नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्टलाई एकताबद्ध गर्ने आवश्यकता झन बढेको बताएका छन्।
सोमबार भक्तपुर-२ मा नेकपा (एमाले) बाट आएका नेता तथा कार्यकर्तालाई नेकपामा स्वागत गर्दै संयोजक प्रचण्डले जेनजी आन्दोलनपछि वामपन्थी एकता आवश्यक देखिएको बताए। ‘अहिले जेनजीको आन्दोलन, भदौ २४ गतेको घटनाक्रमपछि फेरि कम्युनिस्टहरूलाई एकतावद्ध गर्ने आवश्यकता झन बढ्यो,’ प्रचण्डले भने।
कम्युनिस्टलाई एकताबद्ध बनाउनकै लागि नेकपा बनाइएको उनको भनाइ थियो। आजको आवश्यकता पनि वामपन्थी ध्रुवीकरणकै भएको उनले बताए। ‘आजको आवश्यकता भनेको वामपन्थी ध्रुवीकरणकै हो। वामपन्थी एकता आजको एकदमै महत्त्वपूर्ण आवश्यकता हो,’ प्रचण्डले भने।
वामपन्थी एकताको कुरा गर्दा उनले २०७४ साललाई सम्झिए। त्यतिवेला एमाले र माओवादी गठबन्धन गरेर चुनावमा गएका थिए। बहुमत पनि प्राप्त गरेका थिए।
‘हामी २०७४ को निर्वाचनमा एक भएर निर्वाचन लड्यौँ। पछि एउटै पार्टी पनि बनायौँ,’ प्रचण्डले भने, ‘झण्डै दुईतिहाइ एक्लै एउटै पार्टीको भएको थियो तर नेतृत्व सही नहुँदा त्यत्रो शक्ति आर्जन गरेर जनताको त्यति ठूलो विश्वास जितेर पनि बचाउन सकिएन।’
विगतमा जस्तै यस पटक पनि वामपन्थी एकताको आवश्यकता देखिएको उनको भनाइ थियो। उनले राजनीतिक स्थिरतका लागि पनि त्यो आवश्यक भएको जिकिर गरे।
Shares

प्रतिक्रिया