गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नराम्रो पराजय व्यहोरेको नेकपा एमालेमा सबै तहको कमिटी विघटन गरेर जान सुझाव आएको नेताहरूले बताएका छन्। निर्वाचनमा पार्टीको नीति र नेतृत्व दुवै असफल भएको भन्दै संगठनात्मक ढाँचालाई पूरै बदल्नुपर्ने आवाज उठेको उनीहरूको भनाइ छ।
चुनावी हारको जिम्मा लिँदै अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने अधिकांश सचिवालय सदस्यको दबाबपछि उपाध्यक्ष रामबहादुर थापा बादलको संयोजकत्वमा चुनावी समीक्षा र पार्टी पुनर्गठन कार्यदल गठन गरिएको थियो। जेठ ८ देखि १० गतेसम्म बसेको सचिवालय बैठकले गठन गरेको कार्यदलका सदस्यलाई केन्द्रदेखि स्थानीय तहसम्मका सबै कमिटी भंग गरेर जान तल्लो तहका नेता र कार्यकर्ताले ताकिता गरेको कार्यदल सदस्य एवं पार्टी सचिव भानुभक्त ढकाल बताउँछन्।
‘तलकाले पनि नयाँ नेतृत्व मागिरहेका छन्, पुराना बदलेर जाऊँ भन्दा पनि हामी तयार छौँ,’ उनले भने।
संगठन विभाग प्रमुख समेत रहेका ढकालले सदस्यता नवीकरणको काम गरिरहेको जानकारी दिए।
कार्यदल सदस्य एवं उपमहासचिव लेखराज भट्टले असारभित्र कार्यदलले प्रतिवेदन बुझाउने बताए। त्यसपछि बस्ने केन्द्रीय कमिटीको बैठकले आवश्यक निर्णय गर्ने भट्टको भनाइ छ।
कार्यदलका अर्का एक सदस्यले अहिलेको राजनीतिक चुनौती सामना गर्न पार्टीलाई माथिदेखि तलसम्मै पुनगर्ठन गरेर जानुपर्ने हुनसक्ने बताए। पार्टीभित्रको संकट टार्नका लागि धेरै नेताहरूले पद त्याग गर्नुपर्ने र पुराना कमिटीहरू खारेज हुनसक्ने उनको भनाइ छ।
‘पार्टीलाई तन्दुरुस्त बनाउन पूर्वाग्रहरहित ढंगले अध्ययन भइरहेको र त्यसैका आधारमा संरचना परिवर्तन गरेर अघि बढ्न्पर्ने हुनसक्छ,’ उनले भने, ‘कार्यदलले केन्द्रदेखि पालिका तहसम्मका सबै कमिटीहरू विघटन गरेर जान सुझाव दिनसक्छ। दोस्रो र तेस्रो विकल्पका रूपमा, तत्काल विशेष महाधिवेशन र ‘अर्ली महाधिवेशन’ गरेर नीति र नेतृत्व परिवर्तन गरेर जानुपर्ने सुझाव दिनसक्छ।’
हिजोको नेतृत्व र नीति पूर्ण रूपमा असफल भइसकेकाले अब यही प्रक्रिया अनुसार अघि बढ्ने नेताहरू बताउँछन्।
मंसिर २७ देखि पुस ३ मा सम्पन्न ११ औँ महाधिवेशनबाट तेस्रो कार्यकालका लागि निर्वाचित भएका अध्यक्ष ओलीलाई लिएर पार्टीको पुनरागमन असम्भव देखेपछि एमालेको एउटा समूहले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई अन्तरिम नेतृत्व सुम्पेर जानुपर्ने प्रस्ताव अघि सारेको छ।
कार्यदलमा उपाध्यक्षद्वय विष्णुप्रसाद पौडेल र पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल, उपमहासचिव लेखराज भट्ट, सचिवहरू छबिलाल विश्वकर्मा, पद्मा अर्याल, भानुभक्त ढकाल र आठवटै प्रदेशका इन्चार्जहरू सदस्य छन्। चुनावी पराजयको समीक्षा प्रतिवेदन पदाधिकारीलाई वितरण गरिएको छ। सोही आधारमा पार्टीमा प्राप्त प्रतिवेदनका आधारमा एकीकृत प्रतिवेदन तयार गरी पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रुपमा एकताबद्ध बनाउन पार्टी शुद्धीकरण, सुदृढीकरण तथा रुपान्तरणसहितको पार्टी पुनर्गठनको कार्ययोजना तयार गर्न उनीहरूलाई कार्यादेश दिइएको छ।
कार्यदल सदस्य एवं सचिव छविलाल विश्वकर्माले अहिलेको चुनौती सामना गर्न सक्ने दुरुस्त पार्टी पंक्ति निर्माण गर्नु नै मुख्य प्राथमिकता रहेको बताए।
‘अहिलेका चुनौतीलाई सामना गर्ने तहको तन्दुरुस्त पार्टी बनाउनु छ, त्यसका लागि माथिदेखि तलसम्मै पुनर्गठन पनि हुन सक्छ,’ उनले भने।
कुनै पूर्वाग्रह वा आग्रह राखेर निर्णय नहुने उनले दाबी गरे।
‘पक्षपातको हिसाबले जाने होइन कि, पार्टीलाई दुरुस्त बनाउन जे गर्नुपर्छ, त्यो गरेर जानका लागि अध्ययनले, अनुसन्धानले जे देख्छ, फाइनल जे आउँछ, त्यही नै सुझावको रूपमा जान्छ। जे हुन्छ संस्थागत ढंगले, संवैधानिक हिसाबले, आम पार्टी कार्यकर्ताको अपनत्व हुने गरी पार्टी हितलाई सर्वोपरि राखेर हुन्छ,’ उनले भने।
यो प्रक्रियामा धेरै नेताहरूले पद त्याग गर्नुपर्ने हुनसक्ने उनको भनाइ छ।
‘हामी समझदारीपूर्वक, सिंगो पार्टी पंक्तिको साझा धारणा बनाएर जान्छौँ। त्यो प्रक्रियाका लागि कस–कसले त्याग गर्नुपर्ने हो, कसैले हट्नु पर्ला, कसैले कमिटीमा ठाउँ पाऊलान्,’ उनी भन्छन्।
त्यसो त कार्यदल संयोजक बादललाई बनाइएकोले ओलीले चाहेजस्तो प्रतिवेदन आउनसक्ने आशंका पनि नेताहरूको छ। तर, तल्ला कुनै पनि कमिटी ओलीप्रति सकारात्मक नभएकोले प्रतिवेदनमा कसैको प्रभाव नदेखिने कार्यदल सदस्यहरू दाबी गर्छन्।
‘ओलीको नेतृत्वमा अब पार्टी अगाडि बढ्ने सम्भावना न्यून छ,’ पदाधिकारी समेत रहेका ती सदस्यले भने, ‘ओलीको राजीनामा भयो भने विकल्प आफैँ तोकिन्छ।
Shares

प्रतिक्रिया