक नीतिगत व्यवस्था गर्नुपर्ने सुझाव गभर्नरलाई बुझाएको हो।
संघले नेपालको मौद्रिक तथा वित्तीय स्थायित्व कायम राख्दै समग्र अर्थतन्त्रलाई सन्तुलित. प्रतिस्पर्धी र दिगो दिशातर्फ उन्मुख गराउने कार्यमा नेपाल राष्ट्र बैंकले निर्वाह गर्दै आएको नेतृत्वप्रति आभार पनि व्यक्त गरेको छ।
संघका अनुसार वर्तमान अवस्थामा बैंकिङ प्रणालीमा तरलता सुधार हुँदै गएको, ब्याजदर क्रमशः घट्दो प्रवृत्तिमा रहेको, निजी क्षेत्रको लगानी विस्तार गर्नुपर्ने आवश्यकता बढेको तथा आर्थिक वृद्धिलाई थप गति दिनुपर्ने चुनौती विद्यमान छ। साथै यस्तो अवस्थामा समग्र अर्थतन्त्रमा शिथिलता आई उद्योगी व्यवसायी र लगानीकर्ताको मनोबल कमजोर भएको र लगानीयोग्य पुँजी पलायनलाई रोक्न यस्तो सुझाव दिएको अध्यक्ष एसपी चौलागाईंले जानकारी दिए।
आगामी मौद्रिक नीति केवल मुद्रास्फीति नियन्त्रणमा मात्रै सीमित नभई उत्पादन, रोजगारी, निजी लगानी तथा पुँजी बजारबीच सन्तुलित समन्वय स्थापित गर्ने दिशामा केन्द्रित हुनु आवश्यक देखिएको संघले जनाएको छ। पुँजी बजार कुनै सीमित समूहको कारोबार गर्ने स्थान मात्र नभई लाखौँ नागरिकको बचतलाई राष्ट्रको दीर्घकालीन समृद्धिमा उपयोग गर्दै उद्योग, ऊर्जा, पूर्वाधार, पर्यटन, बैंकिङ, बीमा तथा उत्पादनशील क्षेत्रमा परिचालन गर्ने रणनीतिक वित्तीय पूर्वाधार भएकाले यसलाई बलियो बनाउन संघको आग्रह छ।
पुँजी बजार बलियो हुँदा उद्योगहरू बैंक ऋणमा मात्र निर्भर रहनु नपर्ने तथा विभिन्न पुँजी संकलनका औजारहरु प्रयोग गरी वित्तीय प्रणाली थप सन्तुलित बन्ने भएकाले त्यसबाट आर्थिक वृद्धिले दिगोपना प्राप्त गर्ने संघको दाबी छ।


Shares

प्रतिक्रिया