नेपाली कांग्रेसले आगामी भदौ २४–२७ का लागि १५ औँ महाधिवेशनको कार्यतालिका ल्याएको छ। मंगलबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा सभापति गगन थापाले २०८३ भदौमा महाधिवेशन सम्पन्न गर्ने गरी विस्तृत कार्यतालिका प्रस्ताव गरेका हुन्।
आगामी साउन ६ गते वडा अधिवेशन, १२ गते गाउँ–नगर अधिवेशन, २३ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, ३० गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्ने कार्यतालिका छ। यस्तै, भदौ ६ र ७ गते जिल्ला अधिवेशन र भदौ १५ र १६ गते प्रदेश अधिवेशनको मिति तय गरिएको छ। गत पुसदेखि विशेष र नियमित महाधिवेशनको विवादले दुई भागमा विभाजित कांग्रेसमा उक्त कार्यतालिका कार्यान्वयन कसरी अगाडि बढ्छ भन्ने चासो छ।
शेरबहादुर देउवा र शेखर कोइराला समूहले भने आगामी भदौ २४–२६ गते तोकिएको नियमित महाधिवेशन स्वीकार्य नभएको बताएको छ। कांग्रेसको वैधानिकतासम्बन्धी विवादको रिटमा सर्वोच्च अदालतले यहि चैत २२ गतेका लागि पेसी तोकेको छ। पुस २७–३० मा सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूहले सर्वोच्च अदालतमा रिट दायर गरेको छ। अदालतबाट आधिकारिता विवादको मुद्दाको निरुपण नभएसम्म महाधिवेशन प्रक्रियामा सामेलन नहुने देउवा–कोइराला पक्षको रणनीति छ।
देउवा पक्षीय नेता श्याम घिमिरेले भने, ‘निर्वाचन आयोगको निर्णयविरुद्धको रिटमा सर्वोच्च अदालतले जसको पक्षमा आदेश दिन्छ, त्यसलाई मानेर त्यसैको नेतृत्वमा हामीले नियमित महाधिवेशन गर्नुपर्छ।’
घिमिरेले सर्वोच्च अदालतले जनतामाथिको विश्वास आर्जन गर्न पनि सो मुद्दाको फैसला तत्काल गरेर अघि बढ्नुको विकल्प नरहेको बताए। यस्तै देउवा पक्षीय नेता महेन्द्र यादवले १४ औँ महाधिवेशनबाट निर्वाचित र विशेष महाधिवेशनबाट चयन भएका दुवै समितिलाई ‘मर्ज’ गरेर नियमित महाधिवेशनमा जानु उपयुक्त हुने बताए। नियमित महाधिवेशनसम्म सभापतिमा दुई (शेरबहादुर देउवा र गगन थापा) जना र केन्द्रीय समिति ३ सय सदस्यीय बनाएर जाँदा पार्टीमा बृहत् एकता कायम हुने उनको भनाइ छ।
‘१४ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र विशेष महाधिवेशनबाट आएका पदाधिकारी पनि आ–आफ्नो पदमा यथावत रहनुहुन्छ। महाधिवेशनबाट एउटा कार्यसमिति भइहाल्छ। मधेसवादी दलले विगतमा ६ जना अध्यक्ष मण्डल बनाएर पार्टी चलाएका थिए। महाधिवेशनसम्मका लागि दुई वटा अध्यक्ष मण्डल हुन्छन्,’ उनी भन्छन्।
पार्टीमा कसैले कसैलाई जित्ने भन्दा पनि लोकतन्त्र र संविधान बचाउनु महत्वपूर्ण भएको यादवले बताए।
‘अहिले पार्टीमा कसैले कसैलाई जित्नु छैन। यहाँ जुँगाको लडाइँ छाडेर हामीले लोकतन्त्र संस्थागत गराउनु छ। संविधान बचाउनु छ। कांग्रेस विभाजित हुँदा देशमा संविधान र लोकतन्त्र खतरामा पर्छ। कांग्रेस एकजुट हुँदा लोकतन्त्रमाथिको खतरा आफै हट्छ,’ उनले भने।
