राजनीति


बिरोलोको घाँटीमा घण्टी झुण्ड्याउने केपी ओली देशका सपूतः मुख्यमन्त्री गुरुङ

बिरोलोको घाँटीमा घण्टी झुण्ड्याउने केपी ओली देशका सपूतः मुख्यमन्त्री गुरुङ

वाशुदेव मिश्र
जेठ ११, २०७७ आइतबार १४:४४,

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘देशका सपूत’को संज्ञा दिएका छन्। 

नेपालको नयाँ नक्सा जारी गर्नु केपी ओलीको ठूलो सफलता भएको जिकिर गर्दै उनले बिरालोको घाँटीम घण्टी झुण्ड्याउने काम उनैबाट भएको पनि बताए।

‘नेपालमा कतिजना प्रधानमन्त्री भए?’, गण्डकी प्रदेशको बर्खे अधिवेशनलाई आइतबार सम्बोधन गर्दै उनले भने, ‘बिरालोको घाँटीमा घण्टी झुण्ड्याउने त माननीय केपी शर्मा ओली नै हो नि! लुकाएर लुकाउन मिल्छ र? आफूले केही नगर्ने, अरुले गर्दा पनि कुरा काट्ने चाहिँं हुँदैन। नेपालको एउटा सपूत हो केपी ओली। मेरो पार्टीको अध्यक्ष भनेर मैले भनेको होइन। मैले नेपाल सरकारको प्रधानमन्त्री भनेर पनि भनेको होइन।’

भीमसेन थापादेखि जंगबहादुर राणा अनि केपी ओलीसम्मको चर्चा गर्ने क्रममा उनले केपी ओली भाग्यमानी भएको जिकिर पनि गरे।

‘मरिसक्या मान्छे बाँचेर आयो। सायद, हाम्रो नेपालको सीमा फिर्ता ल्याउनु रैछ। पाखो फिर्ता ल्याउनु रैछ’, उनले भने,‘ त्यो अवसर त उहाँलाई मिल्यो।’

उनले नक्सा सार्वजनिक भएपछि वास्तविक लडाइँ सुरु भएको र यो लामो हुने जिकिर पनि गरे। उनले आफ्नो माटोको सुरक्षाको लागि, आफ्नो सार्वभौमिक अखण्डताको लागि, आफ्नो स्वाधिनता र स्वतन्त्रताको लागि हामी कोही कम्युनिष्ट, कोही कांग्रेस, कोही राप्रपा, समाजवादी केही पनि नभएर सबै नेपाली बन्नुपर्ने बताए। उनले कोरोना भाइरसले नेपालीहरुलाई अवसर सृजना गराएको जिकिर गर्दै कोरोनाकै कारण स्वास्थ्य क्षेत्र सुधारका काम भएको बताए।

समाजवादीका सांसद हरिशरण आचार्यले नयाँ नक्सा सार्वजनिक गर्ने सरकारको कदमको प्रशंसा गरे।

राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले महामारी फैलिँदै गएकाले यसलाई व्यवस्थित गर्न नसके कठीन अवस्था आउने भन्दै उनले सरकारको ध्यानाकर्षण समेत गराए। रोजगारी गुमाएकाहरुलाई जीवनयापन गर्न पनि गाह्रो परिरहेको सरकारलाई स्मरण गराउँदै सांसद थापाले आगामी वर्षको बजेटमा त्यस्ता वर्गलाई समेट्न सरकारसँग आग्रह गरे। उनले एकल महिलाको भत्ता कटौती गर्ने विषयमा सरकारले गरेको निर्णयको समेत कडा आलोचना गरें।

‘त्यो राम्रो हुँदैन। सरकारले महसुस गर्नुपर्ने आवश्यकता छ’, उनले भने।

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले लकडाउनका कारण श्रमिकहरुको रोजगारी खोसिएर बेरोजगार बनेको बताउँदै तत्काल राहतका प्याकेज ल्याउन समेत सरकारलाई आग्रह गरें।

‘जति गर्नुपर्ने हो त्यो गर्न सकिएको छैन। सरकारले रोजगारी खोसिएका श्रमिकलाई तत्काल राहतका प्याकेजहरु ल्याओस्’, उनले भने।

कांग्रेसले सरकारलाई २२ बुँदे सुझाव पेश गरेको स्मरण गर्दै आगामी वर्षको नीति तथा कार्यक्रम समेट्नुपर्ने समेत उनले बताए। उनले क्वारेन्टिनको स्तरोन्नतिमा ध्यान दिन पनि आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad