राजनीति


रास्वपा सांसद सृष्टिको दाबी- भाइरल भिडियो पुरानो हो

रास्वपा सांसद सृष्टिको दाबी- भाइरल भिडियो पुरानो हो

नेपालखबर
असार २, २०८३ मंगलबार १६:४६, काठमाडौँ

रास्वपा सांसद सृष्टि भट्टराईले भाइरल भएको आफ्नो भिडियो पुरानो भएको बताएकी छन्। आज (मंगलबार) सामाजिक सञ्जाल फेसबुकमा प्रस्टीकरण दिँदै सो भिडियो व्यक्तिगतरूपमा यात्रा गरिरहेका बेला खिचिएको पुरानो भिडियो भएको बताएकी हुन्।

गुडिरहेको कारको झ्यालबाट शरीरको केही भाग बाहिर निकालेर रमाइलो गरिरहेको भिडियो सार्वजनिक भएपछि उनको आलोचना भइरहेको छ। ‘उक्त भिडियोमा म सवारी साधनको चालक नभई यात्रुको रूपमा यात्रा गरिरहेको अवस्थामा देखिन्छु, जहाँ केही क्षणका लागि कारको झ्यालबाट बाहिर हेर्दै तथा रमाइलो गरिरहेको दृश्य देखाइएको छ,’ उनले लेखेकी छन्, ‘सबैभन्दा पहिले, उक्त भिडियो हालको नभई धेरै अघि व्यक्तिगत रूपमा यात्रा गरिरहेका बेला खिचिएको पुरानो भिडियो हो। सो भिडियो मेरो हालको सार्वजनिक जिम्मेवारी वा सरकारी नियुक्तिपूर्वको निजी समयसँग सम्बन्धित रहेको कुरा स्पष्ट गर्न चाहन्छु।’

उनले सो भिडियो कुनै सरकारी कार्यक्रम, सार्वजनिक दायित्व वा औपचारिक भूमिकासँग सम्बन्धित नभएको पनि बताएकी छन्।

‘यो मेरो निजी जीवनको एक सामान्य र सहज क्षण मात्र थियो। भिडियोमा देखिएको गतिविधिलाई कुनै राजनीतिक, प्रशासनिक वा सार्वजनिक सन्देशसँग जोडेर व्याख्या गर्नु उचित नहुन सक्छ,’ उनले लेखेकी छन्, ‘म सार्वजनिक पदमा रहे पनि सबैभन्दा पहिले एक नागरिक हुँ, र अन्य नागरिकसरह मेरो पनि निजी जीवन तथा व्यक्तिगत स्वतन्त्रताको अधिकार छ।’

साथै उनले यस्तो गतिविधि नदोहोर्‍याउने बताएकी छन्। ‘जीवनको कुनै न कुनै चरणमा अधिकांश व्यक्तिहरूले उत्साह, उमेर वा परिस्थितिका कारण यस्ता केही व्यवहार गरेका हुन सक्छन्, जुन ट्राफिक नियम तथा सडक सुरक्षाको दृष्टिकोणले उपयुक्त नहुन सक्छन्। भिडियोमा देखिएको व्यवहारलाई पनि त्यसै सन्दर्भमा बुझिनु उचित हुनेछ,’ उनले भनेकी छन्।

सांसद भट्टराईले सडक सुरक्षा र ट्राफिक नियमहरूको पालना सबैको साझा जिम्मेवारी हो भएकाले यस्तो गल्ती नदोहोर्‍याउने भन्दै सम्पूर्ण नागरिकहरूलाई समेत ट्राफिक नियमहरूको पूर्ण पालना गर्दै सुरक्षित यात्रा गर्न आग्रह गरेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad