राजनीति


फेरि गर्जिए बादल– भदौको त्यो 'टीओबी' र दलाई लामाको बधाई किन?

‘पार्टीभित्रका दुस्मन बाहिर निस्किए’
फेरि गर्जिए बादल– भदौको त्यो 'टीओबी' र दलाई लामाको बधाई किन?

नेपालखबर
चैत २५, २०८२ बुधबार २०:४४, काठमाडौँ

नेकपा एमालेका कार्यवाहक अध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा बादलले बालेन्द्र साह नेतृत्वको सरकारलाई बारबरा सरकारको उपमा दिँदै पश्चिमा शक्तिहरूले नै यो सरकार निर्माण गरेको गम्भीर आरोप लगाएका छन्। 

‘भाद्र २३ र २४ को घटनामा टीओबीहरू किन देखा परे? फ्रि तिब्बतको नारा किन लगाए? दलाई लामाको सरकारले किन बारबरा सरकारलाई शुभकामना दियो?,’बुधबार पोखरामा आयोजित एमाले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने,‘ यहाँ कतिपय डीपस्टेट पश्चिमी शक्तिहरूको रुचि थियो, उनीहरू नेपालमा सैनिक अड्डा बनाउन चाहन्छन्। सत्तामा बस्नेहरूले त्यो प्रस्ताव मानेनन्। एसपीपी भनेको नेपाललाई नेटोको सदस्य भनेको जस्तै हो। त्यो सैनिक अड्डा किन बनाउन चाहन्थे भन्दाखेरि उनीहरू नेपालको रिसोर्सेसहरू कब्जा गर्न चाहन्छन् र छिमेकी मुलुकलाई विखण्डन गर्न चाहन्छन्। तिब्बतमा विद्रोह गराउन चाहन्छन्।’ 

भाद्र २३ र २४ गतेको तख्तापलटपछि बारबरा फाउन्डेसनको सरकार बनाइएको दाबी गर्दै उनले अगाडि भने,‘त्यहीँ हामी हारिसकेका थियौँ। त्यसको समीक्षा पार्टीले गरेको छ। त्यसको बस्तुसंगत विश्लेषण गरेको छ। त्यो क्रान्ति हैन त्यो त डीपस्टेटद्वारा प्रायोजित निर्वाचित सरकारको तख्ता पल्टाइएको हो।’

उनले त्यो शक्तिले नेपालसहित बंगलादेश र अन्य केही मुलुकमा पनि आफू अनुकूलको सरकार ल्याउन यस्तै अभियान चलाएको जिकिर पनि गरे। 

कार्यवाहक अध्यक्ष बादलले भदौ २३ र २४ को  घटना योजनाबद्ध रहेको र त्यही अभियानको क्रममा नेताहरूको निवास छानिछानी जलाएको जिकिर पनि गरे। 

‘किन नेकपा एमालेका कार्यालय जलाइयो? हाम्रो अध्यक्षको निवासहरू जलाइयो, माओवादीको अध्यक्षको निवास किन जलाइयो? कार्यालय किन जलाइयो? कांग्रेसको कार्यालय किन जलाइयो? तिनका नेताहरूका निवासहरू किन जलाइयो? किन उनीहरूमाथि भौतिक सांघातिक आक्रमण गरियो?,’उनले भने,‘ त्यो लामो तयारीको साथमा एउटा डिजाइनमा गरिएको थियो।’

यो सरकारले एसपीपी पास गर्छन् कि गर्दैनन् भन्ने हेर्नुपर्ने पनि बताए। 

उनले अगाडि थपे, ‘बाह्य सेनालाई यहाँ आएर चलखेल गर्न दिन्छन् त? यहाँ उत्तरको विरोधमा गतिविधि बढेमा भने चीन चुप लागेर बस्छ त? टीओबीहरू किन उफ्रे नि? जसरी दलाई लामाले शुभकामना दिए नि, किन दिएको? नेपाललाई सैनिक अड्डा बनाउने, तालिम दिने अनि खम्पा विद्रोह गराउने र तिब्बतलाई फ्रि बनाउने उद्देश्य छ।’

