राजनीति


देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

नेपालखबर
जेठ ५, २०८३ मंगलबार १७:२८, काठमाडौँ

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न माग गर्दै दायर भएको रिटमा सर्वोच्चले सरकारसँग लिखित जवाफ माग गरेको छ। 

न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले मंगलबार प्रारम्भिक सुनुवाइ गर्दै १५ दिनभित्रमा लिखित जवाफ पेश गर्न आदेश दिएको हो। 

सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ नगर्न अन्तरिम आदेश माग गरिए पनि सर्वोच्चले दुवै पक्षसँगको छलफलपछि निस्कर्षमा पुग्नु पर्ने भन्दै जेठ ११ गतेका लागि पेशी तोकेको छ। 

अन्य अपराधमा अनुसन्धान नभएको अवस्थामा सम्पत्ति शुद्धीकरणको मात्र कसुरको मुद्दा हेर्ने विशेष अदालत भए पनि जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएको भन्दै निवेदकले प्रश्न उठाएका छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति लिएको छ। 

निवेदकहरू अनुसन्धानका लागि सहयोग गर्न मञ्जुर भएको र पक्राउ गर्नुपर्ने पूर्वावस्था समेत नरहेको भन्दै उमेरको समेत अवस्थालाई विचार गरी पक्राउ नगर्नु भनि आदेश माग गरिएको छ। अनुसन्धानका क्रममा कुनै पनि सम्पत्तिको स्रोत देखाउनु पर्ने भए वा अनुसन्धानमा जो चाहिने सहयोग गर्न तयार रहेको निवेदनमा उल्लेख छ। 

तर अदालतले अनुसन्धानको मिसिल हेरेर अपनाइएका प्रक्रियाहरूको समेत परीक्षण गरी अन्तरिम आदेश जारी हुने नहुने निस्कर्षमा पुग्नु पर्ने अवस्थाको विषय देखिएको भन्दै दुवै पक्षलाई जेठ ११ गते छलफलमा झिकाएको छ। 

अन्तरिम आदेशको छलफल चाँडो सम्पन्न गरी निस्कर्षमा पुग्नु पर्ने प्रकृतिको देखिएको भन्दै पेसीको दिन प्रस्तुत निवेदनलाई प्राथमिकतामा राखी पेश गर्न पनि आदेश दिएको छ। 

अन्तरिम आदेश छलफलको दिन इजलासमा देखाई फिर्ता लैजाने गरी अनुसन्धानको फाइल समेत माग गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad