लिपुलेक क्षेत्रमा नेपालको भूमि मिचेर भारतले सडक बनाएका विषयमा कोरोना महामारीको बहानामा सरकार पर्खिने पक्षमा नरहेको, भारतसँग तत्काल वार्ता गर्न चाहेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताएका छन्।
सोमबार बिहान आयोजित प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय विदेश मन्त्रालयका प्रवक्ताले यस विषयमा कोरोना महामारीको अन्त्यपछि मात्रै वार्ता गर्न आग्रह गरेको जानकारी गराउँदै आफूहरू त्यसरी पर्खन नसक्ने बताएका हुन्।
‘अहिले हामीसँग दुई देशबीच वार्ताका लागि सचिवस्तरको संयन्त्र छ, यसैबाट समस्या समाधा भयो भने ठीकै छ,’ बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘यदि यसबाट पनि भएन भने परराष्ट्रमन्त्रीस्तरको गरौं, त्योबाट भएन भने उच्च राजनीतिक तहको वार्ता गर्न पनि हामी तयार छौं।’
बैठकमा भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालले नेपालको नयाँ नक्सा तयार भइसकेको तर दुई देशबीच वार्ता हुने भनिएको भएर केही समय पर्खेको बताइन्। दुई देशबीच वार्ता भएर सीमाका विषयमा सहमति भइसकेपछि आफूहरू नक्सा जारी गर्न तयार रहेको उनले बताइन्।
प्रतिक्रिया