राजनीति


मन्त्रिपरिषद्काे पछिल्ला तीन बैठकले गरेका २५ निर्णय यस्ता छन् (सूची)

मन्त्रिपरिषद्काे पछिल्ला तीन बैठकले गरेका २५ निर्णय यस्ता छन् (सूची)

नेपालखबर
असार २६, २०७६ बिहिबार १२:०,

सरकारले पछिल्लाे तीनवटा मन्त्रिपरिषद बैठकबाट २५ वटा निर्णय गरेकाे छ। यही असार १९, २३ र २४ गते बसेको मन्त्रिपरिषदले गरेको निर्णय आज सञ्चारमन्त्री बाँस्कोटाले सार्वजनिक गरेका हुन्।

के के निर्णय भए?
मन्त्रिपरिषदको तीनवटा बैठकले विभिन्न २५ निर्णय गरेको छ। जसअन्तर्गत बुँदागत रुपमा निम्नानुसार छन्ः

१. बीउबीजनको किसिम, जातहरुको सूची नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको छ।

२. सर्लाही घटनाका मृतक सरोजनारायण सिंहको परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने, आन्दोलनका क्रममा घाइते भएकाको सरकारी अस्पतालमा उपचार गराएको खर्चको प्रमाणित बिलबापतको रकम उपलब्ध गराउने निर्णय भएको छ।

३. नेपाल सरकार (मन्त्रिपरिषद्)को मिति २०६४ भदौ ४ गतेको निर्णयअनुसार सडक डिभिजन नेपालगञ्ज, बाँके (महेन्द्र राजमार्गको) नाममा रहेको जग्गामध्ये १० बिघा जग्गा नेपालगञ्ज उद्योग वाणिज्य संघ, नेपालगञ्जलाई भोगाधिकार दिएकामा उक्त सम्झौता रद्द गरी त्यस जग्गा नेपाल सरकार, सडक डिभिजन, नेपालगञ्जको नाममा कायम गर्ने निर्णय गरिएको छ।

४. विद्युतीय बस खरिद गर्न स्वीकृति दिइएको छ।

५. मिति २०७४ पुस १३ को मन्त्रिपरिषदको निर्णयअनुसार पुरस्कृत सूचीमा रहेका कोच सुधिर चौधरीको नाम सुधिरकुमार चौधरी, खेलाडी जंगबहादुर मगरको नाम थर जंगबहादुर रुचाल र नविन राईको नाम थर होमनाथ राई हुने गरी संशोधन गर्ने निर्णय गरिएको छ।

६. ऐतिहासिक बागदरवारको संरक्षण सम्बन्धमा सम्मानित सर्वोच्च अदालतको आदेशअनुसार उक्त दरवारको वास्तुकला, प्रविधि, वास्तुकृति र स्वरुपको मौलिकतालाई कायम राखी पुनर्निर्माण, पुनस्र्थापनाको विषयमा अध्ययन र विश्लेषण गरी तीन महिनाभित्र प्रतिवेदन पेस गर्न पुरातत्व विभागका महानिर्देशकको संयोजकत्वमा ११ सदस्यीय विज्ञ समूह गठन गर्ने निर्णय गरिएको छ।

७. निक्षेप तथा कर्जा सुरक्षण कोषको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ रहेकामा नेपाल सरकारले विश्व बैंकसँग गरेको प्रतिबद्धता पूरा गर्न नेपाल सरकार अर्थ मन्त्रालयबाट १ अर्ब ८० करोड रुपैयाँ निकासा दिई र नेपाल राष्ट्र बैंकबाट २० करोड रुपैयाँ लगानी गरी कोषको चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुर्याउन स्वीकृति दिएको छ।

८. जापान सरकारबाट प्रोजेक्ट फर ह्युमन रिसोर्स डेभलपमेन्ट स्कलरशिप दोस्रो चरणअन्तर्गत प्राप्त हुने करिब ३८ करोड ८९ लाख रुपैयाँ (जापानी येन ३८ करोड ७० लाख) अनुदान सहायता स्वीकार गर्ने निर्णय गरिएको छ।

९. संघीय वित्त व्यवस्थापनका लागि नीतिगत र संस्थागत सुधार गर्दै दिगो आर्थिक वृद्धि र गरिबी निवारणमा योगदान पुर्याउने क्रममा नेपाल सरकारलाई विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट सहुलियतपूर्ण ऋण सहायताको रुपमा प्रस्तावित १ सय मिलियन अमेरिकी डलरबराबरको रकम स्वीकार गर्ने निर्णय गरिएको छ।

१०. रसुवास्थित माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनाको प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलोपमेन्ट कम्पनीलाई आयकर छुट दिने निर्णय गरिएको छ ।

११. उच्च अदालत तुलसीपुरको वाणिज्य इजलास सम्बन्धी प्रादेशिक क्षेत्राधिकार उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलास अन्तर्गतबाट झिकी उच्च अदालत तुलसीपुरको वाणिज्य सम्बन्धी मुद्दा हेर्ने उच्च अदालत तुलसीपुरमा उच्च अदालत नियमावली, २०७३ को नियम ६६ को उपनियम १ बमोजिम वाणिज्य इजलास गठन गरी सो सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरिएको छ ।

१२. बाग्लुङ खानेपानी तथा सरसफाइ आयोजनाको रिजर्भायर टंकी÷फिल्टर तथा फल्कुलेटर लगायतका भौतिक संरचना निर्माण गर्न बाग्लुङ नगरपालिका ३ मा पर्ने छहराधारा कैलमपोखरी सामुदायिक वनको ०.३२१ हेक्टर राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न र त्यहाँ रहेका जम्मा ७९ वटा रूखविरूवा हटाउन स्वीकृति दिइएको छ ।

