समाज


काेराेनाले स्वास्थ्यसेवा प्रभावित गर्दा नेपालमा ६ महिनामा ४ हजार बालबालिकाको मृत्यु हुनसक्छः युनिसेफ

काेराेनाले स्वास्थ्यसेवा प्रभावित गर्दा नेपालमा ६ महिनामा ४ हजार बालबालिकाको मृत्यु हुनसक्छः युनिसेफ

नेपालखबर
जेठ १, २०७७ बिहिबार १०:१४,

काेराेना (कोभिड-१९) ले स्वास्थ्य प्रणाली थप कमजोर पार्दा नियमित स्वास्थ्य सेवाहरू अवरुद्ध भई रोकथाम गर्न सकिने रोगहरूबाट आगामी ६ महिनामा नेपालमा ४,००० बालबालिकाको मृत्यु हुनसक्ने बालबालिका सम्बन्धी राष्ट्रसंघीय निकाय युनिसेफले जनाएको छ।

पहिल्यै कमजोर अवस्थामा रहेका स्वास्थ्य प्रणालीलाई कोभिड-१९ ले झनै कमजोर पार्दै लगेको र नियमित स्वास्थ्य सेवाहरू अवरुद्ध भएका कारण तत्काल आवश्यक कदम नचाले रोकथाम गर्न सकिने रोगहरूबाट नेपालजस्तै न्यून तथा मध्यम आय भएका मुलुकबाट धेरै बालबालिकाको ज्यान जानसक्ने युनिसेफकाे ठहर छ।

जोन्स हप्किन्स ब्लुमबर्ग जनस्वास्थ्य शिक्षालयमा आवद्ध शोधकर्ताहरूद्वारा प्रस्तुत गरिएको विश्लेषणका आधारमा यो अनुमान गरिएको सो राष्ट्रसंघीय निकायले जनाएको छ।

११८ वटा न्यून तथा मध्यम आय भएका देशमा सबैभन्दा खराब तीन परिस्थितीको आँकलन गर्दै यस प्रक्षेपणले नियमित स्वास्थ्य सेवामा आएको अवरोध र ख्याउटेपनका कारण आगामी छ महिनामै पाँच वर्ष मुनिका १२ लाख बालबालिकाको मृत्यु हुनसक्ने उसले जनाएको छ।

शोधकर्ताहरूको अनुमानअनुसार कोभिड–१९ ले स्वास्थ्यसेवा प्रभावित हुँदा भारतमा मात्रै ३ लाख बालबालिका तथा पाकिस्तानमा ९५ हजार, बंगलादेशमा २८ हजार, अफगानिस्तानमा १३ हजार र नेपालमा ४ हजार बालबालिकाको मृत्यु हुनसक्ने जनाईएको छ।

‘विगत दशकको तुलनामा पाँचौ जन्मदिनभन्दा अगावै मृत्यु हुने बालबालिकाको संख्या पहिलो पटक बढ्न सक्ने डर सिर्जना भएको छ,' युनिसेफ दक्षिण एसियाका क्षेत्रीय निर्देशक जाँ गगले बताएका छन्, 'हामीले जसरी भएपनि दक्षिण एसियाका आमा, गर्भवती तथा बालबालिकाको सुरक्षा गर्नुपर्दछ। महामारीसँग लड्नु एकदमै महत्वपूर्ण छ तर मातृ तथा बाल मृत्यु रोकथाम गर्नमा हामीले विगतका दशकमा हासिल गरेको उपलब्धीको गतिलाई घट्न दिनुहुँदैन।’

कोभिड-१९ को संकटमा पनि सुत्केरी सेवा, बाल स्वास्थ्य तथा पोषण सेवाको उपलब्धता सुनिश्चित गर्नु अत्यन्तै महत्वपूर्ण हुने, युनिसेफ दक्षिण एसियाका क्षेत्रीय स्वास्थ्य सल्लाहकार डा. पल रटरले बताएका छन्।

‘भाइरसको कारणले नभई नियमित स्वास्थ्य सेवाहरू अवरुद्ध भएका कारण बालबालिकाको मृत्यु हुने अवस्था अत्यन्तै पीडादायक र भयावह हुनेछ,’ उनले भनेका छन्।

कमजोर स्वास्थ्य प्रणाली भएका देशहरूमा कोभिड-१९ ले स्वास्थ्यसम्बन्धी आयात प्रणालीमा अवरोध सिर्जना गर्नुका साथै वित्तीय तथा मानव श्रोतमा समेत ठुलो भार सिर्जना गरिरहेको युनिसेफले जनाएको छ।

संक्रमणको डरले लकडाउन (बन्दाबन्दी), कर्फ्यु तथा आवतजावतमा कडाई गरिएपछि मानिसहरू स्वास्थ्य संस्थामा नगएका कारण मातृ तथा बाल मृत्युदरमा वृद्धि हुनसक्ने ल्यान्सेटको प्रतिवेदनलाई उद्धृत गर्दै युनिसेफले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad