प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले आवश्यक स्वास्थ्य सामग्रीको यथासिघ्र व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ।
बिहीबार बसेको समिति बैठकले कोरोना रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्था गर्दै कन्ट्रयाक्ट ट्रेसिङलाई जोड दिन निर्देशन दिएको हो। पीसीआर, पीपीई, मास्क, थरमल गन लगायतका उपकरण, औषधि र दक्ष जनशक्तिको व्यवस्थापन व्यापक र यथासिघ्र गर्न समितिले सरकारलाई सुझाव दिएको हो। समितिले आइसोलेसन बेड, भेन्टीलेटरहरुको थप व्यवस्था गर्नुपर्ने र अन्य बिरामीहरुले खानुपर्ने औषधिमा कुनै अभाव हुन नदिने कुरामा जोड दिन पनि निर्देशन दिएको सभापति जयपुरी घर्तीले बताइन्।
सर्वसाधारणहरुलाई सर्वसुलभ रुपमा मास्क र स्यानिटाइजरको व्यवस्था मिलाउन पनि समितिले निर्देशन दिएको छ। परीक्षणको दायरा तिव्र पार्दै प्रदेश र स्थानीय सरकारलाई तत्काल स्वास्थ्य सामग्रीको व्यवस्था गर्न पनि समितिले निर्देशन दिएको छ। समितिले विदेशमा रहेका नागरिकलाई नेपाल ल्याउन क्वारेन्टिन र आइसोलेसनसहित आवश्यक सुरक्षा प्रवन्ध मिलाउन र विदेशमै बस्न चाहानेलाई सम्बन्धित देशसँग समन्वय गरी उचित व्यवस्थापन र तयारी गर्न पनि निर्देशन दिएको छ।
यस्तै लक डाउनका कारण अलपत्र परेका मजदुर, विद्यार्थी र नागरिकहरुको सहित तथ्याङ्क संकलन गरी राहतको व्यवस्था गर्न पनि समितिले निर्देशन दिएको छ। क्वारेन्टिनमा सामान्य उपचार, स्वास्थ्यकर्मी, बास, कपास र एम्बुलेन्सको व्यवस्था गर्न तथा सीमा क्षेत्रमा अलपत्र नागरिकलाई तीन वटै तहका सरकारसँग समन्वय गरी सुरक्षित रुपमा आफ्नो घर फर्किने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ।
कोरोनाको असरलाई मध्यनजर गर्दै आगामी आर्थिक वर्षको बजेट स्वास्थ्य क्षेत्रमा केन्द्रित गर्न पनि समितिले निर्देशन दिएको सभापति घर्तीले बताइन्।

प्रतिक्रिया