आफ्नो फेसबुक पेजमा एक भिडियो सन्देश सार्वजनिक गर्दै हमालले भारतले लिम्पियाधुरा र लिपुलेक आफ्नो भएको दाबी गरेर एक सार्वभौम राष्ट्रमाथि आँच पुर्याउने कार्य गरेको उल्लेख गरेका छन्।
हमाल भन्छन्,‘लिम्पियाधुरा र लिपुलेक नेपालको भूभाग हो। नेपालसँग यसको पुरा प्रमाण छ। हामी नेपाली बिनम्रताका साथ अनुरोध गर्छौ कि भारतले तथ्य स्वीकार्नुपर्छ। भारतले तथ्य र तथ्यांकलाई राम्रोसँग हेर्नुपर्छ।’
नेपाली भूमि लिपुलेक क्षेत्रमा भारतले नेपालको अनुमति बिनै सडक बनाएपछि सीमा विवादले उत्कर्ष रुप लिएको छ। नेपालीहरुले भारतको कडा विरोध गरिरहेको समयमा हमालको पछिल्लो भनाइ आएको हो।
नेपालले बुधबारम मात्र लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग समेटेर नक्सा सार्वजनिक गरिसकेको छ। भारतले भने नेपालको नयाँ नक्सा अमान्य भएको प्रतिक्रिया जनाएको छ। भारतले एकतर्फी कुटनीतिक छलफल बिनै नेपालले एकतर्फी नक्सा जारी गरेको आरोप लगाएको छ।
सत्य र तथ्यलाई नमानेर भारतले निरन्तर सीमा विवाद झिकेको हमालको आरोप छ। उनी भन्छन्,‘पहिले हामी बोलेनौं तर अहिलेका युवाहरु निकै सचेत र शिक्षित भएका छन्। नेपालीले यतिबेला न्याय र अन्याय छुट्याउन सक्ने भएकाले भारतको विरोध भइरहेको छ।’
‘भारतले निरन्तर नेपाली भूमि दाबी गर्नाले नेपालीको सार्वभौमिकतालाई कुल्चिएको अनुभूति भएको छ। यो साँच्चै नेपालीको लागि अस्वीकार्य छ’ हमाल भन्छन्,‘हाम्रा पूर्खाले आफ्नो भूमि जोगाउन नै यति ठूलो बलिदान र संघर्ष गरेका थिए, त्यसैले भारतको दाबीले नेपालीलाई ठूलो झट्का लागेको छ।’
(भिडियो)
रिस र दोषले नेपाल र भारतलाई नै फाइदा नपुग्दै बताउँदै हमालले यस विवादमा सत्य र तथ्यलाई स्वीकार्नुपर्ने र कटनीतिक ढंगबाट समस्या सुल्झाउनुपर्ने बताएका छन्।
हमालका अनुसार नेपाल र भारतजस्तो असल मित्र विश्वमा कमैमात्र देखिन्छन् त्यसकारण भारतले तथ्य स्वीकार्नुपर्छ।
कोरोना प्रकोपबीच उत्पन्न भएको भारत र नेपालको सीमा विवादले अन्तराष्ट्रियस्तरमा उदाउँदो शक्ति भारतबारे नराम्रो सन्देश जाने पनि हमाल बताउँछन्।
भारतले यस क्षेत्रकै कोरोना महामारीलाई रोक्न नेतृत्व गर्नुपर्ने र उदाहरणीय कार्य गर्नुपर्ने हमालले बताएका छन्।
Shares

प्रतिक्रिया