राजनीति


प्रधानमन्त्रीको ‘राष्ट्रहितविरोधी’ अभिव्यक्तिप्रति रास्वपा र सभामुखको मौनता शंकास्पद: सांसद देवकोटा

प्रधानमन्त्रीको ‘राष्ट्रहितविरोधी’ अभिव्यक्तिप्रति रास्वपा र सभामुखको मौनता शंकास्पद: सांसद देवकोटा

नेपालखबर
जेठ २०, २०८३ बुधबार १५:३२, काठमाडौँ

नेकपा एमालेकी सांसद सम्झना देवकोटाले प्रधानमन्त्री बालेन्द्र साहले दिएको सीमासम्बन्धी अभिव्यक्तिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सभामुखको मौनताले शंका उत्पन्न गराएको बताएकी छन्।

बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा उनले प्रधानमन्त्रीको राष्ट्रहित विपरीत र गैरजिम्मेवार अभिव्यक्तिमा पनि सभामुख डोलप्रसाद अर्यालले कुनै रुलिङ नगर्नु र रास्वपा मौन बस्नुले सबै पक्षलाई सशंकित बनाएको बताएकी हुन्।

उनले हालसम्म भारतका कुनैपनि आधिकारिक निकायबाट नेपालले सीमा मिचेको भन्ने जानकारी नेपाललाई नदिएको अवस्थामा प्रधानमन्त्रीले अचानक त्यस्तो आशयको जवाफ दिनु गम्भीर विषय भएको बताइन्। 

उनले नेपालभारत बीचको सीमा विवाद सुगौली सन्धीदेखि नै रहँदै आएपनि भारतले हालसम्म नेपालले भूमी मिचेको दाबी नगरेको बताइन्। वर्तमान सरकारले गठन भएदेखि नै विवादास्पद र अमान्य गतिविधिहरू गरिरहेको उनको आरोप छ। 

पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारी, सुकुम्बासी तथा भूमिहीनको उचित व्यवस्थापनबिना उठीबास लगाउने कार्य तथा सीमासम्बन्धी अभिव्यक्तिले सरकारको सही ढंगले नचलेको प्रष्ट हुने उनको भनाई छ। सांसद देवकोटाले प्रधानमन्त्रीको विगतको अभिव्यक्ति स्मरण गराउँदै मेयर हुँदा ग्रेटर नेपालको नक्सा जारी गर्नेकुरा गर्ने व्यक्ति आज नेपाललाई ‘स्मल नेपाल’ बनाउने अभिव्यक्ति दिन किन पुगे? भनेर प्रश्न उठाइन्। 

सांसद देवकोटाले प्रधानमन्त्रीको अभिव्यक्तिपछि रास्वापका सभापति रवि लामिछाने भारत भ्रमणमा जानु पनि शंकास्पद रहेको उल्लेख गरिन्। यसमा कुनै प्रकारको तालमेल रहेको हो कि भन्ने प्रश्न उठेको उनको भनाई छ। 

उनले भनिन्, ‘मेयर हुँदा ग्रेटर नेपालको नक्शा जारी गर्ने भन्दै हुनुहुन्थ्यो, तर आज एकाएक नेपाल खुम्चिएर स्मल नेपाल कसरी बन्न पुग्यो? उहाँको बक्तव्यकै भोलिपल्ट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति भारत भ्रमणमा जानु? यो कतै तालमेल पो छ कि हामीलाई शंका लागेको छ । यस्तो गम्भीर विषयमा सभापतिको रुलिङ नहुनु र रास्वपा जस्तो पार्टी नबोल्नुमा पनि हामीलाई शंका लागेको छ, हामी सबैतिर सशंकित भएका छौँ।’

सांसद देवकोटाले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रियता र राष्ट्रहितविरुद्ध भएको दाबी गर्दै यस्तो व्यक्तिले प्रधानमन्त्री पदमा बसिरहनु उपयुक्त नहुने बताइन्। उनले पदको दुरुपयोग नगरी तत्काल राजीनामा दिएर आम नेपाली जनतासँग माफी माग्न प्रधानमन्त्रीलाई आग्रह गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad