झण्डै २ वर्षअघि निर्देशक लक्ष्मण सुनारलाई निर्माता सुशील पोखरेलले बोलाएर भने, नयाँ फिल्म गरौँ। कथा मन परेपछि लक्ष्मणले पनि निर्देशकको रुपमा सम्झौता गरे। फिल्म बनाउने तयारी भइरहेको थियो। तर, एकदिन निर्माता पोखरेलले अचानक अर्को फिल्मको लागि प्रस्ताव गरे। फिल्मको शीर्षक थियो : ‘परालको आगो’।
नाम सुन्नासाथ लक्ष्मणको दिमागमा झट्ट पुरानो फिल्म ‘परालको आगो’को पोस्टर याद आयो। त्यसपछि लक्ष्मणले पोखरेललाई भने: ‘यो त धेरै पुरानो फिल्म हो दाइ, मैले गर्दा बिग्रेला कि?’
‘गाउँको स्टोरी हो। तपाईंकै जनराको कथा भएकाले तपाईंले मजाले सक्नुहुन्छ,’ निर्माता पोखरेलले जवाफ फर्काए। र, चारपाँच दिन सोच्न समय दिए।
यसअघि लक्ष्मणले कर्णालीको जारी प्रथामा फिल्म ‘बुलाकी’ बनाएका थिए। जुन सामाजिक कथावस्तुको फिल्मले राष्ट्रिय अवार्ड समेत पाएको थियो। जसकारण निर्माता उनले गाउँको कथामा राम्रो फिल्म बनाउनेमा ढुक्क थिए।
कोटेश्वरको धुलो र कोलाहल। जहाँबाट कोठा लोकन्थलीतर्फ जाँदा लक्ष्मणको दिमागमा द्वन्द्व चलिरहेको थियो। एकातिर गुरुप्रसाद मैनालीको अमर कृति। अर्कोतर्फ निर्माताको आफूप्रति गरेको विश्वास। त्यसैले निकै गम्भीर बनेका उनले बाटोमा कथासंग्रह ‘नासो’ किने। हातमा कथासंग्रह थियो। र, मनमा एउटा गह्रौँ प्रश्न: के म यो इतिहासलाई न्याय गर्न सक्छु?
घर पुगेर त्यसै रात किताब पढे। प्रताप सुब्बाले बनाएको ‘परालको आगो’ खोजेर हेरे। त्यसपछि बल्ल लक्ष्मणमा आत्मविश्वास पलायो।
‘त्यो बेलाको प्रविधि र कथाभन्दा अहिले केही राम्रो र फरक गर्न सक्छौँ भन्ने लाग्यो। त्यसपछि मैले ओके भनेँ,’ उनले भने।
‘परालको आगो’ले ग्रामीण जीवन र श्रीमान–श्रीमतीको कलहलाई समेटेको छ। चार दशकपछि त्यही क्लासिक कथालाई नयाँ स्वरूपमा ल्याउनु चुनौती थियो। त्यसैले उनी निर्मातालाई थाहा नदिई सिधै रारा पुगे। फिल्मको लागि मुड तयार गर्न र कथालाई दृश्यमा कसरी उतार्ने भन्ने सोच्न उनी केही समय एकान्तमा हराउन चाहन्थे।
‘निर्मातालाई थाहा नदिई रारा गएँ। सम्झौता त भइसकेको थियो। तर कसरी गर्ने भन्ने कुरा मनमा खेलिरहेको थियो। त्यहाँ बसेर मुड फ्रेस गरेँ। कथालाई पर्दामा कसरी ल्याउनेबारे सोचें,’ उनले सुनाए।

फिल्मको कथासँगै निर्देशकको नमिठो बाल्यकाल जोडिएको छ। जुन भोगाइले उनलाई पर्दामा भावना उतार्न झन् सजिलो बनायो।
‘म घरको जेठो छोरा। मेरो बुवा एकदमै रक्सी खानुहुन्थ्यो। उहाँ केही न केही निहुँमा आमासँग झगडा र गाली गर्नुहुन्थ्यो। त्यो देखेर हुर्केको मान्छे हुँ म। मेरो त्यो नराम्रो समय पनि हो। कहीँ न कहीँ त्यो देखिरहेको भएर ‘परालको आगो’मा काम गर्न सहज भयो,’ उनले दुःखी हुँदै सुनाए।
यसअघिको फिल्म ‘बुलाकी’ बक्सअफिसमा फ्लप भएको थियो। त्यसैले यसपटक निर्देशक सुनार सचेत थिए। उनी व्यावसायिक पक्षलाई ध्यान दिँदै कथामा काम गर्न थाले।
‘दर्शक कहाँ इमोसनल हुन्छन् र आफूलाई रिलेट गर्छन्’ भन्ने सोच्दै ड्राफ्ट बनाए। करिब एक वर्षको स्क्रिप्ट ड्राफ्टिङपछि फिल्म तयार भयो।
१९९० दशकको सेटिङमा कथा खिच्नुपर्ने थियो। जसका लागि म्यादीको धारापानीमा फिल्म सुटिङ गरियो। सकेसम्म फिल्ममा आफूले पुरानो सेटिङ ल्याउन खोजेको उनले बताए।
प्राविधिक हिसाबले तारबाहेक भीएफएक्सको प्रयोग गरिएको छैन।
‘मेकिङमा निकै मेहनत गरिएको छ। दृश्यको क्यानभासलाई ठूलो बनाउन र मेकिङमा निकै ध्यान दिएका छौँ,’ उनले भने।
पुरानो फिल्म र नयाँमा के फरक छ भन्ने प्रश्नमा लक्ष्मणले कथाको गहिराइमा फरकपन भएको दाबी गरे।
‘मूल कथामा चामे र गौँथलीको सम्बन्धलाई सतहमा देखाइएको भए पनि नयाँ फिल्मले महिलाको दृष्टिकोणलाई केन्द्रमा राखेको छ,’ उनको भनाइ छ।
त्यस्तै, महिलाले पुरुषप्रधान समाजबाट भोग्नुपरेको हेपाहा प्रवृत्तिलाई गहिराइमा पुगेर पर्दामा उतार्ने कोसिस गरेको बताउँछन् उनी।
‘महिलाले पुरुषप्रधान समाजबाट भोग्ने जुन हेपाहा प्रवृत्ति छ, त्यसको गहिराइमा हामी पुग्ने कोसिस गरेका छौँ। सिनेमा हेरेपछि चामे पात्र पनि समाजका केही पात्रलाई रिलेट गर्छ,’ सुनारले भने, ‘परालको आगो भन्ने कथा हरेकको घर–घरमा छ। श्रीमान् नराम्रो हुँदा पनि घर भत्किन्छ, श्रीमती नराम्रो हुँदा पनि घर भत्किन्छ। त्यसैले दुवैको प्रयासमा मात्र घर बन्छ। हामीले यही भावनात्मक पक्षलाई सिनेमामा समेटेका छौँ। पहिलेको कथाको रङ नमर्नेगरी गहिराइमा काम गरेका छौँ।’