चुनावमा कांग्रेसको हार–जितभन्दा बढी महत्व कांग्रेसको एकताको रहेको भन्दै दुवै समितिलाई मर्ज गरेर १५ औँ महाधिवेशनको कार्यतालिका सहमतिमा ल्याउनुपर्ने यादवले बताए। कांग्रेस विवादबारे सर्वोच्च अदालतले दिने फैसलाले कांग्रेसको एकता कायम राख्न नसक्ने उनको भनाइ छ।
‘निर्वाचन आयोगले गगन थापालाई मान्यता दियो। सर्वोच्च अदालतले पूर्णबहादुर खड्कालाई आधिकारिता देला। त्यसले कांग्रेसको एकता कायम हुन्छ?’ उनको प्रश्न छ, ‘विवाद बढ्दै जाँदा पार्टी विभाजनतिर जान्छ। त्यसैले अदालतको फैसला कुर्ने भन्दा पनि एकता कायम गर्ने बाटोमा जानुपर्छ। यसमा सबै नेताहरु गम्भीर हुनुपर्छ।’
यसरी जाँदा दुवै पक्ष जित्ने र पार्टी एकताबद्ध बन्ने उनको भनाइ छ।
‘पार्टी र लोकतन्त्रप्रति माया छ भने दुई वटा कार्यसमिति मर्ज गर्नुको विकल्प छैन। जुँगाको लडाइँमा पार्टी सक्नु छ भने बेग्लै कुरा हो,’ उनले भने।
अदालतबाट हुने फैसलापछि मात्र महाधिवेशनमा सहभागिताबारे टुंगो लाग्ने पूर्व सहमहामन्त्री बद्री पाण्डे बताउँछन्।
‘अहिले पार्टीको आधिकारिताको विषय सर्वोच्च अदालतमा छ। अदालतले १४औँ महाधिवेशनबाट आएको कार्यसमितिलाई आधिकारिता दियो भने पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेस महाधिवेशनमा जान्छ,’ कोइराला निकट पाण्डे भन्छन्, ‘विशेष महाधिवेशनबाट आएको कार्यसमितिले आधिकारिता पाए गगन थापाले महाधिवेशन गराउनुहुन्छ।’
सर्वोच्च अदालतबाट आधिकारिता पाउने पक्षले गराउने महाधिवेशनमा आफूहरू सहभागी हुने उनको भनाइ छ।
‘नेपाली कांग्रेसभन्दा बाहिर हामी जाँदैनौँ। आधिकारिता पाएको पक्षले गर्ने महाधिवेशनमा हामी सहभागी हुन्छौँ,’ कोइराला निकट नेता पाण्डे भन्छन्, ‘शेखर कोइराला सभापतिमा प्रतिस्पर्धा गर्नुहुन्छ। हामी उहाँको टिममा बसेर अगाडि बढ्छौँ।’
महामन्त्री प्रदीप पौडेलले विशेष महाधिवेशनबाट निर्वाचित समिति नै पन्ध्रौँ महाधिवेशनको तयारी समिति भएको बताए।
‘कोही अग्रजहरूले यो प्रक्रियागत ढंगले टुंग्याउने सन्दर्भमा कार्यशैलीको विषयमा रिजर्भेसन राख्नुभएको छ भने हामी त्यसलाई सच्याउन तयार छौँ,’ महामन्त्री पौडेलले भने, ‘कुनै पनि सिनियर नेतालाई अपमान गर्ने कुनै उद्देश्य छैन। पार्टीलाई कसरी व्यवस्थित र एकीकृत गर्न सकिन्छ भन्ने कुरामा मात्रै चिन्तित छौं।’
तर, पार्टी नेतृत्वबारे प्रक्रिया पछाडि फर्काउनुपर्छ भन्ने तर्क ठिक नहुने उनको भनाइ छ।
‘प्रक्रियाबाट जहाँ पुग्यो, त्यहाँबाट फर्कनुपर्छ भन्ने पनि ठिक हुँदैन। सबै मिलेर सँगसँगै जाने, व्यवहारका कारण ठेस पुगेको छ भने त्यसलाई सच्याउने बाहेक कुनै विकल्प छैन,’ पौडेलले भने, ‘पन्ध्रौँ महाधिवेशनको तयारीमा लाग्नेगरी वातावरण बनाउँदैछौँ।’
पूर्वसहमहामन्त्री यादव भने पार्टी एकताका लागि विधानको व्यवस्था बाहिर एक राजनीतिक निर्णय लिनुपर्ने अवस्था आएको बताउँछन्।
‘प्रदेश, जिल्ला, क्षेत्र, पालिका र वडासम्म एउटै कार्यसमिति छ। केन्द्रमा दुई वटा जस्तो बन्यो। यसले महाधिवेशन गर्ने कठिन हुन्छ।’
विशेष महाधिवेशनलाई अस्वीकार गरेका जिल्ला र क्षेत्रीय सभापति प्रक्रियामा सामेल नभए महाधिवेशन गर्न सम्भव नहुने यादवले बताए। तर, थापा पक्ष उनीहरुलाई कारबाही गरेर भए पनि महाधिवेशन गरेर जाने मुडमा देखिन्छ।
सहमहामन्त्री प्रकाश स्नेहीले भने, ‘महाधिवेशनमा कसैले अवरोध गरे उहाँहरुलाई हटाएर नयाँ जिम्मेवारी दिएर हुन्छ कि कार्यसमिति तोकेर हुन्छ महाधिवेशन गराउछौँ।’
देउवानिकट रहेका मधेस प्रदेशका सभापति कृष्ण यादव र बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले थापाको नेतृत्व स्वीकार गरिसकेका छन्। कोसीका प्रदेश सभापति उद्धव थापा पनि थापा नेतृत्वकै कार्यसमितिमा सहभागी भइरहेका छन्। गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन विशेष महाधिवेशनकै पक्षमा उभिएका थिए। यता कर्णालीका प्रदेश सभापति ललितजंग शाही र सुदूरपश्चिमका वीरबहादुर बलायर भने थापाको नेतृत्व स्वीकार्न तयार छैनन्। तत्कालीन समयमा विशेष महाधिवेशनको विपक्षमा ४७ जिल्ला सभापति उभिएका थिए।
सहमहामन्त्री प्रकाश स्नेहीका अनुसार मोरङ, कैलाली, सुर्खेत लगायतका जिल्ला सभापति बाहेक सबै गगन थापाको नेतृत्वको कार्यसमितिको पक्षमा छन्।
‘उहाँहरु पनि विस्तारै आउनुहुन्छ। निर्वाचनमा उम्मेदवार बन्नु भएका नेताहरु महाधिवेशनमा जाने कुरामा सकारात्मक हुनुहुन्छ,’ उनी भन्छन्।
सभापति थापाले देउवा पक्षका २५ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्न लागेको कांग्रेसका एक पदाधिकारीले नेपालखबरलाई बताए। उनका अनुसार महालक्ष्मी उपाध्याय ‘डिना’, मिनेन्द्र रिजाल, ज्ञानेन्द्र कार्की, रमेश लेखक, एनपी साउद, चन्द्र भण्डारी, बद्री पाण्डे, सुनील शर्मा लगायतलाई केन्द्रीय समितिमा ल्याउने तयारी छ।
सभापति थापाले सहमतिमा आउनेलाई केन्द्रीय सदस्य मनोनयन र महाधिवेशनमा अवरोध गर्नेलाई कारबाहीको कार्ड अगाडि सारेको देखिन्छ।
सभापति थापाले केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै पार्टीको ‘गाडी’ अब अगाडि बढिसकेको र यसले कसैलाई पनि नछोड्ने बताए।
‘मैले सभापतिको रुपमा गाडी हाँकेको छु। अब यो गाडी रोकिँदैन। मैले भनेँ, यो गाडीमा अब को विशेष अधिवेशनमा हुनुहुन्थ्यो र को हुनुहुँदैन थियो भन्ने कुराबाट कुनै पूर्वाग्रह पनि हुँदैन,’ सभापति थापाले भने, ‘मैले उपसभापति र केही नेताहरूसँग आग्रह पनि गरेको छु। हामी सबैलाई सहभागी गराएर त्यसलाई अघि बढाएर लैजान्छौं।’
Shares

प्रतिक्रिया