जेनजी आन्दोलन र वर्तमान सत्ताविरुद्ध निरन्तर आक्रोश र आरोप व्यक्त गरिरहेका पार्टीका कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’विरुद्ध नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कवितामार्फत कटाक्ष गरेका छन्।
उपमहासचिव भट्टराईले बिहीबार बिहान सामाजिक सञ्जालमा बादलका विषयमा ‘छोटकरी कविता’ लेखेका हुन्।
यस्तो छ उनको कविता-
छोक (छोटकरी कविता)
बादल मडारियो
मुसलधारे वर्षा भयो
जबज निथ्रुक्कै भिज्यो
मदन तीन छक्क पर्नुभयो।
हामी हेरेको हेर्यै भयौँ!
(स्वाट्ट बिउँझिएको त कोठामा घाम छिरिसकेको रहेछ)
गत बिहीबार प्रतिनिधिसभाको बैठकमा कार्यवाहक अध्यक्ष एवम् संसदीय दलका नेता बादलले दिएको अभिव्यक्तिबारे भोलिपल्ट शुक्रबार बसेको एमाले सचिवालय बैठकमा गम्भीरतापूर्वक छलफल गरेको थियो।
त्यसपछि एमालेले बादलको अभिव्यक्ति सच्याउँदै विज्ञप्तिमार्फत सबै सुरक्षा निकाय, निजामती प्रशासन (ब्यूरोक्रेसी) र अन्तराष्ट्रिय समुदायप्रति पार्टीको सम्बन्ध पूर्ववत् एवम् मित्रवत् रहेको र यस्तो सम्बन्ध भविष्यमा अझ सुदृढ हुने बताएको थियो।
तर यसपछि पनि बादल रोकिएका छैनन्।
हिजो (बुधबार) मात्र उनले बालेन्द्र शाह नेतृत्वको सरकारलाई बारबरा सरकारको उपमा दिँदै पश्चिमा शक्तिहरूले नै यो सरकार निर्माण गरेको गम्भीर आरोप लगाएका छन्।
Shares

प्रतिक्रिया