यस फिल्मले सम्बन्ध बचाउन पहिले जस्तो सहज छैन भन्ने सन्देश दिने उनले सुनाए।
‘पहिलेका सम्बन्धहरू भावनात्मक थिए, अहिले डिजिटल भए। एकदम स्विङ भइरहेको छ। अहिलेको माहोलमा पनि श्रीमान–श्रीमतीको झगडा कसरी हुन्छ र कसरी निभ्छ भन्ने कुरा छ। जसमा हामीले भावनात्मक कसरी जोड्न सकिन्छ भनेर काम गरेका छौँ। यो विवाहित र १९९० को दशकको जेनेरेसनलाई एकदम रिलेट गर्छ। एउटा घर बनाउन श्रीमान–श्रीमती दुवैको कोसिस चाहिन्छ। कसैको पनि कमजोरीले घर भत्कन सक्छ भन्ने सन्देश फिल्मले दिन्छ,’ सुनारले प्रस्ट पारे।
निर्देशक सुनारका अनुसार फिल्मको नाम नाम मात्र होइन, यो एउटा ब्रान्ड पनि हो। एउटा स्थापित कृतिबाट प्रभावित भएर काम गर्दा त्यसले दर्शकलाई फिल्मसँग छिटो जोड्न मद्दत गर्छ। त्यसैले आफूले फिल्मको शीर्षक पुरानै राखेको उनले स्वीकारे।
‘जहिल्यै पनि कमर्सियल सिनेमा बनाउँदाखेरी दर्शकसँग रिलेट हुने नाम र ब्रान्ड हेरिन्छ। किनकि सिनेमालाई ब्रान्डिङ गर्नलाई पनि निकै खर्च हुन्छ। त्यसैले कस्तो टाइटल राख्ने कुराले धेरै म्याटर गर्छ,’ उनले भने, ‘अर्को चाहिँ हामीले चर्चित कृतिबाट नाम लिँदा ठूलो भारी र जिम्मेवारी बोकेको महसुस हुँदोरहेछ। यसलाई सही ठाउँमा बिसाउनुपर्छ भन्नेमा हामी सचेत छौँ।’
फिल्मले नारीको वेदना, उनको आत्मसम्मान र माइतीप्रतिको मायालाई निकै मार्मिक ढङ्गले प्रस्तुत गरेको निर्देशकको दाबी छ। मूल सन्देश भने श्रीमान–श्रीमतीबीचको सम्बन्धमा केन्द्रित रहेको उनले बताए।
‘आजको समयमा स–साना कुराले सम्बन्धहरू टुटिरहेका छन्। क्षणिक आवेगले जिन्दगी बर्बाद भइरहेका छन्। अहिलेको परिवेशमा सम्बन्धहरू परालको आगो जस्तै हुनुपर्छ, जो एकछिनमै बलोस् र निभोस्। मनमा भित्रभित्रै गुम्सिने भुसको आगो बनेर सम्बन्ध नबिग्रियोस् भन्ने नै हाम्रो मुख्य उद्देश्य हो,’ उनी भन्छन्।
सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा र सिर्जना अधिकारीसँग काम गर्दा निकै सहज भएको निर्देशकको अनुभव छ। विशेषगरी सुहानाको अध्ययनशील स्वभाव र मेहनतको उनले खुलेर तारिफ गरे। ‘परालको आगो’ वैशाख ११ गतेबाट रिलिज हुँदैछ।
सुर्खेत घर भएका निर्देशक सुनार ‘रेलको बाटो’सहितका म्युजिक भिडियोबाट चर्चित भएका थिए। निर्देशकका हिसाबले यो तेस्रो फिल्म हो। ‘बुलाकी’पछि सुनारले ‘कल्ली’ बनाएका थिए। जुन रिलिज हुन बाँकी नै छ।
Shares

प्रतिक्रिया