देशभरका निर्वाचन क्षेत्रमध्ये निकै चासोका साथ हेरिएको झापा-५ मा मतदान सम्पन्न भएसँगै अब सबैको ध्यान मतगणनातर्फ सोझिएको छ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह(बालेन) बीच मुख्य प्रतिस्पर्धा हुने ठानिएको यो निर्वाचन क्षेत्र मतगणनाको प्रारम्भिक तयारी तीव्र पारिएको छ। दमक नगरपालिका-८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा अहिले मतपेटिका ल्याउने र जम्मा गर्ने काम भइरहेको छ।
झापा-५ भौगोलिक रूपमा सुगम भएकाले धेरैजसो मतदान केन्द्रबाट मतपेटिका संकलन भइसकेका छन् भने केही स्थानबाट आउने क्रम जारी छ।
अबको प्रक्रिया के?
निर्वाचन अधिकृतको कार्यालयका अनुसार सबै मतपेटिका दमकस्थित संकलन केन्द्रमा आइपुगेपछि निर्णायक प्रक्रिया सुरु हुनेछ।
त्यसपछि मुख्य निर्वाचन अधिकृतले राजनीतिक दलका प्रतिनिधि, उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरूलाई सर्वदलीय बैठकका लागि बोलाउनेछन्।
सुरक्षाको कडा घेरा
उच्च राजनीतिक ‘प्रोफाइल’ भएको क्षेत्र भएकाले यहाँको मतगणना स्थलको सुरक्षालाई प्रशासनले विशेष प्राथमिकतामा राखेको छ। सुरक्षा निकायले मतगणना स्थललाई सुरक्षित घेरामा राखेर जनशक्तिको अन्तिम व्यवस्थापन गरिरहेछ।
सर्वदलीय बैठकमा मुचुल्का उठाएर सहमति जुटे लगत्तै सम्भवतः आजै राति वा भोलि बिहानैदेखि झापा-५ को आधिकारिक गणना सुरु हुनेछ।
मगणना थाल्नुअघि दलका प्रतिनिध तथा उम्मेदवार सम्मिलित बैठकले निम्न विषयमा सहमति जुटाउनेछ:
- मतगणनाको विस्तृत कार्यतालिका (शेड्युल) निर्माण गर्नुपर्छ।
- गणना गर्ने क्रममा अपनाइने नियम र आचारसंहिता तयार पार्नुपर्छ।
- प्रतिनिधिहरूको संख्या र व्यवस्थापनको काम गर्नुपर्छ।
Shares

प्रतिक्रिया