राजनीति


सिंहदरबारमा जताततै रास्वपा सांसद : कसैलाई थाइल्यान्ड जाने इच्छा, कोही ५० करोड बजेटको धुनमा

सिंहदरबारमा जताततै रास्वपा सांसद : कसैलाई थाइल्यान्ड जाने इच्छा, कोही ५० करोड बजेटको धुनमा

लोकेन्द्र भट्ट
बैशाख ६, २०८३ आइतबार ९:२०, काठमाडौँ

संसद्‍मा करिब दुई तिहाइ सिट जितेकोले नै होला, अचेल सिंहदरबारभित्र जतासुकै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मात्र भेटिन्छन्। सिंहदरबारका सडकपेटीदेखि क्यान्टिनसम्म जता गए पनि रास्वपाकै सांसद देखिन्छन्, उनीहरूकै हँसी–दिल्लगी सुनिन्छ।

शुक्रबार दिनभर सिंहदरबारभित्रको दृश्य नियाल्दा सडकपेटी र क्यान्टिन रास्वपा सांसदले भरिएका थिए। समूह–समूहमा बाँडिएका रास्वपा सांसद मजाक र मनभित्रको उकुसमुकुस प्रकट गर्नमा व्यस्त थिए।

दिउँसो करिब १ बजेतिर सहरी विकास मन्त्रालय अगाडिको सडकपेटीमा उभिएर रास्वपा सांसदको एउटा समूह गफिइरहेको थियो।

संसदीय समिति सभापतिको निर्वाचनका लागि सिंहदरबार पुगेका उनीहरू आफू रहेको समितिबारे एकअर्कालाई बताउँथे।

कुराकानीकै बीचमा सिरहा–२ बाट निर्वाचित रास्वपा सांसद शिवशंकर यादवले थाइल्यान्ड जान चाहेको प्रसंग निकाले। जनताको माग र पार्टीको कडाइले तनाव बढेको उनको आशय थियो। 

उनले भने, ‘अब हामीले माननीयको गरिमा पनि राख्नुपर्छ। यसरी यहाँ बसेर मात्र हुँदैन। अब थाइल्यान्ड जानुपर्छ। म त थाइल्यान्ड जाने सोचमा छु।’ 

महोत्तरी–३ बाट निर्वाचित रास्वपा सांसद उज्ज्वल कुमार झाले सांसद शिवशंकरलाई थाइल्यान्डभन्दा अन्य देशमा जान सुझाए।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सदस्य समेत रहेका उनले भने, ‘मेरो त समिति नै अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन छ। रातो पासपोर्ट छदैछ। ४–५ देश घुम्ने हो। तपाईं के थाइल्यान्ड जाने कुरा गर्नुहुन्छ? अरु देश जानुहोस्।’ 

गफगाफबीच शिवशंकर फेरि थाइल्यान्ड जाने कुरा झिक्छन्।

सांसद उज्ज्वल फेरि भन्छन्, ‘थाइल्यान्ड त काठमाडौँको असनबजार जस्तै भइसक्यो। अन्य देश जानुपर्छ।’ सांसद शिवशंकरले निर्वाचन क्षेत्रमा जानुअघि थाइल्यान्ड जाने कुरा निकाल्छन्।

तर, शिवशंकर थाइल्यान्ड छाड्ने पक्षमा देखिँदैनन्। 

‘निर्वाचन क्षेत्रमा जानुपर्छ। एक पटक सबै ठाउँमा पुग्नुपर्छ। त्यसअगाडि थाइल्यान्ड जानै पर्छ कि जस्तो लागिरहेको छ,’ उनी भन्छन्।

सांसद शिवशंकरले बारम्बार थाइल्यान्ड जाने कुरा गरिराख्दा सांसदहरू गलल्ल हाँस्छन्। केही समयपछि सांसद शिवशंकर यादव स्कुटरमा त्यहाँबाट गृह मन्त्रालयतर्फ लाग्छन्। बाँकी सांसदको संवाद जारी रहन्छ।

‘माननीय होइन, हामी ढ्यापढ्याप भनौँ’
सिंहदरबारभित्र यत्र–तत्र भेटिने रास्वपा सांसदहरू आफ्नो भूमिकाप्रति सन्तुष्ट छैनन्। पार्टी सभापति रवि लामिछानेको कडा निर्देशन र संसदीय दलमा खुला छलफल नहुँदा उनीहरू आफ्नो भूमिकाप्रति असन्तुष्ट सुनिए। 

‘एक–अर्कालाई माननीय नभनौँ यार। अब ढ्यापढ्याप भनौँ,’ सांसद उज्ज्वलले भने, ‘हाम्रो कामै ढ्यापढ्याप गर्ने मात्रै छ। यति धेरै सांसद छौँ। न संसदमा बोल्न मिल्छ, न संसदीय दलमा हामीले कुरा राख्न पाउँछौँ।’

रास्वपा सभापति लामिछानेले ‘मन्त्री भेटेर काम नलगाउनू’ भनेपछि रास्वपा सांसद आक्रोशित छन्। 

सांसद उज्ज्वल झाले भने, ‘मतदाताले फोन गरेर यसो गरिदिनुपर्‍यो, उसो गरिदिनुपर्‍यो भन्नुहुन्छ। काम गर्ने मन्त्रीले नै हो। अब मन्त्री कहाँ नजानु भनेपछि कहाँ जाने? कि मन्त्री हामी कहाँ आउनुपर्‍यो। जनताको काम त गर्नुपर्छ।’

सहरी मन्त्रालय अगाडिको सडकपेटीमा अरु केही सांसद पनि थपिन्छन्। उनीहरूको समूहमा निवर्तमान श्रममन्त्री दीपक साह पनि मिसिन आइपुग्छन्।

सबै सांसदले ‘मन्त्रीज्यू’ भन्दै दीपकलाई सम्बोधन गर्छन्। १३ दिनमै मन्त्री पद गुमाएका सांसद साह देशभर चर्चित भएको प्रसंग निस्किन्छ। 

सांसद उज्ज्वल भन्छन्, ‘हामीलाई हाम्रै सांसदले चिन्नुहुन्न। तर, उहाँलाई देशले नै चिन्छ।’ 

अरु सांसदमा पनि ‘हो’ मा ‘हो’ थप्छन्। गफगाफकै बीचमा सांसद उज्ज्वल झा पार्टीको भविष्यबारे प्रसंग निकाल्छन्। 

‘पार्टी कहिलेसम्म एक रहने हो? भोलि कति भागमा विभाजन हुन्छ? सबैको मन उकुसमुकुसमै छ। नेताहरूले अनुशासन, अनुशासन भनिराख्नु भएको छ। सधैँ त कसरी होला? बोल्नुपर्ने हुन्छ,’ उनी भन्छन्।

रास्वपाका सांसदहरूको अझ ठूलो समूह सञ्चार मन्त्रालयअगाडिको केन्द्रीय क्यान्टिनमा भेटिन्छ।

त्यहाँ खाजा र चिया खान पुग्ने रास्वपा सांसद पनि सरकारको काम र सभापति रवि लामिछानेको बारम्बारको कडा निर्देशनबारे टीकाटिप्पणी गरिरहेका थिए। 

सांसदको सिफारिसमा ५० करोड बजेटको व्यवस्था गर्न जोडबल
सांसदको समूहमा मोरङ–२ बाट निर्वाचित रास्वपा सांसद कृष्णकुमार कार्की पनि आइपुग्छन्। अर्थ समिति सदस्य कार्कीले आफ्नो परिचय दिन्छन्। आफू चिनजानका लागि आएको बताउँछन्। कार्कीले आफू प्रतिनिधिसभाको अर्थ समितिमा रहेको सुनाउँदै अरुलाई सोध्छन्, ‘तपाईंहरू को–को कुन–कुन समितिमा हुनुहुन्छ?’ 

त्यहाँ जम्मा भएका सबै सांसदले आ–आफ्नो समिति भन्छन्।

त्यसपछि सांसद कार्कीले सांसदको सिफारिसमा हरेक निर्वाचन क्षेत्रलाई ५० करोड बजेट छुट्याउने व्यवस्था मिलाउन दबाब सिर्जना गर्नुपर्ने बताउँछन्।

‘जनतालाई विकास चाहिएको छ। तपाईंहरूले पनि कुरा उठाउनुपर्छ। सांसदको सिफारिसमा काम हुने गरी प्रत्येक निर्वाचन क्षेत्रका लागि ५० करोड बजेटको व्यवस्था मिलाउनुपर्छ,’ सांसद कार्की भन्छन्, ‘त्यत्रा नेतालाई हराएर आइएको छ। काम गर्न सकिएन भने त गाह्रो हुन्छ।’

सांसदहरूले जवाफमा भने, ‘तपाईं अर्थ समितिमा हुनुहुन्छ। त्यहाँ तपाईं कुरा उठाउनुहोस्। हामी पनि कुरा त गर्छौँ।’ 

सांसद कार्कीले अर्थ समितिमा आफूले कुरा उठाउने वचन दिँदै पार्टीभित्र पनि दबाब बढाउन आग्रह गरे र हिँडे।

कार्की र अर्थ समितिमा रहेका रास्वपाका सांसदहरू सांसदको सिफारिसका आयोजना आगामी बजेटमा समावेश गर्नुपर्ने पक्षमा माहोल बनाउन लागिपरेका छन्। निर्वाचन क्षेत्रका जनताले अपेक्षा गरेका विकास निर्माणका स्थानीय आवश्यकता जनप्रतिनिधिमार्फत सम्बोधन गर्न ५० करोड बजेट सांसदलाई दिनुपर्ने कार्की बताउँछन्। 

अर्को समूहमा पुगेर पनि कार्कीले सोही प्रस्ताव राखे।

यसमा रास्वपाका समानुपातिक सांसद खगेन्द्र कर्ण भने सन्तुलित सुनिन्थे।

‘सरकारले सबै निर्वाचन क्षेत्रमा समान बजेट हाल्छ। सबै ठाउँमा आवश्यकता हेरेर बजेट विनियोजन हुँदा समस्या हुँदैन,’ सांसद कर्णले भने, ‘सरकार काम गर्दैछ। हेरौँ।’

यसअघि रास्वपा सभापति रवि लामिछानेले सांसद कोष ब्युँताएर जनप्रतिनिधि, कानुन निर्मातालाई ठेकेदार बनाउन खोजेर गलत गरिएको बताएका थिए। विगतमा रास्वपा सांसदको सिफारिसमा बजेट दिन नहुने पक्षमा उभिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad