नेकपा (एमाले) ले सबै सुरक्षा निकाय, निजामती प्रशासन (ब्यूरोक्रेसी) र अन्तराष्ट्रिय समुदायप्रति पार्टीको सम्बन्ध पूर्ववत् एवम् मित्रवत् रहेको र यस्तो सम्बन्ध भविष्यमा अझ सुदृढ हुने स्पष्ट पारेको छ।
शुक्रबार बसेको पार्टी सचिवालय बैठकपछि एमालेले यस्तो निष्कर्षसहित पार्टीको धारणा स्पष्ट पारेको हो।
बिहीबार पार्टीका कार्यवाहक अध्यक्ष एवम् संसदीय दलका नेता रामबहादुर थापा बादलले दिएको अभिव्यक्तिबारे बैठकमा गम्भीरतापूर्वक छलफल गरी एमालेले आफ्नो ‘पोजिसन’ सार्वजनिक गरेको हो।
बादलको सम्बोधनमा गत भदौ २३ र २४ गतेको घटना तथा राष्ट्रिय स्वतन्त्र पार्टीको विजयलाई ‘तिलस्मी’ बताउँदै यसमा विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, नेपाली सेना, कर्मचारीलगायतको भूमिकामाथि प्रश्न उठाइएको थियो।
त्यसप्रति एमालेकै शीर्ष नेताहरूले आपत्ति जनाएका थिए।
शुक्रबार बसेको सचिवालय बैठकपछि महासचिव शंकर पोखरेलद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्रीमा निर्वाचित बालेन्द्र शाहसहित सबै जनप्रतिनिधिप्रति बधाई ज्ञापन गरिएको छ।
‘बैठकले मुलुकको संविधान र प्रचलित कानुनबमोजिम निर्माण भएका नेपाली सेनालगायत राज्यका सबै सुरक्षा निकाय, निजामती प्रशासन (ब्यूरोक्रेसी) र अन्तराष्ट्रिय समुदायप्रति हाम्रो पार्टीको सम्बन्ध पूर्ववत् एवम् मित्रवत् रहेको र यस्तो सम्बन्ध भविष्यमा अझ सुदृढ बनाइने कुरा स्पष्ट पारेको छ’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैगरी, बैठकले गत २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको सङ्क्षिप्त समीक्षा गरेको छ र निर्वाचनमार्फत अभिव्यक्त भएको जनमतलाई सम्मान गर्दै विजयी हुनुभएका सम्पूर्ण माननीयज्यूहरूलाई बधाई ज्ञापन गरेको छ। भारी बहुमतका साथ आफ्नो नेतृत्वमा सरकार गठन गर्न सफल हुनुभएकोमा सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह र उहाँको नेतृत्वको मन्त्रिपरिषद्लाई बधाई ज्ञापन गरेको छ। निर्वाचनमा सहभागी सम्पूर्ण मतदाता, निर्वाचन आयोग, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी, निर्वाचन प्रहरी, पर्यवेक्षक, सञ्चारकर्मी, नागरिक समाजलगायत सम्बद्ध सबैलाई धन्यवाद ज्ञापन गरेको छ।’
विज्ञप्तिको पूर्णपाठ
आज नेकपा (एमाले) केन्द्रीय सचिवालयको सातौं बैठक कार्यबाहक अध्यक्ष कमरेड रामबहादुर थापाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, च्यासल ललितपुरमा सम्पन्न भयो । बैठकले निम्न प्रस्ताव पारित गरिएको छः
१) यही २०८२ चैत १८ गते सम्पन्न नेकपा (एमाले), संसदीय दल नेताको निर्वाचनका सम्बन्धमा सार्वजनिक सञ्चारमाध्यममा आएका प्रतिक्रियाहरू प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। दल नेताको निर्वाचन दलको विधानबमोजिम लोकतान्त्रिक विधिका साथ सम्पन्न भएको हो। निर्वाचन समितिले निर्धारित प्रक्रिया पुरा गरेर पार्टीका उपाध्यक्ष तथा माननीय रामबहादुर थापालाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो। यो बैठक उक्त निर्वाचनमा पार्टीका तर्फबाट कुनै पनि प्रकारको निर्देशन, नियन्त्रण वा हस्तक्षेप भएको थिएन भन्ने कुरा सबैलाई स्पष्ट पार्न चाहन्छ। र, लोकतान्त्रिक विधिबाट तय भएको यस निर्णयलाई सम्मान गर्न र सार्वजनिक रूपमा अन्यथा टिप्पणी वा गतिविधि नगर्न समस्त पार्टीपङ्क्तिलाई आह्वान गर्दछ । यस निर्वाचनका सम्बन्धमा पार्टीपङ्क्ति, खासगरी युवापङ्क्तिबाट प्राप्त भएका सकारात्मक सुझावहरूलाई पार्टीले गम्भीरतापूर्वक लिएको छ।
