मधेस


गोली हानेर प्रहरीले समात्यो दुई भारतीय लागुऔषध कारोबारी

गोली हानेर प्रहरीले समात्यो दुई भारतीय लागुऔषध कारोबारी

नेपालखबर
असार ७, २०८३ आइतबार २१:२८, जनकपुरधाम

लागुऔषध कारोबारमा संलग्न दुईजना भारतीय नागरिकलाई गोली हानेर सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ।

लहान नगरपालिका–२१ लकडीगोट क्षेत्रमा लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले गरेको कारबाहीका क्रममा गोली प्रहारपछि तिनीहरूलाई नियन्त्रणमा लिएको हो। घटनामा एक प्रहरी जवानसमेत घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय महेशपुरपट्टी तथा लागुऔषध नियन्त्रण ब्युरो गोलबजारबाट खटिएको संयुक्त टोलीले आज साँझ करिब ५ः३० बजे संदिग्ध व्यक्तिहरूलाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रहरीमाथि ढुंगामुढा गर्नुका साथै भाग्ने प्रयास गरेका थिए।

प्रहरीको चेतावनीलाई बेवास्ता गरेपछि एक राउण्ड ९ एमएम पेस्तोलबाट हवाई फायर गरिएको थियो। त्यसपछि पनि उनीहरू नरोकिने र प्रहरीमाथि आक्रमण जारी राखेपछि थप एक राउण्ड गोली प्रहार गरिएको प्रहरीले जनाएको छ।

गोली लागेर भारत बिहार राज्य मधुवनी जिल्ला पिपराही गाउँ पञ्चायत–२ निवासी २१ वर्षीय सञ्जित कुमार पासवान घाइते भएका छन्। उनका साथमा रहेका १२ वर्षीय एक नाबालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। गोली लागेर पासवानको दाहिने खुट्टाको पिँडुलामा चोट लागेको प्रहरीले जनाएको छ।

दुवै घाइतेलाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहामा भर्ना गरिएको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिहरूबाट प्लास्टिकसहित तौल गर्दा १०१ ग्राम ६० मिलिग्राम ब्राउनसुगर र अर्को प्याकेटमा १२ ग्राम ३० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ।

मुख्य आरोपी सञ्जित कुमार पासवान लामो समयदेखि लागुऔषध कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ। हालसम्म उनले करिब १० देखि ११ किलोग्रामसम्म ब्राउनसुगर बिक्री–वितरण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र त्यसको नेपाली बजार मूल्य करिब ३ करोड रुपैयाँ बराबर रहेको अनुमान गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad