प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती गर्ने त्रिभुवन विश्वविद्यालयका कर्मचारीमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन्।
त्रिभुवन विश्वविद्यालयका कूलपति समेत रहेका प्रधानमन्त्री ओलीले विश्वविद्यालय जस्तो पवित्र स्थलमा बेथिति भित्र्याउने तथा अनियमितता गर्ने कुनै पनि कर्मचारीमाथि कडा कारबाही हुने बताएका हुन्।
त्रिभुवन विश्वविद्यालयको ६० औं वार्षिक दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित प्राज्ञ सभामा बोल्दै उनले विश्वविद्यालयमा गल्ती गर्ने कर्मचारीहरुलाई सरकारले दण्ड र राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कार दिने पनि स्पष्ट पारे। प्रधानमन्त्री ओलीले मुलुकको शिक्षा क्षेत्रलाई विश्वमै प्रतिस्पर्धा गर्न लायक बनाउन सरकार प्रतिवद्ध रहेको पनि बताए। उनले मुलुकको आवश्यक्ता अनुसार दक्ष जनशक्ति निर्माणमा अग्रसर हुन पनि सबै विश्वविद्यालयहरुलाई आग्रह गरे।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयको छवीनै धुमिल हुने गरी गल्ती नगर्न विश्वविद्यालयका पदाधिकारीहरुलाई सचेत गराए। विश्वविद्यालय भित्र कल्पना समेत गर्न नसकिने खालका बेथिति भित्र्एिको उल्लेख गर्दै दुःख पनि व्यक्त गरे।
बैठकमा विश्वविद्यालयका उपकूलपति प्राध्यापक डाक्टर तीर्थराज खनियाले विश्वविद्यालयको आगामी नीति तथा कार्यक्रमबारे जानकारी गराएका थिए।

प्रतिक्रिया