बैठकले दल नेतामा सर्वसम्मतिका साथ निर्वाचित हुनुभएकोमा कमरेड रामबहादुर थापालाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना ब्यक्त गरेको छ।
२) बैठकमा यही २०८२ चैत १९ गते सम्पन्न प्रतिनिधिसभाको पहिलो बैठकमा संसदीय दलका नेताले गर्नुभएको सम्बोधनका सम्बन्धमा गम्भीरतापूर्वक छलफल भयो।
बैठकले मुलुकको संविधान र प्रचलित कानुनबमोजिम निर्माण भएका नेपाली सेनालगायत राज्यका सबै सुरक्षा निकाय, निजामती प्रशासन (ब्यूरोक्रेसी) र अन्तराष्ट्रिय समुदायप्रति हाम्रो पार्टीको सम्बन्ध पूर्ववत् एवम् मित्रवत् रहेको र यस्तो सम्बन्ध भविष्यमा अझ सुदृढ बनाइने कुरा स्पष्ट पारेको छ।
त्यसैगरी, बैठकले गत २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको सङ्क्षिप्त समीक्षा गरेको छ र निर्वाचनमार्फत अभिव्यक्त भएको जनमतलाई सम्मान गर्दै विजयी हुनुभएका सम्पूर्ण माननीयज्यूहरूलाई बधाई ज्ञापन गरेको छ। भारी बहुमतका साथ आफ्नो नेतृत्वमा सरकार गठन गर्न सफल हुनुभएकोमा सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह र उहाँको नेतृत्वको मन्त्रिपरिषद्लाई बधाई ज्ञापन गरेको छ। निर्वाचनमा सहभागी सम्पूर्ण मतदाता, निर्वाचन आयोग, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी, निर्वाचन प्रहरी, पर्यवेक्षक, सञ्चारकर्मी, नागरिक समाजलगायत सम्बद्ध सबैलाई धन्यवाद ज्ञापन गरेको छ।
३) बैठकले नेकपा (एमाले) नेता, कार्यकर्ता तथा शुभेच्छुकहरू, विशेषगरी महिला दिदीबहिनीहरू विरूद्ध भइरहेको लगातारको साइबर आक्रमणको घोर निन्दा एवम् भ्रत्सना गरेको छ। साथै नियोजित आक्रमणको विरूद्ध कडारूपमा प्रतिवादमा उत्रिन र कानुनी उपचारमा सक्रिय हुन समस्त पार्टीपङ्क्तिलाई आह्वान गरेको छ। त्यसैगरी, साईबर आक्रमणमा संलग्नहरूलाई कानुनबमोजिम कारबाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरेको छ।
४) बैठकले वर्तमान सरकारको विधार्थी संगठनहरू खारेज गर्ने र उनीहरूमाथि प्रतिबन्ध लगाउने निर्णयको कडा शब्दमा विरोध गरेको छ र सरकारलाई अविलम्ब यस निर्णयबाट पछि हट्न ध्यानाकर्षण गराएको छ।
५) सरकारी विज्ञापन सरकारी सञ्चार माध्यमहरूलाई मात्र दिने सरकारको निर्णयप्रति बैठकको गम्भीर ध्यानाकर्षण भएको छ। बैठकले स्वतन्त्र प्रेसको भूमिकालाई कमजोर पार्ने र प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने सरकारको यस निर्णयको कडा शब्दमा विरोध गरेको छ र यो निर्णय तत्काल फिर्ता लिन माग गरेको छ।
६) पश्चिम एशियमा जारी हिंसाका कारण बीसौं लाख नेपालीहरू असुरक्षित बनेका छन्। हिंसाकै कारण एक नेपालीको मृत्यु भइसकेको छ भने ठूलो संख्यामा नेपाल फर्कन चाहनेहरू चिन्तित अवस्थामा छन्। बैठकले उनीहरूको सुरक्षाको सुनिश्चितता गर्न र स्वदेश फर्किन चाहनेहरूलाई सुरक्षित तबरले फर्कने व्यवस्था मिलाउन सरकारसमक्ष जोडदार माग गरेको छ।
शंकर पोखरेल
महासचिव
Shares

प्रतिक्रिया