राजनीति


एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए

एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए

नेपालखबर
बैशाख ५, २०८३ शनिबार १९:४२, काठमाडौँ

पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली २१ दिनपछि घर फर्किएका छन्। 

अध्यक्ष ओली शनिबार त्रिवि शिक्षण अस्पतालबाट ‘डिस्चार्ज’ भएका हुन्। त्रिवि शिक्षण अस्पतालमा ओलीको गत चैत ३० गते पित्तथैलीको शल्यक्रिया भएको थियो। सन्चो लागेपछि शनिबार उनलाई ‘डिस्चार्ज’ गरिएको अस्पतालले जनाएको छ।

गत चैत १४ गते बिहान ओलीलाई प्रहरीले भक्तपुरको गुण्डुस्थित घरबाटै पक्राउ गरेको थियो। त्यसपछि स्वास्थ्य परीक्षण गर्न अस्पताल लगिएको थियो।

उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्यमा सुधार नभएपछि त्यसयता उनी अस्पतालमै उपचाररत रहेका थिए।

गैरकानुनी रुपमा थुनामा राखेको भन्दै उनकी पत्नी राधिका शाक्यले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। त्यसमा सुनुवाइ गर्दै सर्वोच्चले हिरासतमा राख्ने म्याद थप नगर्ने आदेश दिएको थियो। 

त्यसपछि जिल्ला सरकारी वकिलको कार्यालयको निर्णयका आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौँले उनलाई हाजिरी जमानीमा छोडेको थियो। 

उनीसँगै पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकलाई पनि गत चैत २६ गते रिहा गरिएको थियो। लेखक त्यही दिन घर फर्किएका थिए भने ओलीको स्वास्थ्यमा समस्या भएकाले अस्पतालमै उपचाररत थिए। 

दुवै जनालाई जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा सरकारले पक्राउ गरेको थियो। पूर्वन्यायाधीश गौरबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले गत भदौ २३ गते आन्दोलनकारीमाथि सुरक्षाकर्मीले गोली चलाउँदा रोक्ने पहल नगरेको भन्दै कारबाही गर्न सिफारिस गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad