राजनीति


बंगलादेशमा ‘एमडी’ गर्दै थिए, प्रचण्डले दिए प्रतिनिधिसभाको टिकट

आमाको व्यक्तित्वको बलमा गगन र अमरेशसँग चुनाव लड्दैछन् डा. रजनिस
बंगलादेशमा ‘एमडी’ गर्दै थिए, प्रचण्डले दिए प्रतिनिधिसभाको टिकट

नेपालखबर
फागुन १४, २०८२ बिहिबार १३:१७, काठमाडौँ

मुलुक सही सलामत ढंगले चलिरहेको हुन्थ्यो भने ३२ वर्षीय डा. रजनिस यादव यतिबेला बंगलादेशमा ‘एमडी’ गरिरहेका हुन्थे। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले देशको सत्ता नै कायापलट गरिदियो। 

सुशीला कार्की नेतृत्वको नागरिक सरकारले फागुन २१ गतेको लागि प्रतिनिधिसभाको निर्वाचन घोषणा गर्दा डा. रजनिस बंगलादेशमै थिए। 

उनी उतै हुँदा यता चुनावको तयारी सुरु भयो। दलहरू उम्मेदवार छनोट गर्ने गृहकार्यमा लागे। 

त्यहीबेला सर्लाहीको गोडैता निवासी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेतृ अनिता देवीले बंगलादेशमा एमडी गरिरहेका छोरा डा. रजनिसलाई उम्मेदवार बनाउने सोचसहित घर बोलाइन्। 

नभन्दै नेकपाले उनै ३२ वर्षीय रजनिसलाई सर्लाही ४ बाट उम्मेदवार बनाउने निर्णय गर्‍यो। 

‘म नेकपाकी नेतृ मेरी आमाको आग्रह र सुप्रिमो प्रचण्डको अनुरोधमा सर्लाही ४ बाट उम्मेदवार बनेको हुँ,’ आफ्नो निर्वाचन क्षेत्रमा पर्ने गोडैता १० को सिसौटिमा घरदैलो गरिरहेका रजनिसले नेपालखबरसँग भने, ‘यहाँ मेरो माहोल एकदम राम्रो बन्दै गएको छ।’

उनले आफ्नो माहोल राम्रो बनेको दाबी गरिरहेको सर्लाही ४ यतिबेला कांग्रेस सभापति गगन थापा र रास्वपाबाट उम्मेदवार बनेका डा. अमरेश सिंहको उम्मेदवारीले चर्चामा छ। 

‘काठमाडौँबाट हेर्दा उहाँहरू ‘हेभीवेट’ देखिनुहोला,’ यादवले भने, ‘तपाईँहरूले हेभिवेट देख्ने गगन र अमरेशबाट मलाई यहाँ कुनै प्रवाह छैन। सर्लाही ४ भनेको नेकपाको आधार क्षेत्र हो। यसपटक यहाँ हाम्रो जितलाई कसैले रोक्न सक्दैन।’

दोस्रो संविधान सभाको निर्वाचनपछि यसपटक नै सर्लाही ४ बाट नेकपा (तत्कालीन माओवादीले) उम्मेदवारी दिएको हो। दोस्रो संविधानसभापछिका सबैजसो निर्वाचनमा यो क्षेत्रमा माओवादीले गठबन्धनका अन्य उम्मेदवारलाई छाड्दै आएको थियो

डा. रजनिसकी आमा अनितादेवी ०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट गोडैता नगरपालिकाबाट मेयरको उम्मेदवार थिइन्। 

त्यतिबेला उनी थोरै मतान्तले लोसपाका देवेन्द्र यादवसँग पराजित बनिन्। पछि ०७९ को निर्वाचनमा अनिताले सर्लाही ४ (क) बाट गठबन्धनका उम्मेदवारविरुद्ध प्रदेशसभामा अनिताले स्वतन्त्र उम्मेदवारी दिइन्।

स्वतन्त्रबाट उम्मेदवार बन्दा पनि उनले ७ हजार ६७६ मत ल्याएकी थिइन्। त्यहाँबाट माओवादीकै फकिरा महतो कांग्रेससहितको गठबन्धनबाट उम्मेदवार थिए। अनिताको भन्दा ३५७ मत बढी ल्याएर महतो प्रदेश सभामा निर्वाचित भए। 

‘अहिले यो क्षेत्रमा फकिरा दाइ पनि मलाई जिताउन लागि पर्नुभएको छ। यहाँ हाम्रो सांगठानिक आधार पनि बलियो छ। माओवादी केन्द्रबाट विजयी भएका सबै जनप्रतिनिधिको साथ मलाई छ,’ गगन र अमरेशको उम्मेदवारीले ओझेलमा परेका रजनिस सर्लाही ४ बाट आफैँ विजयी हुनेमा ढुक्क सुनिए।  

डा.रजनिसले बंगलादेशबाटै २०२१ मा एमबीबीएस गरेका हुन्।

‘एमबीबीएस गरेर नेपाल फर्किएपछि मैले केही वर्ष ललितपुरको सुमेरु अस्पतालमा काम गरेँ,’ यादवले भने, ‘निर्वाचित भएँ भने जनपक्षीय स्वास्थ्य नीति निर्माणमा पहल गर्ने सोचसहित म यहाँ उम्मेदवार बनेको छु।’

निर्वाचनमा आफूलाई विजयी बनाउन आग्रह गर्दै गाउँगाउँमा घुमिरहँदा उनले आफ्नो पहिलो प्राथमिकता सर्लाही ४ मा क्षेत्रीय स्तरको सरकारी अस्पताल स्थापनाको लागि पहल गर्नु रहेको बताउने गरेका छन्। 

‘यहाँ मेरो प्राथमिकता क्षेत्रीयस्तरको सरकारी अस्पतालको पहल गर्नु हो,’ उनले भने, ‘त्योसँगै यहाँ किसानलाई समयमै मल- बिउबिजन उपलब्ध गराउने, न्यूनतम व्याजदरमा किसानले कृषि ऋण लिन पाउने व्यवस्था व्यस्था गर्ने र बागमतीको डुबान र कटान नियन्त्रणको पहल गर्ने पनि मेरा चुनावी प्रतिवद्धता छन्।’

कांग्रेस सभापति थपा र पुराना कांग्रेस नेतामसेत रहेका रास्वापका अमरेश सिंहबीचको प्रतिस्पर्धाले अहिले सर्लाही ४ चर्चामा छ। हेभिवेट उम्मेदवारको कारण डा. रजनिस यहाँ ओझेल परेजस्ता देखिन्छन्।

०४७ को स्थानीय तह निर्वाचनमा भने तत्कालीन माओवादीले यहाँ दुईवटा स्थानीय तह जितेको थियो। 

तर, २१ फागुनको निर्वाचनको लागि उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिन नेकपाका प्रभावशाली नेता शिवपुजन राय नै एमाले प्रवेश गरेकाले यहाँ एमाले पनि बलियो दाबेदारको रुपमा अहिले खडा भएको छ। शिवपुजनकै छोरा अमनिसकुमार यादव यहाँबाट उम्मेदवार छन्। 

सर्लाही ४ मा २०४८ सालदेखि अहिलेसम्म कांग्रेसबाहेकका उम्मेदवारले दुई पटक मात्रै चुनाव जितेको इतिहास छ। 

यो क्षेत्रबाट २०४८, २०५१ र २०५६ सालमा कांग्रेसका तत्कालीन नेता तथा हाल जसपाका संरक्षक महन्थ ठाकुर निर्वाचित भएका थिए भने २०६४ सालको चुनावमा मधेसी जनअधिकार फोरमका शिवपुजन यादवले बाजी मारेका थिए। उनै शिवपुजन पछि माओवादीमा प्रवेश गरेका थिए। 

सर्लाही ४ मा २०७० देखि २०७९ सालसम्म अमरेश सिंहको दबदबा रह्यो। २०७० र २०७४ सालमा कांग्रेसकै उम्मेदवारका रुपमा बाजी मारेका सिंहले २०७९ सालमा स्वतन्त्र उम्मेदवारी दिँदा पनि अपराजित यात्रा कायमै राखे। 

