मत गणना जारी रहेका मधेसका धेरै क्षेत्रमा मधेसवादी दलका शीर्ष नेताहरु नै प्रतिस्पर्धामा निकै पछि देखिएका छन्।
जसपाका अध्यक्ष उपेन्द्र यादव, जसपाकै शरदसिंह भण्डारी, जनमत पार्टीका अध्यक्ष सीके राउत, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्षा राजेन्द्र महतो, आम जनता पार्टीका अध्यक्ष प्रभु साहसहितका नेता यसपटक मधेसबाटै पराजित हुने अवस्थामा पुगेका छन्।
उनीहरू सबै रास्वपाका उम्मेदवारसँग निकै पछि परेका छन्। रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह (बालेन)को कारण मधेसमा रास्वपाको पक्षमा जनलहर देखिएको छ।
सप्तरी २ सीके राउत तेस्रो स्थानमा छन्। उनले अहिलेसम्म जम्मा ३ हजार २४५ मत पाउँदा रास्वपाका रामजी यादवले ७ हजार ९९७ मत ल्याएर यो क्षेत्रमा लिड गरिरहेका छन्।
यहाँ ४ हजार २७५ मतसहित जसपाका उमेश यादव दोस्रो स्थानमा छन्। उमेश मनोनयनको केही दिनअघि मात्रै प्रचण्ड नेतृत्वको नेकपा छाडेर जसपामा प्रवेश गरेका नेता हुन्।
त्ससैगरि सप्तरी ३ मा जसपाका अध्यक्ष उपेन्द्र यादव पनि रास्वपाका अमरकान्त चौरीसँग फराकिलो मतान्तरसहित पछि परेका छन्।
यहाँ उपेन्द्रले अहिलेसम्म ७६१९ मत प्राप्त गर्दा चौधरीले १० हजार २७ मत ल्याइसकेका छन्।
त्यसैगरि सर्लाही २ मा राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतो मतगणनामा निकै पछि परेका छन्।
यो क्षेत्रमा रास्वपाका रविन महतोले ३२ हजार ८२७ मत प्राप्त गर्दा महतोले ४ हजार ६८७ मत ल्याएका छन्। उनी यहाँ चौथो स्थानमा छन्। यसअघि पनि उनी सोही क्षेत्रबाट पराजित भएका थिए।
यहाँ नेकपाका महिन्द्र राय यादव ६ हजार ९३८ मतसहित अहिले दोस्रो स्थानमा छन्।
त्यसैगरि रौतहट ३ मा आम जनता पार्टीका अध्यक्ष प्रभु साह पनि मत गणनामा निकै पछि परेका छन्।
यहाँ पनि रास्वपाका रविन्द्र पटेल अघि छन्। उनले ५ हजार ८७४ मत प्राप्त गर्दा प्रमु साहले जम्मा २१ सय ४५ मत मात्रै पाएका छन्। यो क्षेत्र सधैँ प्रभु साह नै निर्वाचित हुँदै आएको क्षेत्र हो।
त्यसैगरि सधैँ निर्वाचन जित्दै आएका शरदसिंह भण्डारी पनि महोत्तरी २ मा प्रतिस्पर्धीसँग निकै पछि परेका छन्।
यो क्षेत्रमा रास्वपाका दिपककुमार साहले २० हजार ९२३ मत प्राप्त गर्दा जसपाका भण्डारीले जम्मा ६ हजार ३४५ मत मात्रै पाएका छन्। यसअघिको निर्वाचनमा भण्डारी सोही क्षेत्रबाट निर्वाचित भएका थिए।
Shares

प्रतिक्रिया