पार्टीभित्रका दुस्मनहरुले पनि रुप देखाए 
उनले आफूले संसदमा बोलेको कुरा नै पार्टीको आधिकारिक लाइन भएको जिकिर पनि गरे। 

‘संसदको पहिलो बैठकमा जे कुरा भनेँ त्यो कुरालाई लिएर केन्द्रीय सचिवालयको बैठक बस्यो। त्यसले एउटा वक्तव्य जारी गर्‍यो। त्यो वक्तव्यले अर्को कन्फ्युजन क्रियट गरेको छ। किनकि पार्टीको उपाध्यक्षले सार्वजनिक रुपले जुन धारणा राख्यो, त्यो पार्टीको नीति विपरीत छ। हेर्नुस् है, अन्तरसंघर्षको स्थिति छ। भित्र लुकेका थिए, बाहिर निस्के,’उनले भने,‘ त्यो पार्टीको लाइन बोलेको हो। पार्टीको निर्णयलाई दृढतापूर्वक लागू गरेको हो। देश र जनताका दुस्मनलाई बोल्ड्ली प्रहार गरेको हो। ठूलो आक्रमण गरेको हो। त्यो आक्रमणपछि भित्रका दुस्मन पनि बाहिरका दुस्मन पनि एकजुट भए।’

आफ्नो भनाइप्रति असहमति जनाउनेहरुलाई भित्रका दुस्मनको संज्ञा दिएका बादलले अहिलेको आन्दोलनको मुख्य लक्ष्य भनेको अध्यक्ष केपी ओलीलाई जेलबाट मुक्त गर्नु रहेको बताए। 

उनले भने,‘अध्यक्ष कमरेडलाई कैदबाट मुक्त गर्ने लक्ष्य हो। त्यसको लागि संघर्षको योजना बनाइएको छ। कमरेडहरुले आ–आफ्नो ठाउँबाट दुस्मनको घेरा तोड्नुहुने छ। नेतृत्व परिवर्तन गर्न साँच्चै चाहने हो? नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने हो भने त्यसमा अन्तरसंघर्ष गर्नुपर्‍यो, पार्टीमा कुरा राख्नुपर्‍यो, विशेष वा महाधिवेशन माग गर्नुपर्‍यो।’ 

उनले अगाडि भने, ‘अहिले पार्टीका अराजकतावादीहरू, दक्षिणपन्थीहरूले नेतृत्वलाई घेराबन्दी गर्न खोजेका छन्, त्यसलाई तोड्नुपर्छ ,त्यसलाई छुट दिन सकिँदैन। बाहिरबाट घेराबन्दी गरेर कैद गरिसकिएको छ। आन्तरिक रुपले पनि घेराबन्दी गरिन्छ भने यो अराजकतावादीको पराकाष्ठा हो। हाम्रा अध्यक्षलाई कैद गरेर सिध्याउन खोज्नेहरुलाई बल पुग्छ। पराजयको गम्भीर समीक्षा गर्न जरुरी छ। सर्कुलर पनि गरिएको छ। कमजोरी भएकाले नै हामीले हार खाएको हो, यो त स्वीकारेकै छ। केन्द्रीय कमिटीको बैठक बोलाउने भनेकै छ।’ 

नेता बादलका अनुसार अहिले पार्टी भित्र र बाहिर दुर्वतर्फ संघर्ष गर्नुपर्ने अवस्था आएको छ। 

‘पहिले जस्तो अराजकता देखिएको छ, त्यसलाई परास्त गर्नुपरेको छ। त्यो घेरालाई तोड्नु जरुरी छ। विजय संघर्षबाट मात्र प्राप्त हुन्छ’ उनले भने, ‘निरन्तर सदन र सडकबाट आन्दोलन जारी राख्नुपर्छ। फेरि जनताको सत्ता, देशभक्तको सत्ता कायम नभएसम्म संघर्ष जारी राख्नुपर्छ। अहिले पनि हामी आन्दोलनमै छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad