नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा भएको हारको पछाडि कम्युनिस्टलाई समाप्त पार्न खोज्ने पश्चिमा षड्यन्त्र रहेको समीक्षा गरेका छन्।
निर्वाचनको समीक्षा गर्न नेकपा केन्द्रीय कार्यालय, पेरिसडाँडामा सोमबारदेखि केन्द्रीय कार्य संयोजन समितिको सुरु भएको बैठकमा बोल्ने नेताहरूले सो धारणा राखेका हुन्।
पहिलो दिन सात घण्टा चलेको बैठकमा नेकपा नेताहरूले डेढ घण्टासम्म बोलेका छन्। जसमा झलनाथ खनाल, अग्नि सापकोटा, वामदेव गौतम, जगन्नाथ खतिवडा, किरण पुन, भानुभक्त जोशी, प्रेमबहादुर सिंह, सुनिल मानन्धरलगायत १० भन्दा बढी नेताले निर्वाचनबारे आफ्नो धारणा राखेका थिए।
बैठकमा सहभागी नेताहरूका अनुसार, जेनजी आन्दोलनदेखि लिएर निर्वाचनसम्मका गतिविधिले साम्राज्यवादी षड्यन्त्र प्रष्ट देखिने तर्क गरेका हुन्। बैठकमा बोल्दै नेकपा नेता जगन्नाथ खतिवडाले जेनजी आन्दोलनका नाममा साम्राज्यवादीले नेपालमा प्रभाव बढाएको जिकिर गरे।
‘यिनीहरू जसरी अगाडि बढे, कम्युनिस्ट आन्दोलनलाई समाप्त नपारी यिनीहरू रोकिनेवाला छैनन्,’ बैठकमा खतिवडाले राखेको धारणा उद्धृत गर्दै एक नेताले नेपालखबरसँग भने, ‘यसको राजनीतिक प्रतिवाद जरुरी छ।’
त्यस्तै, पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमसीसीदेखि प्रतिनिधि सभाको निर्वाचनसम्मका घटनाक्रमबारे विवेचना गरेका थिए। त्यसक्रममा उनले कम्युनिस्ट पार्टीहरूबाट पनि कमजोरी भएको बताए। एमसीसी पारित गर्नेदेखि सत्तालोलुप प्रवृत्तिले कम्युनिस्ट आन्दोलन कमजोर भएको उनको तर्क थियो। उनले नाम नलिएर नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाललाई भनेका थिए।
अब कम्युनस्ट आन्दोलनलाई नयाँ ढंगबाट अघि बढाउनुपर्ने बताउँदै खनालले भने, ‘प्रधान राजनीतिक अन्तरविरोध किटान गरेर जानुपर्छ।’ खनाल डेढ घण्टा बोलेका थिए।
नेकपा संयोजन समिति सदस्य दिनानाथ शर्माले नेकपा (एमाले) सँग पनि पार्टी एकताबारे बैठकमा छलफल भएको जानकारी दिए।
उनले पार्टी एकता आफूहरूको चाहना भएपनि एक पक्षको चाहनाले मात्रै नहुने भन्दै अहिले भइरहेको पार्टी एकतालाई संगठित र सुदृढ बनाउँदै एमालेसँग पनि एकताका लागि पहल गर्ने बताए।
‘एकता एक हातले हुँदैन, एक हातले ताली बज्दैन। हामीले मात्रै चाहेर हुँदैन। अर्को पक्षले पनि चाहनुपर्यो’ उनले भने, ‘संगठन बनाउने र भएको एकतालाई सुदृढ गर्ने। तर एकताका लागि हाम्रो ढोका त जहिले पनि खुला छ नि।’
बैठक बोलेका अन्य नेताहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जेनजी आन्दोलनको प्राधिकारीका रुपमा प्रस्तुत गरिएको बताए। जेनजी आन्दोलनमा जेलबाट निकाल्नेदेखि सरकारले मुद्दा फिर्ता लिनेसम्मका कार्य साम्राज्यवादीकै योजना अन्तर्गत भएको उनीहरूको दाबी थियो।
उनीहरूले रास्वपा सभापति लामिछानेलाई संयोजक प्रचण्डले पटकपटक साथ दिँदा आफैप्रति नकरात्मक माहोल बन्दै गएको टिप्पणी गरेका थिए।
नेकपा संयोजक प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय कार्य संयोजन समितिका ४५ जना सदस्य उपस्थित थिए। सोमबार बिहान ११ बजे सुरु भएको बैठक साँझ ६ बजेसम्म चलेको थियो।
नेताहरूले बोल्ने क्रम जारी रहेको छ। मंगलबार थप नेताहरूले बोल्नेछन्। सबै नेताले बोलिसकेपछि नेकपाले थप रणनीतिसहित अपानी जारी गर्ने भएको छ।
Shares

प्रतिक्रिया