बिहीबार हुने प्रतितिनिधिसभा निर्वाचनमा मतदान गर्न नेताहरू आ–आफ्नो गृह जिल्ला पुगिसकेका छन्। बिहान ७ बजेबाट मतदान सुरु हुने हुँदा पार्टीका नेता–कार्यकर्ता र उम्मेदवारहरू आफ्नो मतदाता नामावली भएको ठाउँमा पुगिसकेका छन्। केही उम्मेदवार भने आफ्नो निर्वाचन क्षेत्रको मतदान स्थलको अवस्था बुझेर भोलि मतदाता नामावली रहेको मतदान केन्द्रमा पुग्ने तयारीमा छन्।
२०४८ देखि सबै संसदीय निर्वाचनमा मतदान गरेका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा भने यसपालि मतदानमा समेत सहभागी हुने छैनन्। उनको सचिवालयका अनुसार देउवा सिंगापुरमा उपचाररत छन्।
गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा सभापति बनेपछि २०४८ देखि निरन्तर डडेल्धुराबाट निर्वाचित देउवा टिकटबाट वञ्चित भए। विशेष महाधिवेशनले सभापतिबाट हटाइदिएपछि चुनावबारे मौन बसेका देउवा मतदानको एक साताअघि सिंगापुर उडेका थिए। उनी अझै फर्किएका छैनन्।
कांग्रेसका निवर्तमान सभापति देउवाको मतदाता नामावली डडेल्धुराको गन्यापधुरा १ असिग्राम मावि रुवाखोला ‘ख’ मतदान केन्द्रमा छ। यस्तै कांग्रेस नेतृ तथा देउवा पत्नी आरजु राणा देउवा पनि यतिबेला नेपालमा छैनन्। कैलाली–५ बाट चुनाव लड्ने तयारीमा रहेकी आरजु पनि टिकट नपाएपछि पार्टीको निर्वाचनसम्बन्धी गतिविधि सहभागी भइनन्।
२०७४ मा कैलाली ५ बाट पराजित उनको मतदान केन्द्र भने डडेल्धुराको गन्यापधुरामै छ। दुई सातादेखि भारतमा रहेकी उनी मतदान गर्न डडेल्धुरा नजाने भएकी छन्। आरजु राणासँग केही दिन भारतमा बिताएर कांग्रेस नेतृ लक्ष्मी खतिवडा नेपाल फर्किएकी छन्। खतिवडाका अनुसार आरजु मतदानका लागि डडेल्धुरा पुग्ने छैनन्।
यता कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले भने मतदान गर्नेछन्। फागुन १७ गते सुर्खेत पुगेर कांग्रेसको चुनावी अभियानमा जोडिएका खड्काले सुर्खेत–१ को गुर्भाकोट मतकेन्द्रमा मतदान गर्ने उनको सचिवालयले जाएको छ।
पार्टीको वैधानिकताको विवादमा सर्वोच्च अदालतमा रिट दायर गराएका खड्काले यो चुनावमा उम्मेदवार नबन्ने घोषण गरेका थिए। २०४८ देखि सुर्खेत १ बाट चुनाव लड्दै आएका उनी अहिले मतदाताको रुपमा मात्र चुनावमा सहभागी हुँदैछन्।
यस्तै काठमाडौँ १ को टिकटबाट वञ्चित कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले काठमाडौँ महानगरपालिका–१६ को पकनाजोलस्थित नेपाल युवक माविको केन्द्रमा मतदान गर्ने छन्। २०४८ मा काठमाडौँ–४ मा र २०५१ मा काठमाडौँ–३ मा प्रकाशमान पराजित भएका थिए। २०६४ देखि ०७९ सम्म लगातार काठमाडौँ १ बाट निर्वाचित प्रकाशमान अहिले चुनावी मैदानमा छैनन्।
कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले काठमाडौंको महाराजगन्जस्थित भ्याली पब्लिक स्कुलबाट मतदान गर्ने छन्। काठमाडौं ५ का मतदाता रहेका उनी २०६४ देखि ०७९ सम्म नवलपुर १ बाट निर्वाचित भएका थिए। अहिले टिकट नपाएका उनी फागुन १६ गते नवलपुर पुगेर पार्टीको चुनावी अभियानमा जोडिएका थिए। १८ गते उनी काठमाडौँ फर्किएका थिए।
यस्तै, कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले झापा–१ को भद्रपुर नगरपालिका–१० स्थित कलवलगुडी आधारभूत विद्यालयको मतदान केन्द्रमा मतदान गर्दै छन्। राष्ट्रियसभा सदस्य समेत रहेका उनी झापामै छन्। विगतमा झापा–३ बाट चुनाव लड्दै आएका उनी कांग्रेस उम्मेदवारलाई मत माग्न मैदानमा नदेखिए पनि मतदानमा सहभागी हुने छन्।
कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले कञ्जनपुर–३ को वेदकोट नगरपालिका–८ स्थित बैजनाथ मावि गयलनदी केन्द्रबाट मतदान गर्दैछन्। कञ्चनपुर ३ बाट चुनाव लड्दै आएका लेखकलाई सभापति थापाले टिकट नदिए पनि उनी कांग्रेस उम्मेदवारको पक्षमा खुलेका छन्। लामो समय कञ्चनपुरमै रहेका उनी मतदान गरेर काठमाडौं फर्किने छन्।
कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीको तिलोत्तमा नगरपालिका–८ को ज्योति आधारभूत स्कुल मतदान केन्द्रबाट मतदान गर्दै छन्। रुपन्देही–३ बाट चुनाव लड्दै आएका खाँण टिकटबाट वञ्चित हुँदा पनि पार्टीको उम्मेदवारसँगै चुनावी अभियानमा थिए।
यस्तै, कांग्रेस पूर्वउपसभापति धनराज गुरुङले स्याङ्जा–१ को अर्जुनचौपारी गाउँपालिका–२ रानीचरी आधारभूत माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्दै छन्। गत निर्वाचनमा स्याङजा २ बाट निर्वाचित गुरुङ अहिले चुनावी मैदानमा छैनन्।
कांग्रेस नेता मोहनबहादुर बस्नेतको मतदाता नामावली सिन्धुपाल्चोक–१ को बाह्रबिसे नगरपालिका–४ स्थित क्षमादेवी मावि मतदान केन्द्रमा छ। विगतमा सिन्धुपाल्चोक १ बाट चुनाव लड्दै आएका उनी गत निर्वाचनमा सिन्धुपाल्चोक २ बाट निर्वाचित भएका थिए। अहिले टिकटबाट वञ्चित भएका बस्नेत कांग्रेसको चुनावी अभियानमा सहभागी भएनन्।
मौन अवधिमा सिन्धुपाल्चोक पुगेका उनी क्षमादेवी मावि मतदान केन्द्रमा मतदान गर्ने छन्। कांग्रेस नेता रामहरि खतिवडाले ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ थाक्ले मतदान केन्द्रबाट मतदान गर्ने छन्। ओखलढुंगको टिकट खोसिए पनि खतिवडा सक्रिय भएर चुनावी अभियानमा लागेका थिए। उनी मतदान गर्न ओखलढुंगा पुगिसकेका छन्।
यस्तै कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले डोटीको शिखर नगरपालिका–८ तिलतालीको राधाकृष्ण उच्च मावि मतदान केन्द्रमा मतदान गर्दै छन्। हृदयराम थानीले सुर्खेत–२ को वीरेन्द्रनगर नगरपालिका १ बाङ्गेसिमल स्थित सरस्वती आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गर्ने छन्।
कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले झापा–१ को मेचीनगर–९ स्थित कविशिरोमणि मावि मतदान केन्द्रबाट मतदान गर्ने छन्। कांग्रेसको चुनावी कमान्डर समेत रहेका शर्मा फागुन २१ को निर्वाचनमा उम्मेदवार छैनन्। देशव्यापी रुपमा पार्टीको चुनावी अभियानको कमान्ड सम्हाल्ने भन्दै उम्मेदवार नबनेको शर्माको भनाइ छ। उम्मेदवार नबन्ने घोषणा गरेका केही केन्द्रीय नेताहरू चुनावी अभियानमा भने जोडिएका थिए। उनीहरू मतदानका लागि गाउँगाउँ पुगिसकेका छन्।
Shares

प्रतिक्रिया