राजनीति


सुधनले छाडे पनि उनकै टिमले चलाइरहेको छ गृह मन्त्रालय

स्वकीय सचिव कार्कीले गर्दैछन् कर्मचारी र सुरक्षा अधिकारीसँग ‘ब्रिफिङ’ लिने र आदेश दिने काम
सुधनले छाडे पनि उनकै टिमले चलाइरहेको छ गृह मन्त्रालय

लोकेन्द्र भट्ट
बैशाख ११, २०८३ शुक्रबार २०:१६, काठमाडौँ

सुधन गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएको तीन दिन भइसकेको छ। सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग साझेदार रहेको र सेयर कारोबार गरेको विषयमा चौतर्फी आलोचना भएपछि गुरुङले वैशाख ९ मा गृहमन्त्रीबाट राजीनामा दिएका थिए। 

गत चैत १३ मा गृहमन्त्री नियुक्त भएका गुरुङ २७ दिनमै राजीनामा दिएर मन्त्रालयबाट बाहिरिएका छन्। गृह मन्त्रालयको कार्यभार अहिले प्रधानमन्त्री वालेन्द्र शाहले सम्हालिरहेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री शाहको सिफारिसमा गुरुङले राजीनामा दिएपछि गृह मन्त्रालयको कार्यभारसमेत प्रधानमन्त्री स्वयंले सम्हाल्ने गरी तोकेका राष्ट्रपतिको कार्यालयले जनाएको छ। तर, प्रधानमन्त्रीलाई कार्यभार तोकिए पनि गृह मन्त्रालयन भने निवर्तमान गृहमन्त्री गुरुङकै टिमले चलाइरहेको छ। गुरुङका स्वकीय सचिव जेम्स कार्कीले गृह मन्त्रालयमा आफ्नो कामकाज जारी राखेको पाइएको छ। 

‘गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएको तीन दिन भइसकक्यो,’ गृह मन्त्रालयका एक सहसचिवले नेपालखबरसँग भने, ‘तर, उहाँको स्वकीय सचिव पूर्ववत अवस्थामै कामकाज गरिराख्नु भएको छ। बिहानै मन्त्रालयमा आउनुहुन्छ। दिनभर मन्त्रालयमै बस्नुहुन्छ।’

गृह मन्त्रालयका प्रवक्ता तथा शान्ति सुरक्षा महाशाखा प्रमुख आनन्द काफ्लेको कार्यकक्ष नजिकै कार्कीको कार्यकक्ष छ। शुक्रबार दिनभर पनि उनी आफ्नो कार्यकक्षमै थिए। कार्की गत चैत १९ गते तत्कालीन गृहमन्त्री गुरुङको स्वकीय सचिव नियुक्त भएका थिए। 

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य कार्की यसअघि प्रधानमन्त्री शाहको सचिवालयमा अनौपचारिक काम गरिरहेका थिए। उनी रास्वपामा प्रधानमन्त्री शाह निकट नेता मानिन्छन्। गुरुङले मन्त्रीबाट राजीनामा दिए पनि उनी मन्त्रीको स्वकीय सचिवकै हैसियतमा मन्त्रालयमा काम गरिरहेको गृह मन्त्रालयका कर्मचारीहरूको भनाइ छ। एक कर्मचारीका अनुसार, कार्कीले गृह मन्त्रालय मातहतका निकायबाट ‘ब्रिफिङ’ लिने र आदेश दिने काम गरिरहेका छन्। 

गृहका एक सहसचिवका अनुसार आफ्नो कार्यकक्षमा गृह मन्त्रालयका कर्मचारी र सुरक्षा निकायका अधिकारीलाई बोलाएर कार्कीले टिपोर्टिङ लिने काम गरिरहेका छन्। गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहले सम्हाले पनि निवर्तमान गृहमन्त्री गुरुङकै टिमले मन्त्रालय चलाइरहेको छ।

‘मन्त्रीस्तरीय निर्णय गराउँदा प्रधानमन्त्री कहाँ फाइल लिएर जाने गरेका छौँ। मन्त्रिपरिषदबाट हुने गृह मन्त्रालय अन्तगर्तका निर्णयका लागि फाइल पनि प्रधानमन्त्री कार्यालय पठाइन्छ। अरु बाँकी काम यतैबाट हुन्छ,’ ती सहसचिव भन्छन्। 

गुरुङ गृह मन्त्रालयबाट बाहिरएपछि गृहको प्रस्तावमा मन्त्रिपरिषदले एउटा मात्रै निर्णय गरेको छ। वैशाख १० मा बसेको मन्त्रिपरिषदको बैठकले गृह मन्त्रालयको प्रस्तावमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको ११४ रोपनी ३ आना क्षेत्रफलको जग्गा पुनः पूर्ववत् रूपमा प्रतिष्ठानकै स्वामित्वमा कायम रहने निर्णय गरेको थियो। यसअघि २०७५ सालमा मन्त्रिपरिषदले यो जग्गा राष्ट्रपतिको कार्यालयलाई दिने निर्णय गरेको थियो। 

गुरुङको विषयमा छानबिन गर्ने र निर्दोष देखिए पुनर्वाहली गराउने प्रधानमन्त्री शाहको तयारी देखिन्छ। प्रधानमन्त्री शाहलाई राजीनामा दिएलगत्तै गुरुङले सामाजिक सञ्जालमा आफूमाथि छानबिन गर्न माग गरेका थिए।

‘मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन। आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको जेनजी आन्दोलनले पनि यही सन्देश दिएको छ– सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ,’ गुरुङले लेखेका थिए, ‘मेरा ४६ जना भाइ बहिनीहरूको रगत र बलिदानीको आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो।’

प्रधानमन्त्री शाहको सचिवालयका अनुसार पार्टीका तर्फबाट अर्को नाम सिफारिश नभएसम्म गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले नै राख्ने छन्। 

सरकारका प्रवक्ता सस्मित पोखरेलले पनि नयाँ गृहमन्त्री नियुक्तबारे कुनै छलफल नभएको बताए। पोखरेलले नेपालखबरसँग भने, ‘अहिले गृहमन्त्री नियुक्तिको विषयमा कुनै छलफल भएको छैन। आवश्यक पर्दा नयाँ गृहमन्त्री पाउँछौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad