राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नु पाउनु आफ्ना लागि हर्षको कुरा भएको बताएका छन्।
भारत भ्रमणमा रहेका लामिछानेले बुधबार भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेका थिए। लामिछानेसँगको भेटवार्ताका तस्बिर मोदीले सामाजिक सञ्जालमा सेयर गरेका थिए।
मोदीले राखेका तस्बिरलाई पुनःसेयर गर्दै लामिछानेले लेखेका छन्, ‘आज सम्मानीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूसँग एक घण्टा लामो उत्पादनमूलक कुराकानीमा संलग्न हुन पाउनु वास्तवमै ठूलो हर्षको कुरा थियो।’
उनले मोदीको विकास कूटनीतिमा आफ्नो पूर्ण सहमति रहेको जनाएका छन्। ‘नेपाल र भारतले विगतका सीमाहरूलाई नाघेर विकास कूटनीतिको नयाँ युगलाई आत्मसाथ गर्ने मोदीको दृष्टिकोणप्रति म पनि सहमति जनाउँछु,’ लामिछानेले भनेका छन्।
दुई देशको समृद्धि र विकासका लागि साझेदारी निर्माण गर्न सकिने उनले उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘साझा सभ्यताका बन्धनहरू, डिजिटल कोरिडोरहरू र सहज कनेक्टिभिटीमा ध्यान केन्द्रित गरेर हामीले वास्तवमै प्रगति र आपसी विश्वासले परिभाषित गर्ने साझेदारी निर्माण गर्न सक्छौँ।’
भारतसँग सरकारसँग मिलेर काम गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उत्सुक रहेको पनि लामिछाने बताएका छन्। उनले भनेका छन्, ‘नेपाल र भारतका जनताको साझा समृद्धिका लागि यी सम्भावनाहरूलाई यथार्थमा परिणत गर्न रास्वपा उत्सुक छ।’
Shares

प्रतिक्रिया