राजनीति


विश्वप्रकाश किन रोक्न चाहन्छन् गगनको राजीनामा

१५ औँ महाधिवेशनमा विश्वप्रकाशलाई अघि सार्ने प्रयास
विश्वप्रकाश किन रोक्न चाहन्छन् गगनको राजीनामा

लोकेन्द्र भट्ट
चैत ३, २०८२ मंगलबार १९:५७, काठमाडौँ

प्रतिनिधिसभा निर्वाचनमा पराजयपछि नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा बहसको केन्द्रमा छ। थापाको नेतृत्वमा १ सय ६५ निर्वाचन क्षेत्रमै उम्मेदवार खडा गरेर चुनावमा होमिएको कांग्रेस प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी ३८ सिटमा सीमित भयो।

चुनावमा आफू पनि पराजित भएपछि नैतिक जिम्मेवारी लिएर सभापति थापाले राजीनामा दिने सोच बनाए। फागुन २५ मा उपसभापति विश्वप्रकाश शर्मासँग आफूले राजीनामा दिने थापाले बताए। साथै सभापति थापाले उपसभापति शर्मालाई कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालेर पार्टीलाई १५ औँ महाधिवेशनमा पार्टीलाई लैजान आग्रह गरेका थिए। 

तर, उपसभापति शर्माले विशेष महाधिवेशनबाट कार्यसमिति आएको पाँच दिनमै उम्मेदवारी दर्ता भएको र करिब ५० दिनमै निर्वाचन सम्पन्न भएको अवस्थामा पराजयलाई लिएर राजीनामा गर्न नपर्ने भन्दै सूक्ष्म समीक्षाको आवश्यकता औँल्याए। २७–३० पुसमा भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनले तत्कालीन शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति भंग गरेर थापाको नेतृत्वमा नयाँ कार्यसमितिको चयन गरेको थियो। १ माघमा घोषणा भएको केन्द्रीय कार्यसमितिलाई ४ माघमा निर्वाचन आयोगले मान्यता दिएको थियो।

थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध पूर्वसभापति देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिट सर्वोच्च अदालतमा विचाराधीन छ। यस्तो अवस्थमा सभापति थापाले राजीनामा दिनु उपयुक्त नहुने कांग्रेसको संस्थापन पक्षको निष्कर्ष छ। 

तर, सभापति थापा राजीनामा दिने अडानबाट पछि हटेका छैनन्। थापा पछि हटे राजीनामाको प्रस्ताव केन्द्रीय कार्यसमितिबाट अस्वीकृत गराउने संस्थापन पक्षका नेताहरूको रणनीति देखिन्छ। 

थापानिकट युवा नेता नवराज त्रिपाठीले भने, ‘हामीले दाइ राजीनामा दिनु हुँदैन भन्दा मुसुक्क हाँस्दै ‘तिमीहरूसँग सल्लाह गर्छु’ भन्नुहुन्छ। टिममा सल्लाह पनि खासै भएको छैन। राजीनामाको मुडबाट ब्याक हुनु भएको छैन।’ 

यता उपसभापति विश्वप्रकाश शर्माका निकटस्थहरू सभापति थापाबाट राजीनामा आउनेमा ढुक्क छन्। शर्मा निकटस्थ एक स्रोतले भन्यो, ‘विश्व दाइको आग्रह एउटा कुरा भयो। तर, गगन दाइ सभापतिबाट राजीनामा दिने पक्षमै हुनुहुन्छ। उहाँले राजीनामा दिँदा केन्द्रीय कार्यसमितिले अस्वीकृत गर्ने कि भन्ने छ।’

केन्द्रीय समितिबाट अस्वीकृत गर्ने अवस्था नबने उपसभापति शर्मालाई कार्यवाहक जिम्मेवारी दिएर १५ औँ महाधिवेशनको तयारी गर्ने सम्भावना रहेको स्रोतले बतायो। आजका दिनसम्म थापाको राजीनामा आउँदा केन्द्रीय समितिले अस्वीकृत गर्ने सम्भावना बढी रहेको उनको नभाइ छ। 

‘उहाँको राजीनामा आजभोलि नै आउन सक्छ। तर, केन्द्रीय समितिबाट अस्वीकृत गर्ने योजना छ। साथै १५ औँ महाधिवेशनको कार्यतालिका पनि सोही दिन तय हुन्छ,’ स्रोतले भन्यो।

कांग्रेसमा अहिले थापाको राजीनामा रोकेर १५ औँ महाधिवेशनमा शर्मा नेतृत्वका लागि अगाडि सर्नुपर्ने बहस पनि प्रारम्भ भएको छ। 

शर्मा निकट स्रोत भन्छ, ‘१५ औँ महाधिवेशन गगन थापाको नेतृत्वमा हुँदा विश्व दाइ सभापतिका लागि अगाडि आउनुहुन्छ। गगन दाइले नै विश्व दाइ सभापतिमा अगाडि सार्ने अवस्था बन्छ होला।’ 

यद्यपि आन्तरिक छलफलमा उपसभापति शर्माले १५ औँ महाधिवेशनमा थापाकै नेतृत्वमा जानुपर्ने मत राखिरहेका छन्।

‘विश्व दाइ एक पटक भाइ (गगन थापा) नै सभापति होस् भन्नुहुन्छ। तर, अरु सबैले विश्व दाइलाई अगाडि बढ्न भनिरहेका छन्। विश्व दाइ अगाडि आउँदा अर्को (विशेष महाधिवेशनमा नजोडिएका) पक्षका नेताहरू पनि आउनुहुन्छ भन्ने छ,’ स्रोतले नेपालखबरलाई भन्यो।

अहिले थापाको राजीनामा रोक्दा १५ औँ महाधिवेशनमा सभापतिमा शर्माको दाबी स्वाभाविक हुने उनीहरूको बुझाइ छ। शर्माका निकटस्थहरू सभापति थापाले नै शर्मालाई १५ औँ महाधिवेशनमा सभापति पदमा प्रस्ताव गर्ने आशामा छन्।

राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेले मूल्य, नैतिकता र सिद्धान्तको राजनीति गर्दै आएका थापाले पार्टी पराजित भएपछि नैतिक जिम्मेवारी लिएर राजीनामा दिने सोच्नु स्वाभाविक भएको बताए। 

‘यो उच्च लोकतान्त्रिक संस्कार हो, उत्तरदायित्वको अनुभूति हो र नैतिकताको कसी हो,’ उनी भन्छन्, ‘यस्तो नजिर र संस्कारले नेतृत्वलाई थप लोकतान्त्रिक, उत्तरदायी र नैतिक बनाउँछ। तर नेतृत्वको परीक्षण केवल ५० दिनमा हुँदैन। सभापतिका रूपमा थापाको नेतृत्वको परीक्षण भएकै छैन।’

सभापतिको एक कार्यकाल पूरा भएपछिको चुनावमा हारेको भए राजीनामा स्वाभाविक हुने वाग्लेको तर्क छ।

‘आफूले नगरेको अपराधको सजाय भोग्नु वा आफैँले आफैँलाई दण्डित गर्नु राजनीतिक, नैतिक र कानुनी कुनै पनि दृष्टिले उपयुक्त होइन। यो थापाले राजीनामा दिने समय होइन, नयाँ कांग्रेस बनाउन इतिहासले सुम्पिएको ऐतिहासिक जिम्मेवारी पूरा गर्न दृढसंकल्प गर्ने घडी हो,’ उनी भन्छन्। 

थापाको नेतृत्वमा कांग्रेस रूपान्तरण, शुद्धीकरण र पुनर्गठनको प्रक्रिया बल्ल प्रारम्भ भएको वाग्लेको भनाइ छ। थापाको राजीनामाले सुधारको समग्र प्रक्रिया अवरुद्ध हुने भन्दै नयाँ कांग्रेस बनाउने ठोस मार्गचित्र तय गर्न आवश्यक रहेको उनको बुझाइ छ।

विश्वप्रकाश शर्मा र रमेश लेखकबीच संवाद
सभापति थापाको राजीनामाको चर्चा भइरहँदा कांग्रेसको संस्थापन र देउवा समूहबीच संवाद भएको छ। देउवा समूहका रमेश लेखकले उपसभापति शर्मासँग कुराकानी गरेका थिए। शर्माले नियमित महाधिवेशन कहिले गर्ने भनेर लेखकलाई सोधेका थिए। 

जवाफमा लेखकले पुस १८ मा बसेको तत्कालीन केन्द्रीय कार्यसमितिले तोकेकै मितिमा गर्ने गरी नयाँ कार्यतालिका ल्याउन सुझाएका थिए। तत्कालीन कार्यवाहक सभापति खड्काले आगामी वैशाख २८ देखि ३१ का लागि नियमिति महाधिवेशनको कार्यतालिका ल्याएका थिए। शर्माले उक्त मितिमा महाधिवेशन गर्न समय अपुग हुने मत राखेका थिए। 

‘वैशाखमा भ्याउँदैन कि, अलिकति सार्नु पर्छ कि भन्नु भएको थियो। महाधिवेशनको कार्यतालिका जेठ वा आसरभित्रै गर्ने गरी आउन सक्छ,’ स्रोतले भन्यो।

नियमित महाधिवेशनका सन्दर्भमा एउटा धारणा बनाउन उपसभापति शर्माले आग्रह पनि गरे।

‘नियमित महाधिवेशनबारे एउटा धारणा बनाउनुहोस्। छलफलका लागि मान्छे तोक्नुहोस्। हामी तयार छौँ। सबैको सहमतिमा महाधिवेशनको मिति तोकौँ,’ शर्माको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो। 

फैसलाको प्रतीक्षाभन्दा महाधिवेशनको तयारीमा लाग्नुपर्ने धारणा देउवा पक्षको छ। वर्तमान केन्द्रीय कार्यसमितिमा देउवा पक्षका कसैको पनि प्रतिनिधित्व छैन। यता देउवा पक्षले विशेष महाधिवेशनबाट आएको कार्यसमिति भंग गरेर १५ औँ महाधिवेशन आयोजक समिति बनाउन प्रस्ताव गरेको छ। विशेष महाधिवेशनबाट आएको समिति भंग गरेर आयोजक समिति बनाउँदा पार्टीको एकता र सर्वोच्च अदालतमा दायर रिट फिर्ताको बाटोमा जान सकिने उनीहरूको तर्क छ। 

देउवा पक्षीय एक नेताले भने, ‘१४ औँ महाधिवेशनबाट आएको समिति विघटन भएकै छ। विशेष महाधिवेशनबाट आएको कार्यसमिति पनि विघटन गरेर १५ औँ महाधिवेशन आयोजक समिति बनाएर जाँदा पार्टीमा एकता कायम हुन्छ। मुद्दा मामिलाको विषय पनि टुंगिन्छ।’ 

संस्थापन पक्ष विशेष महाधिवेशनबाट आएको कार्यसमिति भंग गर्ने पक्षमा देखिएको छैन। उपसभापति शर्माले विशेष महाधिवेशनमा छुटेकाहरूलाई मनोनीत गरेर केन्द्रीय समितिमा लैजान तयार रहेको सन्देश पठाएका छन्। 

देउवाको आदेश र सर्वोच्चको फैसला कुरिरहेको पूर्वसंस्थापन पक्ष अलमल र नेतृत्वविहीन अवस्थामा छ। चुनावपछि आफू पक्षीय नेताहरूको भेला बोलाउने भनिए पनि सम्भव हुन सकेको छैन। पूर्वकार्यवाहक सभापति खड्काले व्यक्तिगत भेटघाट बढाए पनि समूहगत छलफलको परिस्थिति निर्माण गर्न नसकेको नेताहरू बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad