सप्तरीको छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव कुमार झामाथि कार्यकक्षमै दुर्व्यवहार भएको छ।
बिहीबार गाउँपालिकाका कर्मचारीहरूले एक विज्ञप्ति प्रकाशित गरी हिजो (बुधबार) ५७ वर्षीय झामाथि एक समूहले कार्यकक्षमै दुर्व्यवहार गरेको भन्दै कारबाहीको माग गरेका छन्।
उक्त समूहले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रवेश गरी दुर्व्यवहार गर्नुका साथै कुर्सीबाट लडाउने, अपशब्द प्रयोग गर्ने र कार्यालयको झ्यालका सिसा लगायतका सार्वजनिक सम्पत्ति तोडफोड गरी ठूलो क्षति पुर्याएको विज्ञप्तिमा उल्लेख छ। कर्मचारीहरूले दोषीमाथि कारबाहीको माग गर्दै कडाभन्दा कडा कारबाही गर्न स्थनीय प्रशासनसँग माग गरेका छन्।
विद्यालय जस्तो पवित्र क्षेत्रलाई नै विवादमा तान्नेगरी एक समूहले श्री माध्यमिक विद्यालय लालापट्टिका विद्यार्थीहरुको गलत प्रयोग गरेर गाउँपालिकाका विरुद्ध प्रदर्शन गराएको उक्त गाउँपालिकाका अध्यक्ष विद्यान्द चौधरीले बताए ।
विद्यालयमा पंखा र खानेपानी जस्ता भौतिक सुविधाहरू गाउँपालिकाले उपलब्ध गराइसकेको अवस्थामा पनि गलत अफवाह फैलाएर शैक्षिक क्षेत्रमा नराम्रो नजिर स्थापित गर्न खोजिएको कर्मचारीहरुको विज्ञप्तिमा समेत उल्लेख छ।
यस विषम परिस्थितिलाई मध्यनजर गर्दै गाउँपालिकाका कर्मचारीहरूले चारबुँदे माग सार्वजनिक गरेका छन्। उनीहरूले कार्यकक्षमा दुर्व्यवहार र तोडफोडमा संलग्न मुख्य योजनाकार तथा व्यक्तिहरूको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन स्थानीय प्रशासन र प्रहरीसँग माग गरेका छन्।
साथै, बालबालिकाको मनोविज्ञान र भविष्यमा नकारात्मक असर पर्ने गरी उनीहरूलाई राजनीतिक रिसिइबी साध्ने माध्यम नबनाउन समेत सम्बन्धित पक्षलाई सचेत गराइएको छ।
कर्मचारीहरूले आफूहरू असुरक्षित महसुस गरिरहेको वर्तमान अवस्थामा कार्यालय सञ्चालनका लागि आवश्यक शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म र दोषीलाई कारबाही नभएसम्म कामकाजमा बाधा पुग्न सक्ने चेतावनी दिएका छन्।
Shares

प्रतिक्रिया