१३. रेले खोला जलविद्युत आयोजना निर्माणका लागि अन्नपूर्ण संरक्षण क्षेत्रभित्रको जम्मा ४.६५ हेक्टर वन क्षेत्रको जग्गा प्रयोग गर्न र त्यहाँ रहेका १२५१ वटा रूखविरूवा हटाउन स्वीकृति दिइएको छ । 

१४. सप्तङ खोला साना जलविद्युत आयोजना निर्माणका लागि नुवाकोट जिल्लाको म्यागङ गाँउपालिका २ मा रहेको भूमाग्ङो सामुदायिक वनसहित राष्ट्रिय वन क्षेत्रको कुल १.४३१ हेक्टर जग्गा ३० वर्षसम्म प्रयोग गर्न र त्यहाँ रहेका १९४ वटा रूखविरूवा-पोल हटाउन स्वीकृति दिइएको छ । 

१५. तिनेखु खोला साना जलविद्युत आयोजना निर्माणका लागि गौरिशंङ्कर संरक्षण क्षेत्रभित्रको गौरिशंङ्कर गाँउपालिका ५ मा रहेकोे कुल ०.३५४ हेक्टर राष्ट्रिय वन-सरकारी वन क्षेत्रको जग्गा ३० वर्षसम्म प्रयोग गर्न र त्यहाँ रहेका ८५ वटा रूखविरूवा हटाउन स्वीकृति दिइएको छ ।

१६. ग्रामिण सञ्जाल सडकहरूको कालोपत्रेसहित स्तरोन्नति गर्नका लागि झापा, रोल्पा, पाँचथर र पर्वत जिल्लामा रहेको कूल १२.६४६० हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न र त्यहाँ रहेका १४१९ वटा रूखविरूवा हटाउन स्वीकृति दिइएको छ ।

१७. रिद्धि सिद्धि सिमेण्ट प्रा.लि.लाई मकवानपुर जिल्लाको भीमफेदी गाँउपालिका ३ को टोपोसिट नं २७८५-०५ सि मा अवस्थित मूलचिह्नबाट निर्दिष्ट चारकिल्लाभित्र परेको भीमचुलीमा रहेका दुई वटा खानीस्थलबाट चूनढुङ्गा खनिज पदार्थको उत्खनन कार्य सञ्चालन गर्न राष्ट्रिय वन क्षेत्रको कूल ४.८५ हेक्टर (क्वारी नं १ को ३.७५ हेक्टर र क्वारी नं २ को १.१० हेक्टर) जग्गा १० वर्षसम्म प्रयोग गर्न र त्यहाँ रहेका जम्मा ४२६ वटा रूखविरूवा हटाउन स्वीकृति दिइएको छ ।

१८. नेपाल सरकार र चीन सरकारका प्रतिनिधीमण्डलबीच चीनको राजधानी बेइजिङ्गमा २५–२६ जुलाई २०१९ मा उडान संख्या वृद्धि, मार्ग सारिणी पुनरावलोकन र द्विपक्षीय हितका अन्य विषयमा वार्ता गर्न नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका हवाई सेवा सम्झौता हेर्ने सहसचिवको नेतृत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गर्ने तथा नेपाल र चीन सरकारका प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्तापश्चात तय हुने हवाई सेवा सम्बन्धी समझदारीपत्रमा नेपाल सरकारका तर्फबाट समकक्षी मिलाई टोली नेताले हस्ताक्षर गर्ने निर्णय गरिएको छ ।

१९. विभिन्न ११ स्थानीय तहको परियोजनाका लागि जग्गा प्राप्त गराइदिने निर्णय गरिएको छ ।

२०. स्थानिय, प्रदेश र संघीय तहबाट आफूअन्तर्गतका स्वास्थ संस्थाको मासिक प्रतिवेदन केन्द्रीय सूचना प्रणालीमा प्रविस्ठ गर्ने तथा अन्य सूचनाहरूसमेत स्वास्थ्य संस्थाहरूबाट स्थानीय तहमा, स्थानीय तहले स्वास्थ्य कार्यालयहरूमा, स्वास्थ्य कार्यालयहरूले स्वास्थ्य निर्देशनालयहरूमा र निर्देशनालयहरूले स्वास्थ्य सेवा विभागमा पठाउने संस्थागत व्यवस्था गरी स्थानीयदेखि संघीय तहसम्म नियमित, निश्चित समयसीमाभित्र पूर्ण विवरणसहितको प्रतिवेदन गर्ने÷गराउने व्यवस्था मिलाउने निर्णय गरिएको छ ।

२१. अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिइएको छ ।

२२. भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिइएको छ ।

२३. होटल, लज, रेस्टुराँ तथा रिजर्ट, वार तथा पथ प्रदर्शक (दोस्रो संशोधन) नियमावली, २०७६ स्वीकृत गरिएको छ ।

२४. काेअपरेटिभ डेभलपमेन्ट अफ अपरेशनल सेफ्टी एण्ड कन्टिनुविङ एयरवर्थिनेस प्राेग्राम साउथ एसिया (काेस्क्याप एसए)को पाँचौ चरणको कार्यक्रममा सहभागिताका लागि डकुमेन्ट समर्थनका लागि हस्ताक्षर गर्ने निर्णय गरिएको छ ।

२५. राष्ट्रिय वातावरण नीति, २०७६ स्वीकृत गरिएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad