सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रसहित नौ वटा स्वास्थ्य संस्थाका पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु नहुँदै स्थगित भएको छ।
शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सूचना प्रकाशित गरी स्वास्थ्य संस्थाका पदाधिकारीका लागि प्रकाशित भएको विज्ञापन स्थतिग गरिएको जनाएको छ।
मन्त्रालयले जेठ २० गते सूचना प्रकाशित गरी दरखास्त आह्वान गरेको थियो। दरखास्त आह्वान गरे पनि आवश्यक कागजातको विवरण सार्वजनिक नगर्दा आवेदन दिन चाहने उम्मेदवार अन्योलमा परेका थिए।
शुक्रबार जारी गरेको स्वास्थ्य मन्त्रालयको सूचनामा भनिएको छ, ‘विभिन्न परिषद्हरू, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र स्वास्थ्य बीमा बोर्डका पदाधिकारी र सदस्यका लागि आवेदन माग गरिएको सूचना विशेष कारणवश अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको बेहोरा सम्बन्धित सबैको जाकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’
स्वास्थ्य मन्त्रालयले जेठ २० मा विज्ञापन जारी गरी नेपाल आयुर्वेद चिकित्सा परिषद्को अध्यक्ष, सदस्य र रजिस्ट्रार, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, सदस्य र सदस्य सचिव, नेपाल नर्सिङ परिषद्को अध्यक्ष, उपाध्यक्ष, सदस्य र रजिस्ट्रार, नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्ष र रजिस्ट्रार, नेपाल फार्मेसी परिषद्को अध्यक्ष, सदस्य र रजिस्ट्राका लागि आवेदन माग गरेको थियो।
त्यस्तै, नेपाल मेडिकल काउन्सिलको अध्यक्ष, सदस्य र रजिस्ट्रार तथा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक र सदस्य तथा स्वास्थ्य बीमा बोर्डको अध्यक्ष, सदस्य र कार्यकारी निर्देशकका लागि विज्ञापन गरेको थियो।
शुक्रबार जारी गरिएको स्थगितको सूचनामा केही दिनमै आवेदनका लागि आह्वान गरिने जनाएको छ।

Shares

प्रतिक्रिया