अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसका निहुँमा फेरि चीनसँग रुष्ट हुँदै सम्बन्ध नै तोड्ने धम्की दिएका छन्।
ट्रम्पले यसअघिदेखि नै कहिले चीनले जानीजानी कोरोना भाइरस फैलाएको त कहिले सुरुमै वास्तविक जानकारी नदिएर धोका दिएकोजस्ता आरोप लगाइरहेका छन्।
यसै क्रममा चीनविरुद्ध उनको पछिल्लो अभिव्यक्ति आएको हो।
बीबीसी हिन्दीका अनुसार ट्रम्पले एक अन्तर्वार्तामा भनेका छन्, ‘चाह्यौं भने हामी धेरै कुरा गर्न सक्छौं, चीनसँग सम्बन्धै अन्त्य गर्न सक्छौं।’
उनले आफैं सवाल जवाफ गर्दै भने, ‘सबै किसिमका सम्बन्ध तोडियो भने के होला? झन् ५०० अर्ब डरल नै बच्छ।’
उनले यसो भनेर चीनसँग द्विपक्षीय व्यापारमा अमेरिकाले बेहारेको ठूलो घाटाप्रति संकेत गरेका हुन्।
चीनले केही समय कोरोनाका कारण भएको क्षतिको पूर्ति दिनुपर्ने अमेरिकाले माग गरिरहेको छ।
तर धेरैको विश्लेषण के छ भने ट्रम्पको चीनविरोधी अभिव्यक्ति आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको चुनावमा आफूलाई अब्बल देखाउने रणनीति हो।
कोरोना भाइरसबाट अहिले विश्वमै सबैभन्दा बढी अमेरिका पीडित भइरहेको छ। अमेरिकाकै जाेन हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा काेराेनाबाट ८५ हजारभन्दा बढीकाे मृत्यु भइसकेकाे छ भने १४ लाख १३ हजारभन्दा बढी संक्रमित भइसकेका छन्।
प्रतिक्रिया