नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको संस्थापन इतर पक्षले अगाडि बढाएको समानान्तर गतिविधिले पार्टीलाई न्याय नगर्ने बताएका छन्।
पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा र शेखर कोइराला समूहले पार्टीभित्रको असहमतिलाई आत्मकेन्द्रित र समानान्तर गतिविधिमा रूपान्तरण गरेको भन्दै यसले पार्टीलाई न्याय नगर्ने बताए।
संस्थापन इतर पक्षले धुम्बाराहीमा आजबाट १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक कार्यवहाक सभापतिको हैसियतमा पूर्णबहादुर खड्काले सुरु गरेपछि प्रवक्ता चालिसेले यस्तो प्रतिक्रिया दिएका हुन्।
‘प्रजातान्त्रिक पार्टीमा फरक मत र असहमति व्यक्त गर्नु स्वाभाविक मानिन्छ। यसले नै संस्थागत निर्णयहरूलाई थप परिपक्व र बलियो बनाउँछ,’ उनले लेखेका छन्, ‘तर जब यो असहमति पार्टीभित्रको मर्यादित संवादबाट बाहिर निस्केर आत्मकेन्द्रित, समानान्तर गतिविधिमा रूपान्तरण हुन्छ, तब यसले पार्टीलाई न्याय गर्दैन।’
महाधिवेशन नजिकिँदै भन्दै आफ्ना स्पष्ट योजना, ठोस तर्क र सकारात्मक ऊर्जासहित कार्यकर्ताको मन जित्न लाग्नु सबैका लागि श्रेयस्कर हुने उनको भनाइ छ।
‘नेतृत्वको बाटो विधानअनुसार खुला छ। पार्टीको अनुशासन सबैले पालना गर्नुपर्छ। आजका कर्मले भोलि आफैँलाई लज्जित नपारोस् भन्ने सोचका साथ अघि बढौँ,’ उनी लेख्छन्।
देउवा कोइराला समूहको बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा, १५औँ महाधिवेशन लगायतका विषयमाथि छलफल भइरहेको छ। १४औँ महाधिवेशनमा निर्वाचित अधिकांश केन्द्रीय सदस्य बैठकमा सहभागी छन्।
Shares

प्रतिक्रिया