माओवादी केन्द्रसहित पाँचदलिय गठबन्धनको बलमा कांग्रेसले २०७९ सालमा नागेन्द्र कुमारलाई टिकट दिएपछि सिंहले विद्रोह गरी स्वतन्त्र उम्मेदवार बन्दा २० हजार १७ मत ल्याएर ह्याट्रिक गरेका थिए। 

सर्लाही ४ बाट गत निर्वाचनमा समानुपातिकतर्फ सबैभन्दा बढी मत कांग्रेसले पाएको थियो। यहाँबाट कांग्रेसले १६ हजार २९ मत पाउँदा जनमतले १२ हजार ५ सय ९५, एमालेले ९ हजार ७ सय ९०, तत्कालीन माओवादी केन्द्रको ९ हजार ४ सय ७१, बहुजन एकता पार्टीको ५ हजार ४ सय ४४, जसपाको ५ हजार १ सय ५२, लोसपाको ३ हजा ६ सय ७३, तत्कालीन एकीकृत समाजवादीको १ हजार ६ सय ७९, रास्वपाको १ हजार १ सय ९९ र राप्रपाको ७ सय ५३ मत पाएका थिए। 

सर्लाही ४ मा ७ पालिका र ५१ वटा वडामध्ये कांग्रेसले २ पालिका र १९ वडा जितेको छ। उक्त क्षेत्रमा बरहथवा नगरपालिकाका १, २, ३, ४, १३, १४ र १५ नम्बर वडा पर्छन् भने बसबरिया गाउँपालिकाका १, २ र ३ वडा पर्छन्। धनकौल र रामनगर गाउँपालिकाका सबै यसै क्षेत्रमा पर्छन् भने बलरा र गोडैता नगरपालिकाका पनि सर्लाही ४ मै अवस्थित छ। 

विष्णु गाउँपालिकाका वडा नम्बर १, २, ३ र ४ गरी ४ वटा वडा सोही क्षेत्रमा पर्छन्। २०७९ सालको स्थानीय निर्वाचनमा बरहथवा नगरपालिकाको मेयरमा एमालेले जित्दा निकटतम प्रतिद्वन्द्वी तत्कालीन माओवादी केन्द्रका उम्मेदवार थिए। बरहथवाका ७ वटा वडामध्ये ३ नम्बर वडा मात्रै कांग्रेसले जितेको थियो। बसबरिया गाउँपालिकाका अध्यक्षमा जसपा निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेस थियो। बसबरियाका तीन वडामध्ये कांग्रेसले २ वटा वडाध्यक्ष जितेको थियो।

धनकौल गाउँपालिकाको अध्यक्षमा कांग्रेस निर्वाचित हुँदा निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्र थियो। धनकौलका सातमध्ये १, २, ४ र ७ गरी कांग्रेसले ४ वटा वडाध्यक्ष जितेको थियो। यस्तै रामनगर गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र विजयी हुँदा कांग्रेस उपविजेता भएको थियो।

उक्त पालिकाका ७ मध्ये ६ र ७ गरी २ वटा मात्रै वडा कांग्रेसले जितेको थियो। बलरा नगरपालिकाको मेयरमा माओवादी केन्द्रले बाजी मार्दा तत्कालीन लोसपाले दोस्रो स्थान लिएको थियो। नगरपालिकाका ११ मध्ये ६ वटा वडा कांग्रेसले जितेको थियो। 

गोडैता नगरपालिकाको मेयरमा लोसपा निर्वाचित हुँदा कांग्रेस दोस्रो स्थानमा सीमित रह्यो। गोडैताका १२ मध्ये ६ र ९ गरी २ वटा मात्रै कांग्रेसले जितेको थियो। यस्तै विष्णु गाउँपालिकाका अध्यक्ष कांग्रेसले जित्दा जसपा उपविजेता बन्यो। उक्त पालिकाका ४ वडामध्ये कांग्रेसले २ वटा जितेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad