राजनीति


नयाँ संसद् भवनमा शपथ लिँदैछन् नयाँ सांसद (भिडिओ)


आयुषा ढकाल
चैत ९ , काठमाडौँ

नेपाली संसदीय इतिहासमा एउटा नयाँ ऐतिहासिक अध्यायको सुरुवात हुँदैछ। फागुन २१ को चुनावपछि नवनिर्वाचित सांसदहरूले चैत १२ गते शपथ लिँदैछन्। अन्तत: सांसदहरूले आफ्नै भवनमा शपथ लिन पाउने भएका हुन्।

२०७६ सालमा निर्माण प्रक्रिया सुरु भएको सिंहदरबारस्थित संसद् भवनले धेरै उतारचढाव झेल्दै अन्ततः पूर्णता पाउन लागेको छ। संसद् भवन परिसर १५६ रोपनी क्षेत्रफलमा फैलिएको छ। नयाँ बानेश्वरस्थित संसद् भवन जेनजी आन्दोलनको क्रममा जलाइएपछि नयाँ संसद् भवन चाँडो सक्न दबाब परेको थियो।

रोचक कुरा के छ भने यसभन्दा पहिले नेपालमा कुनै पनि भवन संसदीय प्रयोजनका लागि बनाइएको थिएन। संसदीय प्रयोजनकै लागि विशेष रुपमा डिजाइन गरिएको यो पहिलो संरचना हो। त्यसैले, भवनलाई महत्वपूर्ण तरिकाले तयार गरिँदैछ। बाहिरबाट हेर्दा नेपाली परम्परागत वास्तुकला र मौलिकता झल्किने यस भवन भित्रबाट उत्तिकै अत्याधुनिक र प्रविधिमैत्री छ। सिंहदरबारको संसदीय परिसरमा ९ /१० वटा भवन छन्।

हाल प्रतिनिधि सभाको मुख्य हल पूर्ण रुपमा तयार भइनसकेकाले सहरी विकास तथा भवन निर्माण विभागले भवनभित्रकै बहुउद्देशीय हललाई बैठकका लागि तयार पारेको छ। ३०० जना सहज तरिकाले अटाउन सक्ने यस बहुउद्देशीय हलबाटै नवनिर्वाचित सांसदहरूले शपथग्रहण गर्नेछन् र अर्को हल तयार नभइन्जेल बैठक पनि यहीँ सञ्चालन हुनेछ।

यस हलमा २९० वटा कुर्सीको व्यवस्था गरिएको छ। संसदीय परम्परा अनुसार हलको दाहिनेपट्टि प्रतिपक्षी दलका सांसद बस्नेछन् भने देब्रेपट्टि सत्ता पक्षका सांसदहरूको स्थान तय गरिएको छ। र, बीचमा सभामुखको आसन राखिएको छ।

यही १२ गते हुने पहिलो बैठकको नेतृत्व ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले गर्नेछन्।

हलभित्रको प्रविधि निकै उच्चस्तरीय भएको संसद् सचिवालयले जनाएको छ। सांसद बस्ने ठाउँ र उनीहरूले बोल्ने स्थानलाई निकै व्यवस्थित बनाइएको छ। भित्तामा ६ वटा एलइडी स्क्रिन र एसी जडान गरिएको छ। हलको चारैतिर क्यामेरा राख्ने ठाउँ बनाइएको छ। संसदको लागि हल भने केही साँघुरो भए तापनि व्यवस्थित छ। सुविधा सम्पन्न भवनमा निर्वाचित जनप्रतिनिधिहरूले गर्ने बहसले देशलाई नयाँ दिशा दिन्छ या दिँदैन, त्यसका लागि भने प्रतीक्षा गर्नुपर्ने हुन्छ।

चैत ९, २०८२ सोमबार ८:५

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad