स्वास्थ्य मन्त्री भानुभक्त ढकालले नेपालका लागि आगामी दिन थप चुनौतिपूर्ण हुनसक्ने बताएका छन्। ७३ औं विश्व स्वास्थ्य महासभालाई भर्चुअल सम्बोधन गर्दै स्वास्थ्यमन्त्री ढकालले सो कुरा बताएका हुन् ।
‘कोभिडबाट हालसम्म नेपालमा दुई जनाको ज्यान गएको छ भने संक्रमितको संख्या केही दिन यता बढ्दो क्रममा रहेको छ,’ ढकालले भने, ‘आउँदा दिनहरु हाम्रो लागि चुनौतिपूर्ण हुन सक्दछन्।’
नेपाली भाषामा सम्बोधन गर्दै उनले महामारीले स्वास्थ्य क्षेत्रमा गरिने लगानीको महत्व र आवश्यकता पुष्टी गरेको बताए।
‘निःसन्देह नै स्वास्थ्यमा गरिने लगानीको महत्व र आवश्यकतालाई यस महामारीले थप पुष्टि गरेको छ’ ढकालले भने, ‘यस महामारीले सबल र सक्षम स्वास्थ्य प्रणालीको आवश्यकता र स्वास्थ्य सामग्रीहरूको आन्तरिक उत्पादनको महत्वलाई समेत उजागर गरेको छ।’
मन्त्री ढकालले कोभिड नियन्त्रणमा विश्व स्वास्थ्य संगठनले खेलेको भूमिकाको प्रशंसा गरेका छन्। ‘कोभिड नियन्त्रणमा विश्व स्वास्थ्य संगठन लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला निकायहरूको भूमिका सराहनीय छ’ ढकालले भने, ‘विश्व मानव समुदायको स्वास्थ्य रक्षा गर्न यसले खेलेको ऐतिहासिक भूमिकाको पुनः पुष्टी भएको छ। सर्वव्यापी स्वास्थ्य सुरक्षाको लागि सदस्य राष्ट्रहरूले थप एकताबद्ध भई प्रयास गर्नु पर्ने आजको आवश्यकता भएको विषय पनि उठाउन चाहन्छु।’
तर अमेरिका सहित संसारको विभिन्न देशले कोरोना नियन्त्रणका लागि प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै आलोचना गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संगठनले स्वतन्त्र भूमिका खेल्न नसके दिँदै आएको सहयोग स्थायी रुपमा रोक्ने चेतावनी दिएका छन्। चीनले भने संगठनको भूमिकाको प्रशंसा गरेको छ।
सम्बोधनमा मन्त्री ढकालले कोभिड नियन्त्रणका लागि नेपालको राजनीतिक प्रतिवद्धतासहित सक्रिय रहेको बताएका छन्।

प्रतिक्रिया