राजनीति


चिनियाँ कम्युनिस्ट पार्टीले दियो रास्वपालाई बधाई

चिनियाँ कम्युनिस्ट पार्टीले दियो रास्वपालाई बधाई

नेपालखबर
चैत ३, २०८२ मंगलबार २०:११, काठमाडौँ

प्रतिनिधि सभाको निर्वाचनमा जित हासिल गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले बधाई दिएको छ। 

सीपीसीले औपचारिक पत्र पठाएर बधाई दिएको रास्वपाका अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख शिशिर खनालले जानकारी दिएका छन्। ‘चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को अन्तर्राष्ट्रिय विभागले हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई एक औपचारिक पत्र पठाउँदै बधाई तथा आत्मीय शुभकामना व्यक्त गरेको छ,’ खनालले भनेका छन्, ‘उक्त सन्देशमार्फत चिनियाँ कम्युनिस्ट पार्टीले रास्वपासँगको बढ्दो सम्बन्ध र सहकार्यप्रति खुशी व्यक्त गर्दै आगामी दिनमा दुई राजनीतिक शक्तिबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास दिलाएको छ।’

चिनियाँ कम्युनिस्ट पार्टीले पठाएको पत्रमा चीन र नेपालबीचको राजनीतिक आपसी विश्वासलाई थप गहिरो बनाउँदै दुवै देश र जनताको हितका लागि ‘साझा भविष्यसहितको समुदाय’ निर्माण गर्ने संकल्प गरिएको खनालले जानकारी दिएका छन्। 

रास्वपालाई चिनियाँ कम्युनिस्ट पार्टीले पठाएको पत्र।

पत्रमा रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वदायी भूमिकाको प्रशंसा गरेको छ। दुवैको नेतृत्वमा रास्वपाले नेपाल-चीन परम्परागत मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन महत्त्वपूर्ण योगदान दिने विश्वास समेत व्यक्त गरिएको खनालले बताए। 

चिनियाँ कम्युनिस्ट पार्टीले रास्वपासँग विभिन्न क्षेत्रमा अनुभव आदानप्रदान, आपसी सिकाइ र द्विपक्षीय सम्बन्धको स्थिर विकासका लागि सँगै काम गर्ने तत्परता पनि देखाएको छ। यसका लागि रास्वपाले चिनियाँ कम्युनिस्ट पार्टीलाई धन्यवाद पनि दिएको छ। 

रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख खनालले भनेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टी, नेपालको स्वतन्त्र परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा अडिग रहँदै छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई सधैँ प्राथमिकतामा राख्दछ। चिनियाँ कम्युनिस्ट पार्टीले व्यक्त गरेको यस शुभेच्छा र ऐक्यबद्धताका लागि हामी हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad