राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका डा धवलशमसेर राणाले राजसंस्था र हिन्दु राष्ट्रको एजेन्डालाई स्थापित गराउन आफूहरूले नयाँ राष्ट्रवादी पार्टी निर्माण गर्न लागेको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा बोल्दै उनले उक्त कुरा स्पष्ट पारेका हुन्। नेता राणाले नयाँ पार्टीको नेतृत्व राजा र हिन्दु राष्ट्रको एजेन्डालाई बोकेर निमुख जनताको नेता बनेका भन्दै दुर्गा प्रसाईंले गर्ने पनि बताए।
राजा र हिन्दु राष्ट्र बोकेको एजेन्डालाई लिएर देशव्यापी रुपमा निमुखा जनताको नेता भएका, ब्रान्ड भएकाले प्रसाईंले पार्टीको नेतृत्व गर्ने उनको भनाई थियो। नेता राणाले नयाँ बन्ने पार्टीले राजासहितको प्रजातन्त्र बोक्ने र हिन्दु राष्ट्र मुलुकमा कायम गरिछाड्ने संकल्प लिएको पनि बताए।
उनले भने, ‘राजसंस्था र हिन्दु राज्यको एजेन्डालाई रेस्क्यु गर्नुपर्छ। र यो एजेन्डालाई रेस्क्यु गर्दा सबै राष्ट्रवादी, राजावादी एक ठाउँमा ल्याउनु पर्छ भन्ने क्रममा सबभन्दा पहिला दृष्टि हाम्रो दुर्गा प्रसाईंजी माथि गयो। उहाँ एउटा राजा र हिन्दु राष्ट्र बोकेको यो एजेन्डलाई लिएर देशव्यापी रुपमा निमुखा जनताको नेता हुनु भएको छ। एउटा ब्रान्ड हुनुभएको छ। र, उहाँ र हाम्रो सल्लाह मिलेको छ। उहाँ हाम्रो ब्रान्ड हुने, पार्टीको नेता हुने र हामीले पार्टी चलाउने हो।’
नेता राणाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजासहितको प्रजातन्त्र र हिन्दुराष्ट्र कायम गर्ने एजेन्डालाई इमान्दारिताका साथ अघि नबढाएकाले आफूहरुले नयाँ पार्टी स्थापना गर्नुपर्ने अवस्था आएको जिकिर पनि गरे।
Shares

प्रतिक्रिया