सीमाका विषयमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिएको अभिव्यक्तिको विरोध भइरहेका बेला अभिनेता राजेश हमालले देशको नेतृत्व गर्ने व्यक्तिमा दूरदृष्टि हुनुपर्ने टिप्पणी गरेका छन्।
गत आतइतबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको जमिन मिचेको अभिव्यक्ति दिएका थिए। त्यसैलाई लिएर अभिनेता हमालले सीमा अतिक्रमणका विषयमा टिप्पणी गरेका हुन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्ना भनाइ राख्दै अभिनेता हमालले सीमा अतिक्रमण र राज्य प्रायेजित भू-अतिक्रमण फरक विषय भएको स्मरण गराएका छन्। उनले भनेका छन्, ‘नेपालको सीमा सम्बन्धी बहसहरूमा दुई शब्द सुनिन्छन्- सीमापार अतिक्रमण र राज्य-प्रायोजित भू-अतिक्रमण। यी दुईलाई एउटै अर्थमा बुझिन्छ, तर वास्तवमा यी पूर्णतः फरक प्रकृतिका विषय हुन्।’
उनले सीमा अतिक्रमण सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकसँग सम्बन्धित भएको उल्लेख गरेका छन्। यी सामान्य विषय भएको उल्लेख गर्दै सहज रुपमा समाधान हुने बताएका छन्।
‘सीमापार अतिक्रमण प्रायः सरकारभन्दा बढी स्थानीय नागरिकसँग सम्बन्धित हुन्छ। नेपाल-भारत खुला सीमाका कारण दुवै देशका नागरिकहरू शताब्दीयौंदेखि व्यापार, खेतीपाती र सामाजिक सम्बन्धमा जोडिएका छन्,’ हमालले भनेका छन्, ‘नदीहरूले धार परिवर्तन गर्छन्, सीमा स्तम्भहरू हराउँछन् वा क्षतिग्रस्त हुन्छन्, बस्तीहरू विस्तार हुन्छ यी घटनाहरू प्रायः नीतिगत होइनन्, भौगोलिक निकटता र ऐतिहासिक परिस्थितिको परिणाम हुन्। यिनीहरू रणनीतिक विस्तारका प्रयासभन्दा बढी प्रशासनिक र स्थानीय प्रकृतिका समस्या हुन्, जसको समाधान संवाद, संयुक्त सर्वेक्षण र आपसी सहकार्यबाट सम्भव हुन्छ।’
अर्कातिर, राज्य प्रायोजित भू-अतिक्रमण फरक भएको उनले औँल्याएका छन्। यसमा देश नै भूतिक्रमण गर्नतिर लाग्ने गरेको उनले उल्लेख गरेका छन्।
‘राज्य-प्रायोजित भू-अतिक्रमणको प्रकृति पूर्णतः फरक हुन्छ। यो त्यतिबेला हुन्छ जब कुनै राष्ट्र स्वयं विवादित भूभागमा आफ्नो नियन्त्रण विस्तार गर्न वा कायम राख्न प्रत्यक्ष रूपमा सक्रिय हुन्छ। यहाँ व्यक्तिहरू होइन, राज्यका संस्थाहरू संलग्न हुन्छन्,’ हमालले थपेका छन्, ‘सडक निर्माण गरिन्छ, प्रशासनिक संरचना खडा गरिन्छ, सुरक्षा निकाय परिचालन गरिन्छ, सरकारी नक्साहरू संशोधन गरिन्छ र राज्यको अधिकार औपचारिक रूपमा लागू गरिन्छ।’
यसको उदाहरणका रुपमा भारतले कालापानी क्षेत्रमा गरेको अतिक्रमणलाई प्रस्तुत गरेका छन्। हमालले भनेका छन्, ‘यसको सबैभन्दा प्रमुख उदाहरण कालापानी-लिपुलेक-लिम्पियाधुरा क्षेत्र हो।’
सीमाका विषयमा देशको नेतृत्व गर्ने व्यक्ति परिपक्व र दूरदृष्टि राख्ने हुनुपर्ने उनको भनाइ छ। त्यस्तो नहुँदा देशले नै गम्भीर चुनौती भोग्नुपर्ने अवस्था आउने उनले औँल्याएका छन्।
‘आजको ढामाडोल र अनिश्चित विश्व राजनीतिक परिवेशमा कुनै राष्ट्रको नेतृत्व गर्ने व्यक्तिमा पर्याप्त परिपक्वता, अनुभव, निर्णय क्षमता र दूरदृष्टि नहुँदा राष्ट्रले गम्भीर चुनौतीहरू सामना गर्नुपर्ने अवस्था आउन सक्छ,’ हमालले भनेका छन्।
Shares

प्रतिक्रिया