नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीमाथि व्यंग्य कसेका छन्। ओलीले नेतृत्व नछाड्ने संकेत गरेपछि भट्टराईले बुधबार सामाजिक सञ्जाल फेसबुकमा ‘बुढो मान्छेको कथा’ सम्झना आएको भन्दै व्यंग्य गरेका हुन्।
उनले जनकपुरमा भएको एमाले सातौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा एक जना वरिष्ठ नेताले भाषण गर्दा कथा सुनाएको भन्दै अहिले सो खुब कथाको सम्झना आएको उल्लेख गरेका छन्।
उनले सो कथा यसरी लेखेका छन्, ‘एक जना बुढ़ा मानिस बसमा चढेछन्। सिट खाली थिए तर ऊनी सिटमा बसेनन्। उभिएर बसभित्रको फ़लामको डन्डी च्याप्प समाए। बाटो उबडखावड थियो। बस गुड्न सुरु गर्यो। बस घरी दायाँ ढल्किन्थ्यो बुढा मानिस बसको डन्डीलाई बायाँतिर जोडले तान्थे। फेरि बस बायाँ ढल्किन्थ्यो बुढा मानिस डन्डीलाई जोडले दायाँ तान्थे। यही रीतले बस अघि बढिरह्यो। बुढा मानिस सोही क्रिया गरिरहे। बुढा असिनपसिन भए। बस गन्तव्यमा पुगेर रोकियो। सबै यात्रु बाहिर निस्के। बुढाले सबैलाई जम्मा गरेर भने आज तपाईंहरू सबै मेरो कारणले बच्नु भयो। यात्रुहरू छक्क परेर सोधे कसरी। बुढाले सगौरव भने पल्टिन लागेको बसलाई डन्डीमा तानेर मैले पल्टिनबाट जोगाएँ र तपाईंहरू बच्नु भयो।’
बुधबार एमालेको राष्ट्रिय कार्यशाला उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले आफू अप्ठ्यारा परिस्थितिसँग जुधेर पार्टीलाई अगाडि बढाएको बताएका थिए।
उनले भनेका थिए, ‘हामी एमालेहरू सजिलो परिस्थिति आयो भने फुरुङ्ग परिहाल्ने, केटाकेटीलाई दसैँ आएजस्तो आँगनमा निस्केर दसैँ आयो भनेर नाच्न थाल्ने, अप्ठ्यारो परिस्थिति आयो भने अनेक प्रकारका वितण्डा मच्चाउने, अनेक निहुँ खोज्ने, आफूले राम्रो गरेको तर अरूले नराम्रो गरेको भन्दै जनताका बीचमा जाने, आफ्नो कमी नदेख्ने र अरूको कमी मात्र देख्ने प्रकारका हुनु हुँदैन।’
अप्ठ्यारो अवस्था आएमा त्यसको सामना गर्नका लागि तयारी गर्न भनेरै आफूलाई अध्यक्ष छानिएको उनको भनाइ थियो। ‘कमरेडहरूलाई कतै आशंका हुनसक्छ, मैले बीचैमा झोला फालेर अलपत्र छोडेर हिँड्ने हो कि भन्ने। त्यो आशंका मनमा नलिनु होला,’ ओलीले भनेका थिए।
Shares

प्रतिक्रिया